तातो हावाको लहर अझै बढ्ने, अत्यधिक गर्मीको सम्भावना: मौसम विज्ञान विभाग ।

काठमाण्डौ:
विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ । लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम वैशाख २० गतेसम्म जारी रहने मौसमविद्ले बताएका छन् ।

आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेको विभागले बुलेटिनमार्फत चेतावनीसहितको सूचना जारी गरेको छ ।

‘तातो बढ्ने भएकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ विभागले भनेको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले तातो बढेसँगै आगलागी, हावाहुरीलगायतका समस्या झन् बढ्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने बताए । उनका अनुसार यस वर्ष सबैभन्दा बढी ४३.६ डिग्री तापक्रम मापन भएको छ । भैरहवामा वैशाख ८ गते उक्त तापक्रम रेकर्ड भएको थियो ।

सूचनामा भनिएको छ, ‘तराईका ती भू–भागमा आजदेखि यही वैशाख २० गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । साथै पहाडी भू–भागका उपत्यका तथा खोचमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना रहेकाले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहनुहुन अनुरोध छ ।’

 

Facebook Comments Box
TOP