“समुन्नत गाउँपालिका निर्माणमा जनताको सक्रिय सहभागिता आवश्यक” : सुवेदी ।

kulraj subedi

संघीयता कार्यान्वयनमा आएसँग नेपालमा तीन तहको शासन व्यवस्था शुरु भएको छ । संघ, प्रदेश र स्थानीय गरी तीन तहको सरकार मध्ये स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार मानिन्छ । अधिकार सम्पन्न स्थानीयतह भनिए पनि कतिपय अधिकारहरु कागजमा मात्रै समिति रहेको गुनाशो सुन्न पाईन्छ ।
भर्खरै आर्थिक वर्ष २०७६/०७७ सम्पन्न भएको छ। एघार वटा स्थानीयतह रहेको स्याङ्जा जिल्लामा सबै पालिकाहरुले आथिर्क बर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट पारित गरिसकेका छन् ।
स्थानीयतहले नियमित कामका साथै याे पटक कोभिड-१९ मा पनि बिशेष ध्यान दिनुपर्ने अवस्था आयो । बजेट, स्थानीय गतिबिधि तथा कोभिड-१९ लगायतका बिषयमा केन्द्रित रही बिरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुबेदीसँग गरिएको कुराकानीको सम्पादित अंश :

आर्थिक वर्ष २०७६/०७७ मा बिरुवा गाउँपालिकाको कति प्रतिशत बजेट खर्च भयो ?  

राष्ट्रव्यापी कोरोना महामारीको बीचमा पनि बिरुवा गाउँपालिकाको बजेट खर्च सन्तोषजनक नै रहेको छ । यस आर्थिक वर्षमा कुल बजेट रकमको ७९.३९ प्रतिशत बजेट खर्च भएको छ।

भर्खरै आएको मलेप प्रतिवेदनमा बिरुवा गाउँपालिका जिल्लाका बढी बेरुजु भएका पालीकामा परेको छ । के यो सन्तोषजनक कुरा हो ?

बेरुजु बढी आउनु पक्कै पनि सन्तोषजनक कुरा होइन  । तर यो बेरुजु म आउनु भन्दा अघिल्लो आर्थिक वर्ष ०७४/०७५ को हो । काम हुँदाहुँदै पनि उपभोक्ताहरुले सही रुपमा कागजपत्रहरु उपलब्ध गराउन नसक्दा पनि बेरुजु बढी देखिएको छ । यसबाहेक केही प्रक्रियागत त्रुटिका कारणले पनि यसो हुन गएको हो । मैले यसै आब मा सम्भव भएसम्म बढी बेरुजु रकम फर्छ्यौट गर्ने प्रयास गर्ने छु ।

गत आर्थिक वर्षमा बिरुवा गाउँपालिकाका गतिविधिहरु पटकपटक विवादित रहे यस आर्थिक वर्षमा त्यस्ता खबरहरु कमै मात्र सुन्न पाइयो। गाउँपालिकाका कार्यहरुलाई कसरी प्रभावकारी रुपमा अगाडि बढाउनु भएको छ ?

जनप्रतिनिधिहरुसँगको उचित समन्वय र कर्मचारीहरुको उच्च मनोबलका तयार गर्ने कार्यमा मैले कुनै कसर बाँकी राखेको छैन । यस सिलसिलामा कार्यालयका सम्पूर्ण कर्मचारीहरुबाट  मैले अमूल्य सहयोग प्राप्त गरेको छु । यसैगरी जनप्रतिनिधिहरुबाट प्राप्त हुने महत्वपूर्ण सल्लाह सुझावलाई पनि ग्रहण गरेर अगाडि बढेको छु ।

गत आर्थिक वर्षमा सम्पन्न भएका महत्वपूर्ण योजनाहरु के के छन् ?

कृषिलाई प्राथमिकता दिँदै ७ वटा वडाहरुमा नमुना कृषि कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन भएको छ। बिरुवा दम्सिदी शिखर्सिंह सडकको स्तरोन्नती भएको छ। स्थानीय पूर्वाधार कार्यक्रम अन्तर्गतको तीन ओटा रणनैतिक सडकहरूको स्तरोन्नती भएको छ । दुईवटा  वडाहरुमा आगामी आर्थिक वर्षमा सम्पन्न हुने गरी स्वास्थ्य चौकी निर्माणको कार्य अगाडि बढेको छ । तीन ओटा सामुदायिक भवनहरूको निर्माण कार्य सम्पन्न भएको छ। गाउँपालिका प्रशासकीय भवन निर्माणको कार्य अगाडि बढेको छ ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएका मुख्य योजनाहरु के के रहेका छन्?

चालु आर्थिक वर्षमा कृषि,पूर्वाधार, स्वास्थ्य, रोजगारी सिर्जना लाई प्राथमिकतामा राखी योजनाहरु निर्माण भएको छ । विदेशबाट फर्केका युवालाई स्थानीय स्तरमै उद्यमशिलता प्रवर्धन गरी रोजगारी सिर्जना गर्न बजेट विनियोजन भएको छ । युवा स्वरोजगार कार्यक्रम, पूर्वाधार साझेदारी कार्यक्रम, कृषक अनुदान कार्यक्रम लगायतका नमुना कार्यक्रमहरु संलग्न गरिएको छ।

कोरोना नियन्त्रणको सिलसिलामा गाउँपालिकाले के कस्ता कार्यहरु गरेको छ ?

कोरोनाको कारणले श्रृजित महामारी नियन्त्रण गर्न गाउँपालिकाले प्रारम्भिक दिनहरू बाटै प्रभावकारी कदमहरु चालेको थियो जसको  कारणले गर्दा जिल्लाका स्थानिय तहहरु मध्ये सबैभन्दा कम कोरोना संक्रमित ब्यक्तिहरू बिरुवा गाउँपालिकामा भेटिए । गाउँपालिकाले सबै वडाहरुमा क्वारेन्टाइनको व्यवस्था गर्ने ,स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरूको प्रभावकारी परिचालन गर्ने ,क्वारेन्टाइन व्यवस्थापनको लागि छुट्टै समितिको निर्माण गर्ने र कोरोना पोजिटिभ केश देखिएको अवस्थामा उनीहरुलाई यथा समयमै आइसोलेसन सम्म पठाउने व्यवस्था गरेको छ।

.

प्रमुख प्रशासकीय अधिकृत कुलराज सुबेदी

स्थानीयतहहरुमा राजनैतिक हस्तक्षेप बढी हुने र कर्मचारीहरु लामो समय टिक्न नसक्ने देखिन्छ । त्यहाँको कार्यबातावरण कस्तो छ ?

जनप्रतिनिधिहरु सँग समन्वय गरी काम गर्नु पक्कै पनि चुनौतीपूर्ण छ । नीति नियमहरु मिचेर काम गर्नको लागि दबाबहरु आउने गरेको सुनिन्छ । मेरो पालिकामा भने कर्मचारी र जनप्रतिनिधि हरूको सम्बन्ध राम्रो छ । यदा कदा आउने समस्या हरुलाई पनि छलफल कै माध्यमबाट समाधान गर्ने गरिएको छ।

तपाईं शिक्षण क्षत्रमा पनि लामो समय काम गरेको व्यक्ति हुनुहुन्छ । स्थानीय सरकारको प्रशासकीय नेतृत्व गर्दा के कस्ता चुनौती हरु आइपर्छन् ?

राजनैतिक नेतृत्वको महत्वकांक्षा र नेपाल सरकारको नीति नियम बीच तादम्यता मिलाउने काम प्रमुख प्रशासकीय अधिकृत को हो । मुख्य गरी भुक्तानीको सिलसिला मा राजनैतिक तहबाट दबाब हरु आउने गर्दछन् । ठूला उपभोक्ता समितिमा नेता हरुले आफ्नै मान्छेहरुलाई राखेका हुन्छन् यस्तो अवस्थामा कहिलेकाहीं सन्तोषजनक काम नभएको अवस्थामा मूल्यांकन तथा फाइनल बिल बनाउँदा समस्या आउँछ। यसैगरी मिश्रित कार्यपालिका भएको स्थानीयतहहरुमा राजनैतिक दलहरूको द्वन्द्व कार्यपालिका बैठकमा देखिन्छ । यसले गर्दा कतिपय अत्यावस्यक निर्णयहरु समयमा गर्न नसकिने वा अन्य स्वार्थ केन्द्रित विवाद हरु पनि आउने गर्दछन् ।

अन्त्यमा बिरुवा गाउँपालिका बासी लाई यस अन्तरबार्ता मार्फत के अनुरोध गर्न चाहनुहुन्छ ?

समुन्नत बिरुवा निर्माणको लागि सचेत गाउँपालिका बासीहरुको महत्वपूर्ण सहयोग आवश्यक पर्दछ । म मेरा गाउँपालिका बासीलाई आफ्ना गाउँ टोलका विकास क्रियाकलाप हरुमा साझेदारी , सक्रिय सहभागिता र दिगो विकास मा रचनात्मक सहयोग को लागि अपिल गर्दछु ।

(बिरुवा गाँउ पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई सामाजिक सञ्जालमा पनि भेट्न सकिन्छ ।)

Facebook Comments Box
TOP