२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु

स्याङ्जा :

 लामो समयदेखि अस्थायी टहरामा बसेर नागरिकको सुरक्षामा खटिँदै आएको सशस्त्र प्रहरी बलले अब वालिङमा आफ्नै स्थायी संरचना पाउने भएको छ। वालिङस्थित सशस्त्र प्रहरी बल ३० नं. गुल्मको स्थायी आवास तथा कार्यालय निर्माणका लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले शुक्रबार सार्वजनिक सूचना प्रकाशन गर्दै जग्गा अधिग्रहण प्रक्रिया औपचारिक रूपमा अघि बढाएको हो।

२३ वर्षदेखिको प्रतीक्षामा पूर्णविराम :

सशस्त्र द्वन्द्वको उत्कर्षका बेला सुरक्षा संवेदनशीलता बढेपछि २०६० सालदेखि सशस्त्र प्रहरी वालिङस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयको जग्गामा अस्थायी रूपमा बस्दै आएको थियो। करिब साढे दुई दशकसम्म आफ्नै जग्गाको अभाव झेलिरहेको गुल्मका लागि अन्ततः स्थायी समाधान निस्किएको हो। गत २०८३ असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले विद्यालयको स्वामित्वमा रहेको कित्ता नं. ४८२ को २९ रोपनी ५ आना २ पैसा १ दाम क्षेत्रफल जग्गा सशस्त्र प्रहरीको नाममा स्वामित्व हस्तान्तरण गर्ने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयनका लागि प्रशासनले प्रक्रिया थालेको प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेले जानकारी दिनुभयो।

स्थानीय नेतृत्वको साथ र शान्ति सुरक्षाको अपेक्षाः

मन्त्रिपरिषद्‌को निर्णयसँगै जग्गाको स्वामित्व हस्तान्तरणको प्रक्रिया सुरु भएसँगै मिश्रित प्रतिक्रिया आएका छन्। विद्यालय व्यवस्थापन समितिका केही सदस्यले नेपाल सरकारको मन्त्रिपरिषद्‌बाटै निर्णय भई प्रक्रिया अगाडि बढेकाले सरकारको निर्णयको विपक्षमा जाने अवस्था नरहेको बताएका छन्। केहीले भने जग्गाको स्वामित्व नै हस्तान्तरण प्रक्रिया रोकेर भोगचलन (लिज) का लागि दिनुपर्ने भनाइ राखेका छन्। वालिङमा सशस्त्र प्रहरीको पूर्ण युनिट रहनुपर्छ भन्नेमा सबै एकमत भए पनि जग्गाको स्वामित्व हस्तान्तरणमा भने विवाद रहँदै आएको छ। यसैबीच, वालिङ नगरप्रमुख कृष्ण खाँणले यस क्षेत्रको शान्ति सुरक्षा र अमनचयनलाई दीर्घकालीन रूपमै सुदृढ बनाउन सशस्त्र प्रहरीको उचित र स्थायी व्यवस्थापन अपरिहार्य रहेकोमा जोड दिनुभएको छ। जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएसँगै अब सुरक्षाकर्मीहरूको बसाइ व्यवस्थित हुने र नगरवासीले अझ प्रभावकारी सुरक्षा अनुभूति गर्न पाउने अपेक्षा गरिएको छ। वालिङमा रहेको ३० नं. गुल्मले वालिङ नगरपालिका सहित समग्र स्याङ्जा जिल्लाकै सुरक्षा प्रदान गर्दै आएको छ।

Facebook Comments Box
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
३ हप्ता अगाडि

स्याङ्जा : स्याङ्जाको बिरुवा गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ । मनकामना मन्दिरमा लाग्ने कोजाग्रत पूर्णिमा मेलाका अवसरमा गाउँपालिकाले सार्वजनिक…

TOP