२०७८ सालको मदन पुरस्कार नवराज लम्सालको अग्नि महाकाव्यलाई

nabaraj lamsal

काठमाण्डौ :  २०७८ सालको मदन पुरस्कार अग्नि महाकाव्यका लागि नवराज लम्साललाई प्रदान गरिने भएको छ ।

आज बसेको मदन पुरस्कार गुठीको बैठकले अग्नि महाकाव्यका लागि लम्साललाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

२०७८ सालको मदन पुरस्कारका लागि प्राप्त २ सय ९९ पुस्तकमध्ये निर्णायक मण्डलले अग्निलाई छनोट गरेको मदन पुरस्कार गुठीले जनाएको छ ।

यसअघि गुठीले पुरस्कारको प्रतिस्पर्धामा रहेका आठ पुस्तकको सूची सार्वजनिक गरेको थियो । जसमा लम्सालको अग्नि‚ दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास, वसन्त बस्नेतको महाभारा, दीपा मेवाहाङ राईको यादको सन्दुक, नारायण पौडेलको लिच्छवि लिपि, नीलमणि ढुङ्गानाको व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश, सुजित मैनालीको सतीः इतिहास र मीमांसा तथा पद्मसुन्दर जोशीको हिति प्रणाली रहेका थिए ।

यस्तै यस वर्षको जगदम्बा–श्री सम्मान दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको छ । साहित्यकार श्रेष्ठ बनारसबाट प्रकाशित हुने उदय पत्रिकाका सम्पादक हुनुहुन्छ ।

८२ वर्षका श्रेष्ठले कथा, कविता, उपन्यास, निबन्ध र समालोचनामा कलम चलाउँदै आउनुभएको मदन पुरस्कार गुठीले जनाएको छ ।

गुठीले २०१३ सालदेखि मदन पुरस्कार र २०४५ सालदेखि जगदम्बा–श्री सम्मान प्रदान गर्दै आएको छ । दुवै पुरस्कारको राशि चार लाख नगदसहित सम्मानपत्र रहेको छ ।

Facebook Comments Box
TOP