जिल्ला अस्पताल स्याङ्जामा बालरोग विशेषज्ञ सेवा

स्याङ्जा:

पुतलीबजार नगरपालिका ३ कुमालगाउँस्थित जिल्ला अस्पतालमा बालरोग विशेषज्ञ सेवा शुरु भएको छ । पाँच बर्षअघि बालरोग विशेषज्ञ डा. अमृत पोखरेलको सरुवा भएसंगै रोकिएको सेवा पुनः सुचारु भएको हो ।
ठुला अस्पतालबाट पाउने सेवा जिल्ला अस्पतालले दिने गरेपनि बालरोग विशेषज्ञको अभाबमा सेवा रोकिएको मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मिना अधिकारीले बताइन् ।
अस्पतालबाट बालरोग सेवा शुभारम्भ भएसंगै बालबालिका बिरामी भएर पोखरा लगायतका विभिन्न ठाउँमा जानुपर्ने बाध्यता हटेको छ । अस्पतालमा बालबालिकाहरुको चाप बढी हुने गरेको बताउदै डा. अधिकारीले बालरोग विशेषज्ञ सेवाले थप सहज भएको बताए ।
जिल्लाकै कन्सल्टेन्ट पेडियाट्रिसियन डा. विनोद गैरेलाई अस्पतालले आफ्नै स्रोतमा बाल रोग विशेषज्ञका नियुक्त गरेर सेवा सुरु गरेको हो ।
बालरोग बिशेषज्ञ सेवा सुरु भएसंगै अब २८ दिन सम्मका बच्चालाई एनआईसीयु, १४ बर्ष सम्मका बालबालिकाले पीआइएसीयु तथा वार्ड, ओपीडी सेवा पाउने डा. गैरेले बताए । बिद्यार्थीलाई बिद्यालय जान सहज होस भनेर बिहान ७ बजेबाट सेवा दिने तयारी छ ।
श्रोत साधन तथा दक्ष जनशक्तीको अभाबमा बिरामी नपुग्ने जिल्ला अस्पताल स्याङ्जा पछिल्लो क्रममा काचुली फेर्दै गएको छ । यहाँ २÷४ जना मात्र बिरामी पुग्ने गरेकोमा अहिले हरेक दिन ८० देखि दुई सय सम्म बिरामी अस्पताल पुग्ने गरेका छन् ।
यहाँ अहिले स्त्रीरोग बिशेषज्ञ सेवा, ल्याब, दन्तरोग बिशेषज्ञ सेवा, माइनर अपरेसन लगायतका सेवा पाउने गरिन्छ । यहाँ सोडियम पोटासियम टेस्ट, मृगौला उपचार सेवा, कलेजोको ब्याक्टोरिया कल्चर सेवा, मुटुको हर्ट एटेक्ट जाचँ, डिजिटल एक्सरे, भिडियो एक्सरे, इसिजी सेवा चौबिसै घण्टा पाइने गर्दछ ।
यहाँ एचआईभि सिडिफोर जाचँ सेवा, गर्भवती आमाबाट बच्चामा एचआईभी सर्न नदिने उपचार सेवा (पिएमटिसिटी) सेवा प्रदान हुने गरेको छ । २०५७ सालबाट स्थापना भएको १५ बेट सरकारी र १० बेड अस्पताल ब्यवस्थापन समितिको खर्चमा चलिरहेको छ ।

Facebook Comments Box
TOP