प्लास्टिकको झोला मुक्त गर्न एक हप्ते झोला सिलाई तालिम
भीरकोट :
सरकारले २०७८ सालबाटै प्लास्टिकमुक्त अभियान सुरु गरको भएतापनि हालसम्म कार्यान्वयन प्रभावकारी देखिएको छैन । यसै क्रममा स्याङ्जाको भीरकोट नगरपालिकालाई प्लास्टिकमुक्त बनाउन करिब १३ हजार सपिङ ब्याग निशुल्क बाडिने भएको छ । मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत सुरु भएको सूचना प्रविधिमैत्री विद्यालय एवं प्लास्टिकमुक्त नगरपालिका कार्यक्रम मार्फत करिब १३ हजार सपिङ ब्याग निशुल्क बाड्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले जानकारी दिए ।
नगरपालिकाले व्यापारिक प्रतिष्ठानमा सुती, जुट वा कागजका झोला प्रयोग गर्न भनेको छ भने ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलामा पूर्ण रुपमा प्रतिवन्ध लगाउने भएको छ । प्लास्टिकमुक्त नगरपालिका कार्यक्रम अन्तर्गत भीरकोट नगरपालिकामा रहेका करिब ६ हजार घरधुरीलाई कम्तिमा २ वटाका दरले नगरपालिकाको लोगो सहितको सपिङ ब्याग वितरण गरिनेछ । पहिलो चरणमा जनचेतना जगाउने र भीरकोटबासी नागरिकको प्लास्टिक झोलाको प्रयोग गर्ने बानी हटाउन सपिङ ब्याग निशुल्क बाडिने भएको हो । कार्यक्रमको दिगोपनालाई मध्यनजर गर्दै २० जना महिलालाई १ हप्ते झोला सिलाउने तालिम दिइएको छ । दोस्रो चरणमा पालिकाले उत्पादन गरेका सपिङ ब्याग पालिकाभित्रका पसलहरुमा बिक्रीवितरण समेत गरिनेछ ।
भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले यस वर्ष प्लास्टिकमुक्त बनाउने अभियान पूर्ण रुपमा कार्यान्वयन हुने बताए । तर यहाँका व्यापारीहरुले ग्राहकले सामान बोक्ने झोला लिएर नआउँदा प्लाष्टिक दिनैपर्ने बाध्यता रहेको बताएका छन् । मानव स्वास्थ्य, वातावरण र सहरी सौन्दर्यमा पर्ने नकारात्मक प्रभावलाई अन्त्य गर्न प्रतिबन्धको नीति लिइएको स्थानीय सरकारको भनाइ छ । प्लास्टिकको प्रयोगबाट वातावरणमा पर्ने असर, फोहोरमैलाको वर्गीकरण लगायतका विषयमा जनचेतना जगाउन र झोला वितरणमा करिब ३१ लाख रुपैयाँ खर्च हुने पालिकाले जनाएको छ । प्लास्टिकमुक्त बनाउन प्लास्टिकजन्य सामागी प्रशोधन गरी टायल र प्लास्टिक प्लेट बनाउने कार्यक्रम रहेको योजना तथा कार्यक्रम अधिकृत यामप्रसाद रेग्मीले जानकारी दिए । अटेरगरी प्लास्टिक झोला प्रयोग गरेको पाइए ५० हजार रुपैयाँसम्म जरिवाना गर्नसक्ने अधिकार स्थानीय प्रशासनलाई छ । सरकारले २०७२ बैशाख १ बाट २० इन्च चौडाइ, ३५ इन्च लम्बाइ र ४० माइक्रोन मोटाइसम्मका प्लास्टिक झोला आयात, भण्डारण, बिक्री वितरण र प्रयोगमा रोक लगाएको थियो । तर अझैपनि यस्ता प्लाष्टिकका झोला बजारमा छ्यापछ्याप्ती पाईन्छन् ।
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…