जुवाडेमा काेराेना संक्रमण देखिएपछि स्याङ्जाकाे पुतलीबजार फेरि ‘हटस्पट’।

putalibazar syangja

गत वैशाख र जेठमा संक्रमित बढेको स्याङ्जामा पछिल्लो निषेधाज्ञासँगै संक्रमितको संख्यामा ह्वात्तै कमी आएकोमा आइतबार फेरि जुवाडेमा संक्रमण देखिएको छ। 

तीव्र गतिमा घटिरहेको संक्रमितको संख्यालाई गत आइतबार जुवाडेमा देखिएको संक्रमणले ‘ब्रेक’ लगाइदिएको छ। दुई साताअघि पक्राउ परेका १९ जुवाडेको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो। ‘हामी एकप्रकारले शून्यमा पुगिसकेका थियौं। जुवा खेल्ने टिमबाट फेरि केस बढ्यो’ स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले भन्नुभयाे।

१९ जनालाई प्रहरीले तास खेलिरहेकै अवस्थामा पक्राउ गरेको थियो। उनीहरु पुतलीबजार १३ र १४ वडाका स्थानीय हुन्। संक्रमित सबैलाई आइसोलेसनमा राखिएको छ। तास खेल्नेहरु लामो समय एकै स्थानमा रहने र दूरी पनि निकट हुने हुँदा सबैमा संक्रमण देखिएको थियो। जुवा खेलेको हेर्नेहरुलाई समेत संक्रमण हुनसक्ने भएकाले स्वाब संकलन गरिएको छ। 

कन्ट्याक्ट ट्रेसिङमा परेका  १०३ जनाको स्वाब संकलन गरिएको बताइएको छ। स्वास्थ्य प्रमुख शर्माले भन्नुभयाे, ‘प्रहरी वा समुदायबाट कहाँबाट सर्‍यो भनी अरुको स्वाब संकलन गरिएको छ।’ साउनको पहिलो र दोश्रो साता जिल्ला कार्यालय स्याङ्जामा कार्यरत ४१ जना प्रहरीमा संक्रमण देखिएको थियो। ठूलो संख्यामा प्रहरीमा संक्रमण देखिएपछि निषेधाज्ञा जारी गरिएको थियो। निषेधाज्ञाले संक्रमणको मात्रा उल्लेख्य मात्रामा घटेको थियो। 

जिल्ला सदरमुकाममा संक्रमण फैलिएपछि हटस्पट सदरमुकाम पुतलीबजार बन्न पुगेको छ। अन्य गाउँ र नगरपालिकाको संक्रमितको वृद्धिदर भने शून्यसरह छ। 

संक्रमण वृद्धि हुँदा विगतमा एकै दिनमा २८ जनासम्म संक्रमित पुगेका वालिङ नगरपालिकाका मेयर दिलिपप्रताप खाँणले जानकारी दिनुभयाे।

हाल कोभिड पोजिटिभको संख्या वालिङमा शून्य  छ। वालिङमा क्वारेन्टाइनमा बस्नेहरुको संख्या ३७ जना रहेको छ। पछिल्ला परीक्षणहरूमा संक्रमण नदेखिएको खाँणले जानकारी दिनुभयाे । क्वारेन्टाइनको क्षमता सामुदायिक र होटल गरी एक सय ५० जनासम्म अट्ने छ।

देशभर लकडाउन सुरु भएसँगै स्याङ्जाका स्थानीय तहले एक हजार जनाभन्दा बढी अट्ने क्षमताको क्वारेन्टाइन सञ्चालनमा ल्याएका थिए।

आइसोलेसनका लागि २१२ बेड क्षमता रहेको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख शर्माले जानकारी दिनुभयाे। उच्च जोखिममा रहेको बेला बढीमा डेढ सय जनासम्म आइसोलेसनमा रहेका थिए। हाल उक्त क्रम घटेर २७ जनामा आइपुगेको छ।

स्याङ्जाका नयाँ सङ्क्रमित : प्रहरीले समातेका १९ जना जुवाडे सहित एक सरकारी कर्मचारी ।

जिल्लामा सबैभन्दा बढी संक्रमित सदरमुकाम अवस्थित पुतलीबजार नगरपालिकामा देखिएको छ। त्यसपछि वालिङ नगरपालिकामा संक्रमित देखिएका थिए। हाल भने वालिङमा संक्रमितको संख्या शून्य छ। पाँच नगरपालिका र छ गाउँपालिका रहेको स्याङ्जामा पुतलीबजार बाहेकका स्थानीय तहमा संक्रमितको संख्या अत्यन्तै न्यून रहेको छ।

कालिगण्डकी गाउँपालिका र गल्याङ नगरपालिकामा एक/एक जनामात्रै संक्रमित छन्। सबैभन्दा कम संक्रमित देखिएको स्थानीय तह हरिनास गाउँपालिका हो। जहाँ हालसम्म तीन जनामात्रै संक्रमित भएका थिए। पहिलोपटक वैशाख ७ मा भारतबाट आएका दुई जना संक्रमित भएका थिए।

तेश्रो ठूलो नगरपालिका गल्याङमा एक्टिभ केस एक जनामात्रै रहेको गल्याङ नगरपालिकाका स्वास्थ्य संयोजक विपिन कोइरालाले जानकारी दिनुभयाे। गल्याङमा संक्रमण देखिएर निको हुनेको संख्या ५१ पुगेको कोइरालाले जानकारी दिनुभयाे। संक्रमित ७ जना बाहेक अन्य विदेशबाट आउनेहरु थिए।

गल्याङमा क्वारेन्टिनमा २५ जना रहेका छन्। आइसोलेसनमा खाली नै रहेको छ। नगरपालिकाभरि करिब ८५० जनाको पिसिआर गरिएको कोइरालाले जानकारी दिनुभयाे। गल्याङ नगरपालिकाभित्र ८५ जना स्वास्थ्यकर्मी खटिएका छन्।

जिल्लाभर पाँच हजार २८६ को स्वाब संकलन गरिएको छ। ५ हजार ३८ जनाको पिसिआर भएको छ। हालसम्म जम्मा ३७७ जनामा संक्रमण देखिएको छ। एक्टिभ केस २७ जना रहेको बताइएको छ। जिल्लाभर हालसम्म दुई जनाको मृत्यु भएको छ। मृतक दुवैलाई अन्य रोगको पनि संक्रमण भएको पुष्टि भएको थियो। साभार : नेपाल लाईभ डटकमबाट, (तस्विर : सामाजिक सञ्जाल)

स्याङ्जाका २२ जनासहित गण्डकी प्रदेशमा थपिए ६९ काेराेना सङ्क्रमित ।

Facebook Comments Box
TOP