कमाई ४० लाख, खर्च २ करोड, भ्रष्ट नेता कि हामी ?

सागर कुँवर :
स्थानीय चुनावमा बालेन र हर्कले झै चुनाव जित्नु र संघीय चुनाव जित्नु फरक कुरा हो ।
मेयर भनेको प्रत्यक्ष कार्यकारी पद हो तर प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार विजेताको काम केवल संसदमा केही मिनेट बोल्ने मात्र हुन्छ, कुनैपनि विधेयक टेबल गरि पास गर्नुमा उसको कुनै भुमिका हुंदैन किनभने संसद भनेको मत र बहुमतकोको संख्यामा आधारित हुन्छ, अल्मतको गहन भुमिका हुंदैन । त्यसैले मेयर र वडा अध्यक्ष भनेको रचनात्मक काम गरि देखाउने अवसर, अधिकार र शक्ति हो तर सांसद भनेको मुख्य रुपमा नीति निर्माणकर्ता को भुमिका हो, यो कुरा राजनितिमा लागेका सबै नेता, कार्यकर्ता र जनताले बुझनु पर्ने सबै भन्दा पहिलो कुरा हो ।
निर्वाचन आयोगले तोकेको उम्मेदवारको चुनावी खर्चको हद प्रतिनिधि सभा सांसद को लागि निर्वाचन क्षेत्र हेरेर रु २५ देखि ३३ लाख सम्म र प्रदेश सभा सांसदको लागि १५ लाखको हद तोकेको छ ।
उदाहरणका लगि निर्वाचन आयोगले विभिन्न १० वटा खर्चका शिर्षकमा चुनावि र्यालिमा अधिकतम ४ वटा गाडि र ४ वटा मोटरसाइकल तोकेको छ तर कुनै उम्मेदवारले ४ वटा मोटरसाइकल लिएर हिंडयो भनी हांसो मजाकको पात्र हुन्छ । यसका मान्छे रहेनछन, यिनि हार्नि भए भनेर उडाईन्छ ।
तर वास्तवमा भने १५,२० लाख खर्च त वडा अध्यक्ष लड्दा नै हुन्छ भन्छन । प्रदेश सांसदको रु ५० लाख देखि १ करोड सम्म र प्रतिनिधिसभा सांसदको त १ करोड देखि ६,७ करोड सम्म भएको कुरा सुनिन्छ ।
एउटा सांसदको तलब औसत रु ७० हजार हुन्छ जुन ५ बर्षमा करिब ४२ लाख रुपैयाँ हुन्छ । ४२ लाख तलबको कमाईका लागि रु ६ करोड सम्म खर्च गर्नु पर्ने बाध्यतालाई के भन्नू हुन्छ ?


नेपालका नेतालाई खर्च गर्न सिकाउने जनता र कार्यकर्ता नै हुन । नेतासँग त माग्ने नै हो भन्ने हाम्रो नै मानसिकता छ । वास्तवामा प्रतिनिधि सभाको सांसदले नीति नियम, कानुन निर्माण गर्ने हो । देश र जनताका समस्या राम्रोसँग बुझेर, प्राबिधिक कठिनाइहरु लाई निर्क्योल गर्ने हो र विधेयक निर्माण गरि सांसदमा पारित गर्न पेश गर्ने हो ।
मेरो छोरो जेल पर्यो, मेरो छोरीको यो कलेजमा नाम निकाली दिन पर्यो, मेरो छोरो लाई छात्रवृत्ति, मेरो जग्गाको काम सहज गर्नु पर्यो भन्ने एक थरि हुन्छन ।
फेरि अर्का थरिले भन्छन चुनावमा हाम्रा ५० वटा मोटरसाइकलमा १०० जना युवा लिएर हजुरलाई जिताको यो ठेक्का त हामिले पाउन पर्छ फेरि अर्को चुनाव जित्न पर्दैन?
माथि भनिएका काम पूरा भएनन भने यिनको कार्यकर्ता संरक्षण नै छैन, अब फेरि चुनाव जित्दैनन भनेर हामी नै भन्छौं । चुनाबको बेला पार्टीले तोकेको खाना खाने होटल भन्दा आफ्नो घर नजिक हुन्छ तर पनि कार्यकर्ता होटल मै गएर खान्छन । मसंग त्यो घरको ५ भोट छ, त्यो टोलको २० भोट छ भन्दै प्रति भोट २ हजार देखि ५ हजारका दरले नेतासंग पैसा माग्ने अर्का थरिका दलाल कार्यकर्ता पनि हुन्छन । महिलाहरुको त्यस्तै खालको माग हुन्छ । युवाहरुलाई भलिबल कोर्ट चाहिएको छ चाहे सरकारी बजेट होस या उम्मेदवारको निजि खर्च बाट होस । हरेक गाउँ र टोललाई आफ्नै मन्दिर र गुम्बा चाहिएको छ । तोकिएका सांसद विकास कोषको रकम पनि खासै प्रयाप्त हुंदैनन । कुनै वडामा टाठाबाठा छन भने ५,१० वटा बजेट र परियोजना परि रहेका हुन्छन भने कुनै वडामा आफ्नो वडाको बजेट बाहेक पुरै ५ बर्षमा एउटा पनि बजेट पर्दैन ।
पार्टी भित्र पावर पोलिटिक्स हावि हुने बाध्यता नेतृत्वलाई यसै परेको होईन, म खर्च गर्दिन भनेर बस्यो भनी आफ्नै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धी उम्मेदवारले पैसाको खोलो बगाई दिन्छ अनि चुनाव हारिन्छ कि भनेर आफु पनि त्यहि बाटो लाग्न परेन ?
भोलि गएर हजुरका छोरा नाति लै बिना पैसाको राजनीति गर्न त आज को खर्चालु राजनीतिमा हजुरको सहभागीता हुन भएन ।
भोलि हजुरकि छोरी बुहारीले राजनिति गर्नको लागि त आजको खर्चालु चुनावलाई हजुरले निरुत्साहित गर्नु पर्यो, निष्क्रिय पार्नु पर्यो। पार्टीको माया आफ्नो ठाउँमा छ तर खराब आचरणको लोभि पापि नेता कार्यकर्ताको विरोध गर्न सक्नु पर्यो ।
छोरा छोरीलाई राजनीति भनेको कमाउने क्षेत्र होइन, आफ्नै पनि गुमाउने क्षेत्र हो भनेर राम्रो संग बुझाउन पर्यो र त्यस पछि पनि त्याग र तपस्या गर्न तयार छन भने मात्रै बल्ल लाग्न दिनुपर्यो ।
आउंदै गरेका युवा पुस्तालाई यसरी पहिले नै छर्लङ्ग पारियो भने मात्रै निष्ठा को राजनीति विकास हुँदै जानेछ र राजनीति भनेको पैसावालाको मात्र नभै ईमान्दार र क्षमतावानको हरुको पनि हुँदै जानेछ ।

(लेखक कुँवर नेपाली काँग्रेस वालिङ नगर कार्य समितिका सचीव हुनुहुन्छ ।)

Facebook Comments Box
TOP