‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म हो भन्ने उदाहरण बन्नुभएको छ— अर्जुनप्रसाद खनाल। वालिङ नगरपालिका वडा नं. १० का स्थायी बासिन्दा खनाल हालै नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. २ को क्षेत्रीय सभापति पदमा निर्वाचित हुनुभएको छ।
आफ्नै ग्रिल व्यवसाय सञ्चालन गर्दै उद्योग र व्यापारको क्षेत्रबाट अघि बढ्नुभएका खनालले वालिङ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षका रूपमा कुशल व्यावसायिक नेतृत्व प्रदान गरिसक्नुभएको छ। व्यावसायिक व्यस्तताका बीच पनि उहाँको ध्यान सधैँ सामाजिक सेवामै केन्द्रित रह्यो। लायन्स क्लबलगायत विभिन्न सामाजिक संघसंस्थामा सक्रिय खनालको मुख्य पहिचान भने गल्याङ नगरपालिका–१ स्थित शिवपार्वती वृद्धाश्रमसँग जोडिएको छ।
पूर्व वडा अध्यक्ष अनन्तराज गैह्रे र हाल वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी गैह्रेसँग मिलेर स्थापना गरिएको उक्त शिवपार्वती वृद्धाश्रममा खनाल स्थापनाकालदेखि नै विभिन्न जिम्मेवारी सम्हाल्दै हाल अध्यक्षको भूमिकामा हुनुहुन्छ। जेष्ठ नागरिकहरूलाई जीवनको उत्तरार्धमा सहारा दिने, उहाँहरूका लागि सहज, सुरक्षित र सम्मानित जीवन जिउने आधार तयार पार्ने काममा खनाल अहोरात्र खटिनुभएको छ। यस्तै समाजसेवा नै उहाँको राजनीतिक सफलताको दरिलो जग बन्यो।
पार्टी संगठनभित्र निरन्तर क्रियाशील खनाल नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा स्याङ्जा क्षेत्र नं. २ (क) बाट प्रदेश सभापति निर्वाचित हुनुभएको थियो। सो पदमा रहेर संगठनलाई चुस्त र एकताबद्ध बनाउनुभएका खनाललाई क्षेत्रीय प्रतिनिधिहरूले यसपटक स्याङ्जा क्षेत्र नं. २ को क्षेत्रीय सभापतिको अहम् जिम्मेवारी सुम्पेका छन्।
‘अब कुनै पक्ष–विपक्ष छैन, हामी एउटै परिवार हौँ’
क्षेत्रीय सभापतिमा निर्वाचित भएपछि खनालले सामाजिक सञ्जालमार्फत व्यक्त गर्नुभएको सन्देशले यतिबेला स्याङ्जाली कांग्रेस वृत्तमा निकै सकारात्मक चर्चा पाएको छ।
उहाँले लेख्नुभएको छ:
“तपाईंहरूले दिनुभएको अमूल्य मत मेरो लागि केवल विजयको आधार होइन, ठूलो विश्वास, जिम्मेवारी र जवाफदेहिताको दस्तावेज हो। यो विश्वासलाई कहिल्यै कमजोर हुन दिनेछैन। अबको मेरो यात्रा व्यक्तिगत विजयको होइन, सिंगो नेपाली कांग्रेसको विजयको यात्रा हुनेछ।”
आफूलाई मत दिने मात्र नभई फरक विचार राख्नेहरूप्रति पनि उत्तिकै सम्मान प्रकट गर्दै खनालले गुटबन्दीभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ। निर्वाचनको लोकतान्त्रिक अभ्यास सकिइसकेकाले अब सबैलाई समेटेर अघि बढ्ने उहाँको अठोट छ:
“निर्वाचन सकिएको छ, अब कुनै पक्ष–विपक्ष छैन; हामी सबै एउटै परिवार हौँ, एउटै उद्देश्यका सहयात्री हौँ। मलाई मत नदिएर फरक विचार वा पक्षमा रहनुभएका सम्पूर्ण साथीहरूप्रति पनि उत्तिकै सम्मान व्यक्त गर्दछु।”
आफ्ना अग्रज, युवा, महिला, वडा, पालिका तथा टोल तहका सम्पूर्ण कार्यकर्ता र शुभचिन्तकहरूलाई धन्यवाद दिँदै खनालले निर्वाचनका क्रममा भएका कुनै पनि कमी-कमजोरीलाई आत्मसात् गरी आगामी दिनमा अझ परिपक्व, जिम्मेवार र एकताबद्ध ढंगले अघि बढ्ने प्रण गर्नुभएको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क…


