केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
स्याङ्जा :
नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको छ। राजनीतिसँगै बैंकिङ, सहकारी, कृषि, उद्यम, बालबालिका संरक्षण र वातावरणका क्षेत्रमा लामो समयदेखि सक्रिय ढकालले आफ्नो बहुआयामिक अनुभवलाई पार्टीको नीति निर्माण र मुलुकको आर्थिक रूपान्तरणसँग जोड्ने उद्देश्यसहित उम्मेदवारी अघि सार्नुभएको हो।
स्याङ्जाको आँधीखोला गाउँपालिका–६, फापरथुमका ढकाल विद्यार्थी राजनीतिबाट कांग्रेसको यात्रामा जोडिनुभएको हो। १०औँ महाधिवेशनदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै आउनुभएका उहाँ संगठनसँगै सामाजिक र आर्थिक क्षेत्रमा समेत निरन्तर क्रियाशील हुनुहुन्छ। कांग्रेसमा नयाँ पुस्ताको सहभागिता र व्यावसायिक क्षेत्रबाट प्राप्त अनुभवलाई नीतिनिर्माणमा जोड्ने उद्देश्यले आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको ढकालको भनाइ छ। ढकालको सामाजिक तथा उद्यमशील यात्राको सुरुवात बालबालिका संरक्षणको अभियानबाट भएको देखिन्छ। २०५७ सालमा अनाथ तथा गरिब बालबालिकाको संरक्षणका लागि स्याङ्जामा सहारा बालगृह स्थापना गरेका उहाँ २०५९ सालमा रोयल सहकारी स्थापना गरी सहकारी अभियान अघि बढाउनुभयो। त्यसपछि २०६३ सालमा मुक्तिनाथ विकास बैंक स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै उहाँ नेपालको वित्तीय क्षेत्रमा स्थापित हुनुभयो।
वित्तीय क्षेत्रसँगै कृषि र रोजगारी सिर्जनालाई प्राथमिकता दिएका ढकालले पछिल्लो एक दशकदेखि मुक्तिनाथ कृषि कम्पनीमार्फत कृषि उत्पादन, मूल्य–श्रृंखला विकास र रोजगारी सिर्जनाको अभियान सञ्चालन गर्दै आउनुभएको छ। औद्योगिक विकाससँगै वातावरणमा परेको प्रभावका विषयमा समेत उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पक्षमा आवाज उठाउँदै आउनुभएको छ। उहाँ नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाका संस्थापक सदस्यमध्ये एकसमेत हुनुहुन्छ। राजनीतिक रूपमा पनि निरन्तर सक्रिय रहेका ढकाल जेनजी आन्दोलनपछि भएको कांग्रेसको विशेष महाधिवेशनमा सक्रिय हुनुहुन्थ्यो। प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा उहाँ स्याङ्जा क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका उम्मेदवारसमेत बन्नुभएको थियो। ढकालले आफ्नो उम्मेदवारीलाई केवल पार्टीको पद प्राप्त गर्ने प्रयासका रूपमा नभई समाज र अर्थतन्त्रका विविध क्षेत्रका समस्यालाई नीतिगत तहबाट सम्बोधन गर्ने अवसरका रूपमा व्याख्या गर्नुभएको छ। बालबालिकाको पोषण, युवाको शिक्षा र रोजगारी, ज्येष्ठ नागरिकको स्वास्थ्य, निजी क्षेत्रका समस्या तथा मुलुकको आर्थिक अवस्थालाई सुधार गर्ने विषयलाई उहाँले आफ्नो प्राथमिकतामा राख्नुभएको छ।
‘विभिन्न क्षेत्रमा हासिल गरेको अनुभव र क्षमतालाई अब पार्टीको नीति निर्माण तथा देशको समग्र विकासमा उपयोग गर्न चाहन्छु,’ ढकालले भन्नुभयो, ‘बालबालिकादेखि युवासम्म, ज्येष्ठ नागरिकदेखि निजी क्षेत्रसम्मका समस्या नीतिगत रूपमा समाधान गर्ने गरी क्षमताले भ्याएसम्म काम गर्नु मेरो उद्देश्य हो।’ ढकालको उम्मेदवारीले कांग्रेसको केन्द्रीय नेतृत्वमा राजनीतिक अनुभवसँगै उद्यम, वित्त, कृषि, सामाजिक सेवा र वातावरणका क्षेत्रमा काम गरेका व्यक्तिको प्रतिनिधित्वको बहसलाई समेत जोड दिएको छ। विभिन्न क्षेत्रमा काम गरेर प्राप्त व्यावहारिक अनुभवलाई राजनीतिक नीतिसँग जोड्ने उनको प्रयासले कांग्रेसको संगठनात्मक तथा नीतिगत बहसमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क…


