भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, ५ बुँदे सामूहिक प्रतिज्ञा ।

वालिङ :
स्याङ्जाको भीरकोट नगरपालिकाले मानव, पशुपन्छी र वातावरणीय स्वास्थ्यबीचको अन्योन्याश्रित सम्बन्धलाई आत्मसात् गर्दै ‘एक स्वास्थ्य’ (वन हेल्थ) को अवधारणालाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएको छ । ‘विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह २०२६’ का अवसरमा सोमबार भीरकोट नगरपालिकाको कार्यालयमा आयोजित ‘एक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ मार्फत नगरपालिकाले साझा प्रतिबद्धता र सामूहिक प्रतिज्ञा सार्वजनिक गरेको हो ।
भीरकोट नगरपालिकाको आयोजना तथा हेफर प्रोजेक्ट नेपाल र दियालो स्याङ्जाको सहयोग एवं सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो । ‘आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम’ अन्तर्गत आयोजित अभिमुखीकरणमा सहभागी सरोकारवालाहरूले प्रतिजैविक औषधिको सही प्रयोग, जुनोटिक रोगको रोकथाम तथा खाद्य स्वच्छतालाई प्राथमिकता दिँदै एक स्वास्थ्य अवधारणालाई नीति तथा व्यवहारसँग जोड्ने विषयमा जोड दिए ।
‘एक स्वास्थ्य’ व्यवहारमा उतार्ने प्रतिबद्धता
कार्यक्रममा बोल्दै भीरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्यले एक स्वास्थ्यको अवधारणालाई पालिकाले व्यवहारमा उतार्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले मानव स्वास्थ्य, पशुपन्छी स्वास्थ्य र वातावरण संरक्षण एकअर्कासँग जोडिएकाले सबै क्षेत्रको सहकार्य र जिम्मेवार व्यवहारमार्फत स्वस्थ समुदाय निर्माण गरिने बताउनुभयो ।
अभिमुखीकरणमा हेफर प्रोजेक्ट नेपालका डा. अंशु प्रधानले एक स्वास्थ्यको अवधारणा, यसको महत्व र विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहको सन्दर्भमा विस्तृत जानकारी दिनुभएको थियो । यस्तै, भीरकोट नगरपालिकाका पशु सेवा शाखा प्रमुख डोलराज गैह्रे, हेफर प्रोजेक्ट नेपालका वरिष्ठ कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डे लगायतले पशुपालन, कृषि अभ्यास, औषधिको विवेकपूर्ण प्रयोग र अन्तरक्षेत्रीय समन्वयका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रममा भीरकोट नगरपालिकाका जनप्रतिनिधि,कर्मचारी,महिला स्वास्थ्य स्वयंसेविका लगायतको सहभागिता रहेको थियो ।


पाँच बुँदे सामूहिक प्रतिज्ञा सार्वजनिक
कार्यक्रमका क्रममा ‘एक स्वास्थ्य, साझा जिम्मेवारी ! जिम्मेवार व्यवहार,स्वस्थ समुदाय,समृद्ध भविष्य’ र ‘प्रतिजैविकको सही प्रयोग, प्रतिरोधको रोकथाम !’ भन्ने मूल सन्देशसहित ५ बुँदे सामूहिक प्रतिज्ञा व्यक्त गरिएको छ ।
प्रतिज्ञापत्रमा समेटिएका विषयहरु :
१.एन्टिबायोटिक औषधि चिकित्सक वा पशु चिकित्सकको सिफारिसमा मात्र प्रयोग गर्ने तथा तोकिएको मात्रा र अवधि पूरा गर्ने ।
२.मानव तथा पशु स्वास्थ्यमा प्रतिजैविक औषधिको विवेकपूर्ण र जिम्मेवार प्रयोग गर्ने तथा अनावश्यक प्रयोगलाई निरुत्साहित गर्ने ।
३.जुनोटिक रोग रोकथाम तथा नियन्त्रणका लागि खोप, स्वास्थ्य र जैविक सुरक्षाका उपाय अपनाउने तथा समुदायमा सचेतना बढाउने ।
४.विषादीको सुरक्षित प्रयोग, वातावरणमैत्री कृषि अभ्यास र असल पशुपालन पद्धति अपनाउँदै खाद्य स्वच्छता र सुरक्षा प्रवद्र्धन गर्ने ।
५.मानव, पशुपन्छी र वातावरणको स्वास्थ्य संरक्षणका लागि भीरकोट नगरपालिकाले स्वास्थ्यकर्मी, कृषक, समुदाय तथा सबै सरोकारवालासँग सहकार्य गर्ने ।

 

Facebook Comments Box
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
२ हप्ता अगाडि

वालिङ : श्रीमान् गुमाएको पीडाले विक्षिप्त बन्दै अस्पतालको बेडमा जीवन र मृत्युको दोसाँधमा संघर्ष गरिरहेकी श्रीमतीको पनि अन्ततः चौध दिनपछि…

TOP