फेदीखोलाका पराजुली धानखेत मासेर किवी खेती गर्दै

नारायण विश्वकर्मा/स्याङ्जा :
वहुउपयोगी मानिने किवीको व्यावसायिक खेती स्याङ्जामा शुरु भएको छ । किवीको बजार राम्रो भए पछि यहाँका कृषक किवी खेती तर्फ आकर्षित भएका छन । जिल्लाको फेदीखोला गाउँपालिका १ कटुसस्वाराका कृषक शिव पराजुली (सुखानी) ले पाँच वर्ष अघिदेखि सुरु गरेको व्यवसायिक किवी खेतीबाट अहिले राम्रो आम्दानी गरिरहनु भएको छ । उहाँले गाउँमै चार रोपनी जग्गामा किवी खेती गरेर राम्रो आम्दानी गर्न सफल हुनु भएको हो ।
‘पाँच वर्ष पहिले सधैं धान रोप्ने खेतमा किवीका विरुवा लगाएको थिए ।’ पराजुलीले भन्नुभयो, ‘अहिले एकै सिजनमा करिब एक लाख रुपैयाँ बराबरको किवी विक्रि भयो ।’ आम्दानी राम्रो भएपछि उहाँले अझ चार रोपनी जग्गामा किवी खेती विस्तार गर्ने बताउनु भयो । ‘उत्पादित किवी विक्रि वितरणका लागि बजारको कुनै समस्या छैन ।’ पराजुलीले भने, गाउँबाट नजिक भएकाले पोखरामा र स्थानीय बजारमा पनि बेच्ने गरेको छु ।’ अहिले प्रति केजी किवी तीन सय ५० रुपियाँ देखि देखि चार सय रुपियाँ सम्ममा विक्री हुने गरेको उहाँले बताउनु भयो । वेसिजनमा भने एक हजार देखि १४ सय रुपैयाँ सम्म प्रतिकिलो विक्रि हुने पराजुलीको भनाई छ । किवी खेतीका लागि पराजुलीलाई वरिष्ठ वागवानी विज्ञ डाक्टर चन्द्रमान श्रेष्ठले प्राविधिक सहयोग गर्नु भएको छ । शुरुमा शिक्षण पेसा अगालेका उहाँले पछि शिक्षण पेसा छोडेर पत्रकारिता अनि राजनिति संगै व्यावसायिक कृषि पेसामा आवद्ध भएका हुन । पराजुलीले तीन हजार भन्दा वढि व्रोईलर कुखुरा पालेर पनि वार्षिक रुपमा राम्रो आम्दानी गर्नु भएको छ । ‘विज्ञानको विद्यार्थी भएकाले उच्चतम प्रविधिको उपयोग गरी गरेर खान पर्छ भन्ने सोँच मेरो सानै देखि थियो ।’ उहाँले भन्नुभयो, ‘आधुनिक तरिकाको उपयोग गरी कृषि व्यावसायमा लाग्छु भन्ने संकल्पले अहिले कृषि व्यावसाय गरिरहेको छु । कृषक पराजुलीका अनुसार किवी वैसाखमा फुल खेल्ने र कार्तिकबाट पाक्न सुरु गर्छ ।
किवी फलमा प्रोटिन, चिल्लो, कार्वोहाइड्रेट, क्याल्सियम, फलाम, फस्फोरस, पोटासियम, भिटामिन ए, भिटामिन सी लगायतका तत्वहरु पाइने भएकोले बहुउपयोगी तागतिलो फलको रुपमा लिइन्छ । यो ठूलो झाङ हुने लहरा प्रजातिको काठयुक्त काण्ड सहितको पतझड बिरुवा हो । किवीलाई नेपालको पहाडी जंगलमा पाइने ठेकी फल भनेर पनि भन्ने गरिन्छ ।

स्वादिलो र औषधीय गुणका कारण किवीको माग र मूल्य उच्च रहेको छ । नेपाली बजारमा प्रतिकिलो पाँच सय भन्दा बढी पर्दछ । देशभर विस्तार हुनेक्रममा रहेको किवी स्याङ्जा सहित पर्वत, कास्की, पाल्पा, तनहुँ गुल्मी लगायका जिल्लामा पनि व्यवसायिक खेती शुरु भएको छ । किवीले रोपेको तीन देखि सात वर्ष भित्र देखि फल दिन सुरु गर्दछ भने मलजलको राम्रो प्रवन्ध गरे लगातार ४० वर्ष सम्म फल्दछ ।
पराजुलीका अनुसार ओसीलो जमिनमा किवी खेती राम्रो हुन्छ भने यसलाई एक, एक मिटरको फरकमा गोलों र गहिरो खाडल खनेर रोपिन्छ । किवीलाई साउन र फागुन महिनामा कांटछाँट गर्नु पर्ने र यसलाइ मलजल गर्न सके प्रतिवोट २० देखि ५० केजी सम्म फल लाग्ने उहाँको भनाई छ ।

Facebook Comments Box
TOP