‘यही चालाले न रेल न तेल’
शैलेन्द्र घिमिरे :
विचारविहीन सत्ता अन्धो हुन्छ। यही बुझेर होला कवि भुपी शेरचनले २०२५ सालमा ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ शीर्षकमा कविता लेखे। सत्ता अन्धो भएपछि शासकहरु भ्रममा नपर्ने कुरै भएन। सायद यही कारण होला नेपालमा राजा त्रिभुवनले पटक–पटक भनेका थिए रे– के नेपाली जनताले दूध–भात पनि खान पाँउदैनन्?
सोभियत सत्ताका अन्तिम राष्ट्रपति मिखायल गोर्भाचोभलाई लाग्दथ्यो– सोभियत सत्ता अटल छ। पोलिटब्युरो बैठकमा एक सदस्यले गोर्भाचोभको सुधारलाई मजाकका रुपमा अथ्र्याउँदै भनेका थिए, ‘महासय तिमीले गल्ती गर्दैछौ।’
त्यतिबेला ती सदस्यको भनाइलाई कसैले पत्याएनन्, हाँसोमा उडाए।
तर, एकाबिहानै सोभियत कम्युनिस्ट पार्टीका महासचिव तथा सोभियत संघका अन्तिम राष्ट्रपति तथा सुप्रिम सोभियतका अध्यक्ष आफ्नो कार्यालय जानै पाएनन्। सोभियत लालसेना एल्त्सिनका अगाडि रुझेको बिरालोजस्तै पिटर्सवर्गका सडकमा निरीह देखियो। सोभियत पोसाक भए पनि सेना सोभियत भएन। तात्कालिन संसद दुमामाथि पूर्व लालसेनाकै अगुवाइमा भीषण बमबारी गरियो। मिखायल गोर्भाचोभ सत्ताच्युत भए र त्यही पार्टीका पूर्व पोलिटब्युरो सदस्य वोरिस एल्त्सिन दक्षिणपन्थीको नेतृत्व गर्दै रसियाली राष्ट्रपति एवं सेना प्रमुख बने।
एसियाको नयाँ सितारा र मुस्लिम समाजवादका नायकका रुपमा चिनिएका अफगानिस्तानका राष्ट्रपति नाजिबुल्लाह कावुलस्थित आफ्नै निवासमा सोभियत सेनाको सलामी लिँदै गर्दा साम्राज्यवादी षड्यन्त्रमा परे। राजधानी एकाएक अतिवादीहरुको कब्जामा गयो र कम्युनिस्टहरुलाई खोजीखोजी मारियो।
पञ्चायतको अन्तिम–अन्तिम समयमा काठमाडौँ सयर गरेर फिर्ता भएका रुमानियाली राष्ट्रपति निकोलाई चाउचेस्कु एकबिहान मर्निड वाकबाट निवासमा फर्किन पाएनन्। उनलाई सीआईए परिचालित जत्थाले घेरा हाल्यो र मार्यो। सत्ताको एक विषेशता छ। प्रत्येक दिन षड्यन्त्रका तानावाना बुनिन्छन् जबसम्म षड्यन्त्र पराजित हुन्छ यो मजाको हुन्छ तर षडयन्त्र सफल भयो भने त्यो त्यतिनै क्रूर र खतरनाक हुन्छ।
‘हाम्रो आन्दोलनको गौरवशाली यात्रा कुनै एक नेताको आयुसँगै सकिने नबनाइ्योस्। आँखा नछोपियोस् र नभनियोस् कि म नियम मान्दिनँ। कथित घरवेटीले डेरा खोज्न थालेपछि बुुझेहुन्छ, घर भत्किँदैछ वा तिनले त्यसमा आगो झोस्ने छन्।’
हाम्रोमा पनि सत्ता छ र कयौँपटक अन्धो भएको छ। अन्धो भएकै कारण सकिएको पनि छ। पञ्चायत ढल्नुुुभन्दा दुई वर्षअधि भएको स्थानीय निर्वाचनमा ९६ प्रतिशत स्थान पञ्चायतले जितेपछि युरोपियन देशका एक जना पत्रकारले विश्वले नेपालका राजा वीरेन्द्रमार्फत राजनीति गर्न सिक्नुपर्ने बताएका थिए। तर, दुई वर्षमै मरिचमानबाट लोकेन्द्रमा आएर पञ्चायत सकियाे।
२०६२/६३ मा तात्कालीन शाही सेनाले बालाजुमा जनताको जुलुसमाथि स्वचालित राइफलबाट गोली चलाउँदै गर्दा कमल थापालाई लाग्दथ्यो– नेपालको सत्तामा तिनको पुस्तौनी हक छ। तर, त्यही गोलीका पर्राबाट बिजारोपित गणतन्त्र काठमाडौँमा उभिएन मात्र राजालाई एक गोली नपड्काई दरबार छाड्न बाध्य बनायो। थापालाई डेरा सर्न साँझ कुर्नुपर्ने बाध्यता पर्यो र उनी लुकीलुकी मन्त्री निवासबाट डेरा सरे। यो ज्ञानेन्द्र अतिवादको पराजय थियो। जुन पराजयलाई नेपालको राजनीतिक नेतृत्वले सुझबुझपूर्ण तरिकाले निष्कर्षमा पुर्याएको थियो ।
एक समय थियो–कम्युनिस्टहरु लुकीलुकी हिँड्थे। एक बेला थियो– कम्युनिस्टहरु आतंककारी ठहर्थे र गिरफ्तारीपछि तिनको ज्युँदै आँखा निकालिन्थ्यो, स्तन काटिन्थ्यो र उनीहरु पराजित भएको उत्सव मनाइन्थ्यो। तर, इतिहास सधैँ त्यस्तो रहेन। पराजित भए भनिएकाहरु बौरिएर सडक तथा जंगलभरी भए र उत्सव मनाउनेहरु नराम्ररी पछारिए।
आज तिनको एजेन्डामा देश छ। जनताको लालसामा विकास छ, जो कम्युनिष्टहरुले जगाएका हुन। आज हरेक क्रियाको प्रतिक्रिया तत्काल सडकमा देखिन्छ, जो कम्युनिस्टले बनाएका हुन। आज नबोल्नेहरु भनिएका पनि बोल्छन किनकि तिनलाई थाहा छ– एक विस्मयकारी यात्राको महानायक तिनीहरुसँग छ। आज मान्छेले सहने कुरा गर्दैन, प्रतिकारको कुरा गर्छ, जो समाजवादको सपनाले सिकाएको छ। कहिलेकाहीँ यस्तो भइदिन्छ कि सत्तामा बसेकाहरुले एजेन्डा बिर्सिन्छन्, साँघुरा भैदिन्छन्। तिनलाई लाग्छ कि तिनको ताल नमिलेको लयमा पनि भाँती छ। जनताको मौनतालाई तिनले रमाइलो मान्छन् र जनता आफूसँगै भएको ठन्दछन्। तिनले जे गरेपनि छुट छ भन्ने मान्दछन्। तर, हकिकत त्यस्तो हुँदैन। जब जनता जाग्छन्, एक निमेषमै चित्रहरु फेरिन्छन् र नयाँ इतिहास कोरिन्छ।
हो, हामी राष्ट्रवादी हौँ। कम्युनिस्टहरु अन्तर्राष्ट्रियतावादी अवश्य हुन र राष्ट्रवादका असल हिमायती पनि हुुन। नेपालको इतिहासले त्यही भन्छ। कोशी, गण्डक, महाकाली सन्धि र नाकाबन्दी सबैमा कम्युनिस्टहरुले आफ्नो कित्ता प्रष्ट्याएका छन्। इतिहासको एक मोडमा नेपालको नदी छिमेकीलाई दान गर्न हदैसम्मको हर्कत गर्नेहरु एकाएक छद्म राष्ट्रवादी बन्ने कुरा सुन्नेलाई अचम्म नलागे पनि बुझ्नेलाई भने अचम्म लाग्छ।
छलछाम राष्ट्रवाद होइन। संवाद शून्यतामा देशलाई पुर्याएर हामी चित्रमा मात्र अल्झिने विचित्रको राजनीतिमा छौँ। त्यतिमात्र होइन हामी एमसीसीको पछि छौँ। सारा ब्रमाण्डलाई थाहा छ–एमसीसीका पिर्कामा उभिएर समाजवादको सपना पूरा हुँदैन। एमसीसीमा हाम्रो अहितका विषयहरु छन् भनेर अध्ययन कार्यदलले बुझाउँदा पनि हामीलाई लागिरहेको छ कि उनीहरु हाम्रा मामातिरका हुन। एमसीसीले हामीलाई अफगानिस्तान बनाउँछ, हैटी बनाउँछ। जर्जरता दिन्छ र भन्नेछ– तिमीले तिम्रो देश चलाउन सकेनौ। यो हकिकत हो, तर सत्तासिनहरुलाई त्यस्तो लाग्दैन एक दिन र मात्र एकछिन हाम्रो सत्ता लम्बिनुपर्छ, कुरो यत्ति छ। आफू ‘मरे के राजा’ भनेझैँ भन्ने गरिएको परलोकसम्मै सत्ता लैजान लालायितहरु विधिमा छिर्दैनन्, नियम मान्दैनन्। मानौं तिनीहरु नियम नमानेरै जन्मिएकाहरु हुन्। तिनीहरु सडकमा जान्छन् र अन्तरपार्टीको कुरालाई छताछुल्ल पार्छन्। एक टुक्रो पार्टी सदस्यता पाउन एक आधारभूत वर्गको मानिसलाई खुवाइएको सपथ र बनाइएको नियमको नौ हण्डर तिनलाई ज्ञान हुँदैन। तिनलाई जगत मिथ्या मात्र थाहा छ। तिनीहरु एक घेरामा छन्, घेरा र फेराले के भन्छ त्यही तिनको विज्ञानको अन्तिम सत्य हो।
रेल र तेल गत निर्वाचनमा विकेको कुरा हो। यही चालाले हामीलाई न रेल दिन्छ न तेल दिन्छ। निर्वाचनको घोषणा पत्रमा के छ? सरकारमा बसेकाहरुले बिर्सेका छन्। स्थानीय सत्ता मियो नभएझैं प्रतिवद्धताबाट खस्किएको छ। तिनलाई मियोमा हाल्न सक्दा मात्रै दुई वर्षमा हामीले आजभन्दा कयौँ गुणा प्रगति गर्न सक्छौँ। नगर्दा हामी सकिन्छौँ। मानिसले अर्को निर्वाचनमा बाल्टीमा पानी राखेर कागजको डुंगा देखाए भने हाम्रो जवाफ के हो, भोट बटुल्ने जमिनको पार्टी पंक्तिलाई ‘थाहा’ चाहिएको छ। हामीले सिकाएको विधिले भन्छ– सक्षमहरुलाई उकेरो नलगाऊ। सक्षमहरुलाई जोगाऊ र त्यो डिउटीमा लगाऊ जसले परिणाम दिन्छ।
यसका लागि हामीले कम्युनिस्ट भएर सोचौँ। जबसम्म हामी गुटका मात्र भएर सोच्छौँ, हामीलाई यथार्थताको बोध हुँदैन। आजको टकराव गत निर्वाचनको हाम्रो प्रतिवद्धतालाई प्राण दिने प्रयत्न हो। महामारी र बाढीमा यस्तो कुरा गर्नु हुँदैन भन्ने तर्क बेइमानी हो। किनकि कठिनाई नआइ कसैको परीक्षा हुँदैन। जब पारलाग्ने देखिँदैन विकल्प सोच्न एक सेकेन्ड मात्र ढिला गर्नु जनतालाई धोका दिनु हो। यसरी भएन भनेर अर्को सत्य उत्खननकोयत्न आजको नेकपाभित्रको अन्तर संघर्ष हो। यो यत्नलाई परिणामसम्म पुग्न दिऊँ। कार्यकर्तालाई नियमको चुक्लीमा कसेर आफू नियममा नछिर्नु भन्दा बेइमानी कम्युनिस्ट आन्दोलनमा अरु के हुन सक्छ। कृपया कम्युनिस्ट आन्दोलनको गौरवशाली यात्रा कुनै एक नेताको आयुसँगै सकिने नबनाइ्योस्। आँखा नछोपियोस् र नभनियोस् कि म नियम मान्दिनँ। कथित घरवेटीले डेरा खोज्न थालेपछि बुुझेहुन्छ कि घर भत्किँदैछ वा तिनले त्यसमा आगो झोस्ने छन्। यसका विरुद्ध खबरदारी गरौं। आज डबल नेकपाको विकल्प डबल नेकपा नै हो।
(शैलेन्द्र घिमिरे नेकपा गण्डकी प्रदेश (स्याङजा) का युवा नेता हुन्) साभार -नेपाल खवर डटकमबाट
समाचार
थप सामाग्री
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
५ दिन अगाडि
काठमाडौँ : नेकपा एमालेले देशभरका सबै निर्वाचन क्षेत्रका उम्मेदवारको टुङ्गो लगाएको छ। हिजो बसेको पार्टी सचिवालय बैठकले आगामी निर्वाचनका लागि…


