राजन बेपत्ता प्रकरण-दुई जना साथी पूर्पक्षका लागि जेल/सुधारगृह चलान,प्रहरी प्रतिबेदनमा के छ?

rajan paudel_edit_pic

स्याङजा :
वालिङका किसोर राजन पौडेललाई बेपत्ता पारेको आरोप लागेका उनका दुई जना साथीहरुलाई अदालतले पूर्पक्षका लागि जेल चलान गरेको छ । साेमवार सकिएको थुनछेक बहस पछि उनका दुई जना साथीहरु मध्ये उमेर पुगेका एक जनालाई जिल्ला कारागार र उमेर नपुगेका अर्का साथीलाई सुधार गृह पठाउने आदेश भएको जिल्ला अदालत स्याङ्जाका श्रेस्तेदार बिश्वप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
नेपालको कानुन अनुशार १८ बर्ष पुरा नभएकालाई नाबालक भनिने भन्दै जिल्ला न्यायाधिश रमानाथ पौडेलको ईजलासले एक जनालाई कास्कीको सराङकोट स्थित सुधार गृहमा र १८ बर्ष पुरा भएका अर्का आरोपितलाई थुनामा राख्ने आदेश भएको श्रेस्तेदार रेग्मीले बताउनु भयो ।
प्रहरीले सरकारी वकिल समक्ष पेश गरेको अनुसन्धान प्रतिवेदनमा उनका दुई जना साथीहरुले नै बेपत्ता पारेको दावी गरिएको छ । उनीहरुले नै राजन पौडेललाई बेपत्ता बनाएको तथा प्रमाणहरु लुकाएको तथा घटना लुकाउन बिभिन्न षडयन्त्र गरेको उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख एस्पी होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

के थियो घटना :
आफ्नै साथीसँग खेल्न गएका राजन पौडेल एक महिना देखि बेपत्ता छन् । श्रावण २६ मा आफ्ना दुई जना साथीहरुसँगै पोडी खेल्न गएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटना लगत्तै उनका दुई जना साथीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको थियो ।
राजनले लगाएको कपडा र मोवाईल भीरकोट नगरपालिकाको ओडारे स्थित आँधीखोलाको किनारमा फेला परेको थियो । कपडा भेटिएको ठाँउबाट मोवाईल भेटिएको दुरी केही टाढा रहेको प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
बेपत्ता राजनका साथीहरुले नै घटना भएको तीन दिन पछि आँधीखोलामा पौडी खेल्ने क्रममा राजन डुवेको बताएपछि अनुसन्धान त्यतै तिर मोडिएको थियो । लामो सम्म पनि राजनको अवस्था पत्ता लगाउन नसकको भन्दै प्रहरी बिरुद्ध वालिङका नागरिकले आन्दोलन समेत गरेका थिए । शुरुको चरणमा उनका साथीहरुले नै सही सूचना नदिएकाले समस्या उत्पन्न भएको प्रहरीले बताउदै आएको छ ।

आँधीखोलामा खोजीकार्य :
राजन आँधीखोलामा बेपत्ता भएको उनका साथीहरुले बताएपछि आँधीखोलामा नै खोजी तिब्र पारिएको थियो । बाहिरबाट ल्याईएका गोताखरको टोलीले आँधीखोलामा खोजी गरेको थियो भने वालिङका युवाहरुको समुहबाट पनि पटक पटक खोजी गरिएको छ । बर्षाको समयमा आँधीखोलामा राजन बेपत्ता भएकाले उनको खोजीमा समस्या भएको प्रहरीको भनाई छ ।
यता राजनको परिवार उनी जिवितै आउनेमा ठुलो शंका गरिरहेको छ । परिवारले दोसी माथि कडा भन्दा कडा कारवाही गर्न माग गरिरहेको छ, उनकी आमाले आफ्नो छोराको नियोजित हत्या नै भएकोे आरोप लगाउनु भएको छ ।

Facebook Comments Box
TOP