२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए

स्याङ्जा :  स्याङ्जाको वालिङ नगरपालिका–१ खत्रीखोलास्थित एक घरको पालीमा विगत २५ वर्षदेखि भिरकोटको छाङछाङदी मन्दिरमा बस्दै आएका एक साधु मृत अवस्थामा फेला परेका छन्।

सोमबार बिहान करिब ०७:३० बजेको समयमा स्थानीय कृष्ण प्रसाद ढकालको घरको टिनको पालीमा सुतिरहेको अवस्थामा साधु मृत भेटिएका हुन्।

मृत्यु हुनेमा भारतको तमिलनाडु प्रदेश, कोहमवोटुर जिल्ला, गुलुमलाइ घर भई विगत २५ वर्षदेखि स्याङ्जाकै भिरकोट नगरपालिका–४ स्थित प्रसिद्ध छाङछाङदी मन्दिरमा रहँदै आएका ५५ वर्षीय कुमार स्वामी (पातली) रहेका वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) प्रताप पौडेलले जानकारी दिनुभयाे ।

स्थानीय टिन बहादुर रानाले घटनाबारे जानकारी गराउनासाथ वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) प्रताप पौडेलको कमाण्डमा SOCO (अपराध स्थल तस्विर तथा प्रमाण संकलन) टोलीसहित ७ जनाको प्रहरी टोली घटनास्थलतर्फ पुगेर अनुसन्धान गरिरहेकाे छ ।

 प्रारम्भिक सोधपुछका क्रममा मृतकले अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको बुझिएको प्रहरीले जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Facebook Comments Box
TOP