सुशासनसहितको ‘स्मार्ट सिटी’ बनाउन २६ बूँदे प्रतिबद्धता

Waling Nagarapalika

आँधीखोला खवर/ वालिङ :
स्याङ्जाको वालिङ नगरपालिकालाई सुशासनसहितको ‘स्मार्ट सिटी’ बनाउनका लागि २६ बूँदे प्रतिबद्धता ब्यक्त गरिएको छ ।
वालिङ नगर कार्यपालिकाको आयोजनामा स्थानीय सरकार सञ्चालन तथा नेतृत्व विकाससम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रमको समापनसँगै २६ बूँदे प्रतिबद्धता ब्यक्त गरिएको हो ।

सर्वोच्च अदालतका पूर्व रजिष्टार तथा प्रशासकीय अदालतका अध्यक्ष काशिराज दाहालले सहजीकरण गर्नुभएको अभिमुखीकरणमा नगर कार्यपालिकाको तर्फबाट नगर प्रमुख दिलीपप्रताप खाँणले वालिङलाई सुशासनसहितको २६ बूँदे ‘स्मार्ट सिटी’ बनाउने प्रतिबद्धता जनाउनुभएको हो ।
वालिङ नगरपालिकाद्वारा स्मार्ट वालिङको अवधारणाभित्र रहेर आवधिक योजना बनाई लागू गर्ने, नगरपालिकाद्वारा निर्मित नियमावली, कार्यविधि र निर्देशिकालाई अक्षरशः कार्यान्वयन गर्ने, स्थानीय तह भित्रको समग्रमा विकासका निम्ति आवश्यक गुरुयोजना बनाई त्यसलाई प्रभावकारीरुपमा लागू गर्ने, वार्षिक बजेट र योजना बनाउँदा स्थानीय आवश्यकतालाई बढी जोड दिने, पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माण गरी पर्यटन प्रवर्धन गर्ने, स्थानीय तह अन्तर्गतका ताल, तलैया, पोखरी र धार्मिक एवम् ऐतिहासिक स्थलहरुको संरक्षण र सम्बद्र्धन गर्ने, प्रत्येक वडामा पार्क निर्माण, बृक्षारोपण, फोहोरको उचित ब्यवस्थापन, बालमैत्री नगर बनाउनेसहितका २६ बूँदाहरु समेटिएको छ ।


“स्थानीय सरकारकोरुपमा रहेको वालिङ नगरपालिकालाई ‘स्मार्ट नगर’ को रुपमा विकास गर्नका लागि हामी प्रतिबद्ध छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “अभिमुखीकरणबाट प्राप्त भएका सुझावहरुलाई नगर कार्यपालिकाको सम्पत्तिकोरुपमा लिई यसलाई आगामी नीति तथा कार्यक्रममा समावेश गरी अक्षरशः पालना गर्ने छौं ।”
वालिङ नगरपालिका तथा यस अन्तर्गतका ईकाइहरुले अधिकारको दुरुपयोग नगरी आर्थिक सुशासन कार्य राख्ने, स्थानीय स्तरमा सुशासनको प्रवद्र्धन गर्दै पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचार र अनियमितताको रोकथाम र नियन्त्रण गरी सुशासन कायम गर्ने नगर प्रमुख खाँणको भनाई थियो ।
“बोलेर भन्दा पनि काम गरेर देखाउनुपर्ने बेला हाम्रो सामू छ” नगर प्रमुख खाँणले भन्नुभयो, “सबै एकताबद्ध भएर कार्य गरांै जुन भोलिका दिनमा काम आँफै बोल्ने बनाउनु छ ।”
सबै नगरबासी सकारात्मक सोंचका साथ सिकाई अनुभवलाई कार्यान्वयनमा जोडेर वालिङलाई स्मार्ट नगरको रुपमा विकास गर्न सकिने प्रशासकीय अदालतका अध्यक्ष दाहालले धारणा राख्नुभयो ।

जनप्रतिनिधि तथा कर्मचारीले नीति निर्माण तथा विकासका लागि सामूहिक प्रतिबद्धता गरेसँगै यसको कार्यान्वयनका लागि थालनी गर्नुपर्नेमा जोड दिनुभयो ।

वालिङ नगरपालिका अन्तर्गतको न्यायिक समितिले बढीभन्दा बढी मेलमिलापको प्रक्रियाद्वारा विवाद समाधान गर्ने गराउने गरेको नगर उप प्रमुख एवम् न्यायिक समिति संयोजक कल्पना तिवारीले बताउनुभयो ।


वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणको सभापतित्वमा सम्पन्न समापन समारोहको सञ्चालन स्वास्थ्य शाखाका मणि पंगेनीले र स्वागत १ नं. वडा अध्यक्ष एवम् नगर प्रवक्ता केदार काफ्लेले गर्नुभएको थियो ।
अभिमुखीकरण कार्यक्रममा प्रशासकीय अदालतका अध्यक्ष काशिराज दहाल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिवद्वय प्रल्हादकुमार कार्की, विष्णुदत्त गौतम, योगविद डा. राजु अधिकारी, प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले सहजीकरण गर्नुभएको थियो ।

Facebook Comments Box
TOP