पोखराकाे जिएमसीमा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु, ग्यास्ट्रो उपचार आधुनिक बन्दै
पोखरा :
पोखरामा रहेकाे गण्डकी मेडिकल कलेज (जिएमसी) मा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु भएकाे छ । डा. शंकर बरालको नेतृत्वमा पेट तथा कलेजो रोग विशेषज्ञ टोलीले बिनाअपरेशन पित्त नलीको ढुंगा निकाल्ने इआरसीपी (Endoscopic Retrograde Cholangiopancreatography) सेवा सुरु गरेको हाे ।
यो सेवाले पेट नचिरिकन मुखबाट ड्युडेनोस्कोपी मार्फत पित्त नली र प्यानक्रियाज नलीका समस्या समाधान गर्ने आधुनिक उपचार प्रविधि भएकाे अस्पतालले जनाएकाे छ ।
डा. बरालका अनुसार, इआरसीपी सेवाले जन्डिस भएका बिरामी, पित्त नली र प्यानक्रियाज क्यान्सरका बिरामी, साथै पित्त नली साँघुरिएको समस्या भएका बिरामीलाई सहज र प्रभावकारी उपचार उपलब्ध गराउँछ। यसले पहिले जस्तो ठूलो शल्यक्रियाको आवश्यकता कम गरी बिरामीको आराम र स्वास्थ्य दुवैमा सुधार ल्याउनेछ ।
इआरसीपी सेवा सुरु भएसँगै ग्यास्ट्रो विभागले अन्य नयाँ उपचार सेवा पनि सञ्चालनमा ल्याएको छ । ती सेवामा एपिसी (APC), इसोफेजियल कार्सिनोमाका बिरामीका लागि मेटालिक स्टेन्टिङ, नली साँघुरो भएको ठाउँ खोल्ने बेलुन डाइलेटेसन, र पेटमा खाना खुवाउने नली राख्ने पेग ट्युब प्लेसमेन्ट समावेश छन् ।
यसैगरी, पोलिपेक्टोमी र भेरिसेसका लागि ग्लु इन्जेक्सन सेवा पनि अब उपलब्ध रहेकाे अस्पतालले जनाएकाे छ ।
जिएमसीका सिइओ डा.रविन्द्र श्रेष्ठ तथा मेडिकल सुपरिटेन्डेन्ट डा.टुमाया घलेका अनुसार, यी सेवाहरूले गण्डकी प्रदेशभरका पेट, आन्द्रा, प्यानक्रियाज र कलेजोका बिरामीले आधुनिक र सहज उपचार सुविधा पाउनेछन्। उहाँहरुका अनुसार “अब बिरामीहरूले उपचारको लागि देशको टाढा भागमा जानुपर्ने आवश्यकता घट्नेछ, र गण्डकी प्रदेशमै उच्चस्तरीय सेवाहरू उपलब्ध हुनेछ ।”
जिएमसीको यो नयाँ पहलले स्वास्थ्य क्षेत्रलाई थप आधुनिक बनाउँदै प्रदेशभरका बिरामीहरूको जीवनस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
जीएमसीमा उपलब्ध इआरसीपीलगायतका सेवा सरकारको स्वास्थ्य बीमा कार्यक्रम र भारतीय पेन्सनर अन्तरगत इसीएचएसमा पनि उपलब्ध रहेको छ

पेट तथा कलेजो रोग बिशेषज्ञ
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
१ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


