विरुवामा हवनकुण्ड र यज्ञशाला निर्माण
स्याङ्जा :
स्याङ्जाको विरुवा गाउँपालिका ४ ओरष्टे मडकिना गोफामा श्री नारायणेश्वर शिव मन्दिर परिसरमा नवनिर्मित हवनकुण्ड तथा यज्ञशालाको उद्घाटन गरिएको छ । धार्मिक उद्देश्यले मात्र नभइ समग्र नेपालको कल्याणका लागि वैज्ञानिक र अध्यात्मिक हिसाबले हवनकुण्ड र यज्ञशाला निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यस क्षेत्रलाई धार्मिक पर्यटन मार्फत समृद्ध बनाउने भन्दै स्थानीय दिलिप गुरुङ एक्लैले हवनकुण्ड र यज्ञशाला निर्माणको सम्पूर्ण खर्च ब्यहोरेका छन् ।
गाउँपालिकाका अध्यक्ष सुर्य कुवर र हवनकुण्ड निर्माणका लागि सहयोगदाता स्थानीयबासी हाल यूकेमा बस्दै आएका दिलिप गुरुङ्ले यज्ञशालाको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष कुवरले श्री १००८ माता चम्पागिरि महाराजको जन्मथलोलाई धार्मिक एवं पर्यटकीय क्षेत्र बनाउन आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि पालिकाले आवश्यक सहयोग गर्ने बताए । यसैगरी, दिलिप गुरुङले आफ्नो जन्मथलोको विकासका लागि आगामी दिनमा समेत सहयोग गर्ने बताए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भगवती शर्मा, मन्दिर निर्माण ब्यवस्थापन समितिका उपाध्यक्ष धनप्रसाद गुरुङ, चम्पागिरी १००८ महाराजका शिष्यहरु रंगनाथ रेग्मी, नवराज सुवेदी लगायतले शुभकामनासहित आर्थिक सहयोग गर्ने बताए । नारायणेश्वर शिव मन्दिर गुठी ब्यवस्थापन समितिका अध्यक्ष हेमप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव रविन केसीले स्वागत एवं आजसम्म समितिले गरेका काम र प्रगती विवरण जानकारी गराएका थिए भने शिक्षक आर सी पोखरेलले कार्यक्रमको संचालन गरेका थिए ।
समाजसेवी दिलिप गुरुङ तथा धर्मपत्नी हिमा गुरुङले उपलब्ध गराएको १० लाख रुपैयाँले मन्दिर परिसरमा यज्ञशाला तथा हवनकुण्ड बनाइएको हो । कार्यक्रममा समाजसेवी दिलिपकुमार गुरुङलाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा वेलायतबाट आएका विदेशीको समूहले नगद ३ लाख र स्वास्थ्यकर्मी एवं माताका शिष्य रंगनाथ रेग्मीले नगद ५० हजार रुपैंया आर्थिक सहयोग प्रदान गरेका छन् ।
यज्ञशालामा नियमित रुपमा यज्ञ गर्ने बताईएको छ । यज्ञले प्रकृतिको चक्रलाई नियमित गर्ने, शारीरिक, मानसिक रोगव्याधिको उपचार गर्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हेमप्रसाद गुरुङको दावी छ । ‘नियमित रुपमा वैज्ञानिक विधिबाट यज्ञ सञ्चालन हुन्छ । जसले जल, स्थल, वायु, आकाश, महाभुतहरुको शुद्धिकरण गर्छ,’ उनले भने, ‘यज्ञबाट तयार हुने सात्विक वातावरणले मानिसको आध्यात्मिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।’
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


