राम जस्तो चरित्रवान्, बुद्धजस्तो ज्ञानी बनौं ।

sangita kumari gaihre


संगीता कुमारी गैह्रे :

वर्तमान समयमा मर्यादा पुरूषोत्तम रामको जन्मस्थानलाई लिएर चर्चा परिचर्चा चलिरहेको छ। हामी सबैलाइ जिज्ञासा जागेको छ कि, अहिलेसम्म भनि आएको अयोध्या श्रीरामको जन्मस्थान पनि विवाद रहित रहेनछ, उहाँको जन्मस्थानको कुनै कहिँ पनि प्रमाण नभेटिएको सन्दर्भमा नेपालको ठोरीको अयोध्यापुरीमा राम जन्मेको अध्ययन  हुनसक्छ भनेर वर्तमान नेपालका प्रधानमन्त्री के. पि. शर्मा ओलीले राय दिनुले यस विषयले चर्चा पायो र सबैमा नयाँ कुराले हलचल मच्चायो। जे होस् अनुसन्धानले भबिस्यमा तथ्य ल्याउला यसमा धैर्य गरौं।

यहाँ कोही कहाँ जन्मे भन्ने विषयको वादविबाद गरेर समय खेर फाल्नुभन्दा राम जस्तै प्रसिद्ध स्मरण योग्य कसरी बन्न सक्छौ भन्ने कुरा महत्वपूर्ण हुन्छ । विश्वप्रख्यात व्यक्तिहरु स्वत: नै विश्वका लागि मार्गदर्सक बन्न सक्छन । आफ्ना महान कार्यको कारण युगौसम्म स्मरणयोग्य, पुज्य बन्छन यसैकुरालाई ध्यान पुर्याउन बुद्धिमानी होला । श्री राम आज्ञाकारी पिता भक्त हुनुहुन्थ्यो । आफ्ना पिता दशरथको समस्या बुझेर आफुले पाइसकेको राजगद्दी आफ्ना भाइलाई सुम्पेर आफ्नो पिताको आज्ञालाई सहजै स्वीकारेर १४ वर्ष बनबास जानुभयो । के अहिलेका राज्य शासकहरुमा यस्तो त्याग, आज्ञाकारीता, महानता छ। किन छैन ? राम पनि कुनै आकासबाट फ्यात्त एक्कासी झरेका व्यक्ति त हुनुहुन्नथ्यो होला नी । उहाँपनी माताको गर्भबाट जन्मिनु भएको मनुस्य नै हो राम्रो काम गरेकोले , सबैलाई सुख दिएकाले नै उहाँलाई अहिलेका मनुश्यले भगवान भनिदिएका हुन् ।

त्यस्तै उहाँ एक जनप्रिय कुशल महाराजा हुनुहुन्थ्यो । सबै प्रजाको रायलाई सम्मान गर्नु हुन्थ्यो । प्रजामा कुनै गुनासो छ कि समस्या छ कि भनेर गुप्तचर पठाउनु हुन्थ्यो । प्रजाको मतको कदर गर्नुहुन्थ्यो । एउटा धोबीको कुराले सीतालाई राजदरबारबाट ऋषि बाल्मिकीको सरणमा पठाईदिएर धोबीको कुरा सम्मलाई बेवास्ता गर्नुभएन । के अहिले हामीमा यस्ता उदारता छन् ? उहाँको अनुसरण गर्न सकिदैन ? मर्यादा पुरुषाेत्तम सबै प्रजाहरुको प्रिय हुनुहुन्थ्यो ।

आफ्ना सबै प्रजाहरुको दिलमा बस्नु भएको थियो । मानिस, पशुपन्छी प्रकृति पनि उहाँको इछ्या अनुसार चल्थे, सहयोगी थिए । त्यसैले त भनिन्छ भारतबाट श्रीलंका जाने समुन्द्र माथि को पुलको निर्माण कार्यमा बाँदरहरुले पनि ठूलो सहयोग गरेको थिए।अहिले हामीले पशुपन्छी प्रकृतिको सहयोग लिने तागतको कल्पना पनि गरेका छैनौ बल्कि मानिसहरु विचपनि सहयोग को बदला असहयोग पाँऊछौं र गर्छौ।

खै राम को व्यवहारिकआदर्शका कुरा । श्री राम क्षमासिल र विवेकसिल हुनुहुन्थ्यो । रावणले हरेर लागेको सीतामाथि पवित्रताको प्रश्न उठाइएको थियो तर अग्नि परिक्षामा उतीर्ण भएकी सीतालाई ससम्मान विश्वासका साथ अयोध्या लैजानुभयो र रानी बनाएर राख्नुभयो के अहिले हामीमा नारीप्रति विश्वास, न्याय विवेक सम्मानको भाव छ ? राम को जस्तो व्यवहार हामीले जीवनमा उतार्न सकिदैन।

श्रीराम निर्विकारी, निर्लोभी पनि हुनुहुन्थ्यो । जब रामले रावणलाई पराजित गर्नु भयो लंकाले स्वतः उहाँको हातमा आयो तर लंकाको पनि राजा बन्ने लोभ उहाँमा आएन र त्यो जितेको राज्य रावणकै भाइ विभिसणलाई दिनुभयो । के यस्तो तागत आहिलेको शासक वर्गमा छ ? एक इन्च भूमिको लागि जनधन खर्चिरहेका छन्, हिन्दु धर्मका अनुयायी भनिने शासकमा पनि अर्काको भुमि मिच्न अहोरात्र लागि रहेका छन् ।

राम तेरो मेरो भन्नेहरुको बुद्धिमा राम को जस्तो विदेश नीति हुनुपर्छ कि पर्दैन ? त्यस्तै महात्मा बुद्ध नेपालमा जन्मिएका एसियाका तारा भनिन्छ । उनि नेपालना जन्मिएता पनि सारा बिश्वकाे सम्पत्ती हुन् । बुद्ध हाम्रो देशमा जन्मिएकोमा हामी गर्ब गर्छौ, आफ्नो बलबुताले भ्याएसम्म प्रचार गर्छौ तर उनको उपदेशलाई कत्तिको जीवनमा उतारेको छौ ? विचारणीय कुरा छ ।

बुद्ध मानबजीवन को दुखको कारण पत्ता लगाउन र समग्र मानब जातीको सुखको खोजीमा आफ्नो सुखसयलको राजदरबार, सुन्दरी पत्नी, छोरो, आमाबुबाको माया ममता त्यागेर जङ्गल जानुभयो, तपस्यामा मिहेनत गर्नुभयो र अन्त्यमा बुद्धत्व प्राप्त भयो। विश्वमा शान्तिदुत बन्न सफल हुनुभयो । उहाँ मानवनै हुनुहुन्थ्यो आफ्नो त्याग तपस्याले बुद्ध बन्नुभएको हो । बुद्ध जन्मभुमिका शासकहरुको सत्ता मोह हेरौ त कस्तो छ,बुद्धका देशका हौ भन्न पनि लाज लाग्नुपर्ने हो।

 महात्मा बुध्दको उपदेशहरुमा प्राणी मात्र को हिंसा नगर्नु भन्ने प्रमुख उपदेश हो । बुद्ध जन्मभूमि नेपालनै एक देश हो जहाँ संसारमै सबैभन्दा बढी बलि चढाइन्छ । बैशाख पुर्णिमा बुद्ध जन्मेको दिन बुद्धत्व प्राप्त गरेको दिन र महापरिनिर्वाण प्राप्त गरेको दिन चण्डी पूर्णिमाको नाममा झन् बढी पशुपन्छीको बलि चढाइन्छ कमसेकम त्यस दिन त हिंसा रोक्न, नगर्न सकिन्छ नी ! यो कार्यमा राज्यको तर्फबाट ध्यान जान जरुरी छ । बुद्ध पूर्णिमाको दिन पन्छी बलि दिइनुहुदैन , रोक्नु पर्छ । यति त गर्न सक्नु पर्यो नी बुद्ध जन्मभुमिका मानिसहरुले ।

 उहाँको अर्को महत्वपूर्ण उपदेश छ परस्त्रीमा आखा नलगाउन । आज सबैको अगाडी छर्लङ्ग छ कि यस समयमा कति नारीहरु सुरक्षित छन् ? मानिसको चरित्र पतन कसरि भैरहेको छ ? बुद्धको उपदेश अनुसार परस्त्रीमाथि कुदृष्टि नराख्ने हो भने यो समाज कति सुन्दर हुन्थ्यो होला ?

नारिजाति आहिले कहिँकतैबाट पनि सुरक्षित छैन। अहिलेको तितोसत्य छ कि बाबुबाट छोरि सुरक्षित छैन,दाजुबाट बहिनि सुरक्षित छैन, मामाबाट भान्जी सुरक्षित छैन, हजुरबुवाबाट नातिनी सुरक्षित छैन, नातीबाट हजुरआमा सुरक्षित छैन, बृद्धबाट बालिका सिसु सुरक्षित छैन। कसैसँग विश्वास गर्ने ठाउँ छैन, कहाँ गैरहेको हाम्रो चरित्र ? कहाँ छ ? कता छ ? हाम्रो नैतिकता सच्चा दिलले गहिरिएर आफुले आफ्नो कर्म इन्द्रियहरुलाई कसरि वसमा राख्न सकिन्छ भन्ने विषयमा खोजि गर्ने बेला आएको छ ।

हामी मेरो राम, मेरो बुद्ध भन्ने मा विवाद गर्नुभन्दा उहाँहरुको कार्यको अनुसरण गर्नेमा ध्यान दिऊँ उहाँहरुको जस्तै पुज्यजीवन बनाउन बाटो रोजौ, यसैमा सबैको कल्याण छ  ।

Facebook Comments Box
TOP