स्याङ्जा :अत्यावश्यक पसलहरु दिउसो खुल्ने, किसानका उत्पादन ढुवानी बिहानसाँझ गर्न पाईने

Syangja_district

आँधीखोला खबर/स्याङ्जा :
स्याङ्जामा अत्यावश्यक सेवा अन्तरगतका खाद्य सामाग्री लगायतका पसलहरु दिउसो खुल्ने भएको छ भने किसानका उत्पादनहरु दुध तथा तरकारी लगायतको ढुवानी भने बिहान र साँझ गर्न पाईने भएको छ ।
कोेरोना भाईरसको रोकथामका लागि देश नै लकडाउन भईरहेको अवस्थामा भिडभाड कम र नियन्त्रीत गर्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।
आज बसेको कोभिड नाईन्टिन कमाण्ड पोष्टको बैठकले अति आवश्यक सेवाका पसलहरु व्यवस्थित रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाका अनुशार खाद्य, किराना, तरकारी, फलफूल, कृषि तथा पशुजन्य दैनिक उपभोग्य सामग्रीका पसलहरु मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म खुला राखी विक्री वितरण गराउने निर्णय गरेको छ । त्यस्तै दुध, तरकारी लगायतका किसानहरुद्वारा उत्पादित कृषि तथा पशुजन्य सामग्रीहरुको ढुवानी विहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म गर्ने तथा गराउने निर्णय गरेको छ ।
अत्यावश्यक सेवा मध्येका वैड्डिङ सेवामा कार्यरत कर्मचारीलाई सम्बन्धित बैंकले जारी गरेको परिचयपत्र र कार्यक्षेत्रमा खटाएको बैकको पत्रको आधारमा सवारी चलाउन अनुमति दिने तर यात्रु ओसारपसार गर्न नदिने तथा पेट्रोल पम्प सञ्चालन गर्नेलाई आवश्यकतानुसार सवारी पास उपलब्ध गराउने निर्णय गरेको छ ।
बैठकले अत्यावश्यक सेवा, खाद्यान्न, औषधी, खानेपानी, इन्धन, तरकारी, फोहोरमैला लगायत तोकिएका सवारी साधनहरुलाई सवारी पासको आवश्यकता नपर्ने तर उक्त सवारी साधनमा चालक र सहचालक मात्र बस्न पाउने, यात्रु ओसारपसार गर्न कडाईका साथ नियन्त्रण गर्ने निर्णय गरेको सहायक प्रजिअ धु्रव गिरीले जानकारी दिनुभयो ।
यस्तै स्वास्थ्यकर्मीहरुलाई सम्बन्धित पालिका वा कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा सवारी साधन चलाउन अनुमति दिने तर कर्मचारीले अन्य यात्रु ओसारपसार गर्न नपाउने बताइएको छ ।

.

यो पनि पढ्नुहोस् :

Facebook Comments Box
TOP