सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ

स्याङ्जा :

स्याङ्जाको वालिङस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले गरेको विशेष चेकजाँचका क्रममा ठूलो परिमाणको नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

भैरहवाबाट पोखरातर्फ आउँदै गरेको यात्रुवाहक बसबाट नियन्त्रित लागूऔषध इन्जेक्सनसहित बागलुङ नगरपालिका वडा नम्बर ६ का २२ वर्षीय बिशाल नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

वडा प्रहरी कार्यालय वालिङका अनुसार सोमबार (कात्तिक २३ गते) दिउँसो अन्दाजी ०१:३० बजे प्रहरी निरीक्षक योगेन्द्र कुमार राईको कमाण्डमा खटिएको टोलीले वालिङ नगरपालिका-८ स्थित जैसीपँधेरा क्षेत्रमा सिद्धार्थ राजमार्ग भएर गुड्ने सवारी साधनहरू चेकजाँच गरिरहेको थियो। सोही क्रममा भैरहवाबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ९४२४ नम्बरको बसलाई रोकेर शंकास्पद रूपमा सवार नेपालीको तलासी लिँदा उनको साथबाट भारी मात्रामा प्रतिबन्धित लागूऔषध बरामद भएको हो।

बरामद लागूऔषध तथा सामानहरू:

  • बुप्रिनोर्फिन (Buprenorphine Injection I.P.): ६७ एम्पुल

  • फेनार्गन (Phenergan): ६७ एम्पुल

  • डाइजेपाम (Diazepam Injection I.P.): ८६ एम्पुल

  • स्यामसङ (Samsung) मोबाइल: १ थान

बरामद गरिएका २२० एम्पुल नियन्त्रित लागूऔषधसहित पक्राउ परेका आरोपी नेपालीलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरिएको छ।

घटनाबारे थप अनुसन्धान गर्न स्याङ्जा जिल्ला अदालतबाट १० (दश) दिनको म्याद थप अनुमति लिएर प्रहरीले अनुसन्धान प्रक्रिया तीव्र बनाएको छ। सिद्धार्थ राजमार्ग हुँदै हुने गैरकानुनी ओसारपसार नियन्त्रण गर्न तराई-पहाड जोड्ने मुख्य नाकामा प्रहरीले चेकजाँचमा कडाइ गर्दै आएको छ।

Facebook Comments Box
TOP