गण्डकी र लुम्बिनीको सिमानामा ‘उत्तरबाहिनी’ महामेला
स्याङ्जा, २७ असोज । दुई प्रदेशको सिमाना हुँदै बगेको कालीगण्डकी नदी किनारमा एक महिनासम्म चल्नेगरी ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव—२०८२’ संचालन भएकोछ । गण्डकी र लुम्बिनी प्रदेशको सिमानामा पर्ने ‘उत्तरबाहिनी’ क्षेत्रमा कालीगण्डकीको महिमालाई विश्वभर चिनाउने उद्देश्यले धार्मिक महामेला धर्मोत्सव गरिएको छ ।
महामेला धर्मोत्सव कात्र्तिक १९ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । बिशेषगरी नदीहरु उत्तरप्रवाह हुने दुर्लभ मानिन्छ भने धार्मिक र बैज्ञानिक दृष्टिकोणले यस्ता नदीहरुको फरक महत्व हुन्छ । धार्मिक रुपमा महत्वपुर्ण मानिएको उत्तरबाहिनी क्षेत्रलाई विश्वभर चिनाउन यहाँ स्थापित कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानले महामेला धर्मोत्सवको आयोजना गरेको हो ।
स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका–१ असेर्दीको संगमस्थल उत्तरबाहिनी क्षेत्र (कालीगण्डकी तट) मा महामेला शुरु गरिएको प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले बताउनुभयाे । धार्मिक रुपले निकै पवित्र मानिने र एकमात्र शालग्राम पाइने कालीगण्डकी नदी त्यसमा पनि उत्तरतर्फ बगेको क्षेत्र भएकाले झनै पवित्र हुनेहुँदा यसको प्रचारप्रसारमा सहयागी भुमिका खेल्ने उद्देश्यले एक महिने ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव–२०८२’ संचालन गरिएको अध्यक्ष चैतन्य कृष्णले जनाउनुभयाे ।
प्राकृतिक रुपमा ऊँ लेखिएको चक्रशिलाको दर्शन, साढे तीन किलोमिटरको दूरीसम्म उत्तरतर्फ भएर बहेकी कालीगण्डकीमा स्नान, २० फिट अग्लो भगवान शिवको शालिकको दर्शनकासाथै कालीगण्डकीकै जलबाट बनाईएको १०८ धारामा नुहाउने व्यवस्था मिलाइएको छ । १८ पूराण, सहस्र चण्डीपाठ अनुष्ठानको सुन्दर अवसर एवं सवालाख शालग्रामको दर्शन गर्न पाइने भएकाले पनि महामेलामा सहभागी हुनुले ठूलो अर्थ राख्ने आयोजकको भनाई छ ।

स्याङ्जा र पाल्पाको मात्रै नभएर दुवै प्रदेशका लागि यो क्षेत्र एक ऐतिहासिक तीर्थस्थल बन्ने सोच लिएर उत्तरबाहिनी क्षेत्रको धार्मिक विकासमा दीर्घकालीन हुने विश्वास लिएर महामेलाको आयोजना गरिएको ज्ञान विज्ञान प्रतिष्ठानका संरक्षक शंकरप्रसाद पाण्डेले बताउनुभयाे । महामेलाले सनातन धर्म, संस्कार र संस्कृति संरक्षण गर्ने र नदीलाई स्वच्छन्द प्रदान गर्ने विश्वास आयोजकको छ । धार्मिक मेलामा झण्डै एक करोड खर्च हुने अनुमान गरिएको छ ।
महामेलाको गल्याङ नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराईले एक कार्यक्रमकाबीच शुभारम्भ गर्नुभएकाे थियाे । गल्याङकाे पहिचानको रुपमा रहेको उत्तरबाहिनी क्षेत्रलाई यो धर्मोत्सवले फरक धार्मिक क्षेत्र बनाउनेमा उहाँले विश्वास व्यक्त गर्नुभयाे । धर्मोत्सवका लागि हरिद्वार लगायतका नेपाल र भारतका विभिन्न स्थानहरूबाट प्रशिद्ध सन्तगुरुहरू कालीगण्डकी तटमा आइपुग्ने भक्तजनहरूलाई तनहुँको देवघाट, गुल्मीको रुरुक्षेत्र, स्याङ्जा र पर्वतको सिमनास्थित सेतीवेणी शीला, मुस्ताङ्को मुक्तिनाथ लगायतका तीर्थस्थल दर्शनको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
शास्त्रमा उत्तरतर्फ फर्केको नदीलाई सर्वतीर्थ भनिन्छ । कालीगण्डकी उत्तर भएर बगेकी हुनाले यस क्षेत्रलाई उत्तरबाहिनी भनिएको हो । जहाँ ब्रह्ममयी गङ्गा नदी उत्तरबाहिनी मूर्ती भएर विद्यमान हुन्छिन्, उक्त स्थानमा दर्शन गर्दा, स्नान गर्दा र प्रणाम गर्दा समग्रमा पापहरूको नाश हुन्छ, भन्ने धार्मिक विश्वास गरिन्छ । एक पटक पुग्नै पर्ने सन्देश दिन आयोजना गरिएको महामेलामा सहभागी हुन स्याङ्जा र पाल्पा दुवै जिल्लाबाट सहजै पुग्न सकिने छ ।

समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


