नेपाली कांग्रेस स्याङ्जाद्वारा चुनावी संकल्प पत्र सार्वजनिक 

वालिङ :

नेपाली कांग्रेस स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरि चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ । आइतबार नेपाली कांग्रेस स्याङ्जाले एक कार्यक्रम आयोजना गरि नेपाली कांग्रेस स्याङ्जाको तर्फका उम्मेदवारहरुको संकल्प पत्र सार्वजनिक गरेको हो । पार्टीको मुल सिद्धान्त राष्ट्रियता, लोकतन्त्र, समाजवादलाई शिरोधार्य गर्दै जिल्लाको समग्र विकास र जनताको मुद्दाहरुलाई सम्बोधन गर्नका लागि जिल्लाका उम्मेदवारहरुको तर्फबाट सामुहिक  प्रतिवद्धता पत्र ल्याइएको हो ।

संकल्प पत्रमा पहिलो सदन पहिलो आवाज जेन्जी आन्दोलन र यसले उठाएका न्यायपुर्ण मुद्दाहरूको पक्षमा हुने र परिणाममुखी बनाउने, पुर्वाधार विकास तर्फ सिद्धार्थ राजमार्गलाई डेडिकेटेड टुलेन बनाउने कार्य सम्पन्न गर्ने, अन्तर प्रदेश जोड्ने रणनैतिक सडकहरू, अन्तर जिल्ला जोड्ने सहायक सडक, अन्तर पालिका जोड्ने सडकलाई प्राथमिकताका आधारमा सम्पन्न गर्दै जाने, जलाशय, ग्रामीण सडक, एक घर एक खानेपानी, एक पालिका एक खेलमैदान र कभर्डहल निर्माण, कृषि पकेट क्षेत्रहरूमा सिंचाइ सुविधाका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने, कृषितर्फ कृषि सुपरजोन अवधारणा विकास गर्दै कृषि प्रभावित क्षेत्रमा सहज यातायातको व्यवस्था गर्ने, कृषकका सन्तानलाई विशेष कृषक छात्रवृत्तिको व्यवस्था गर्ने, कृषकलाई सहुलियत ऋण, कृषि तथा कृषक विमा लगायतलाई विशेष प्राथमिकता दिने उल्लेख छ ।
यस्तै शिक्षा तर्फ साक्षरतासंगै नैतिक शिक्षा, सिटिइभिटी र प्राविधिक धारका विद्यालयहरुको पूर्वाधार स्तरोन्नति, सिपमुलक तालीमहरु, हरेक स्थानीय तहका वडाहरुमा विशेषज्ञ  सहितको प्राथमिक स्वास्थ्य क्लिनिक, अनिवार्य स्वास्थ बीमा योजना लागू गर्ने, सुविधा सम्पन्न प्रदेश तथा स्थानीय तह अस्पताल बनाउन भौतिक पूर्वाधार, शैया, उपकरण र जनशक्ति थप गर्ने, बृहत् कृषि, वन, तथा पर्यटन उद्योग परियोजना मार्फत नवप्रवर्तन (स्टार्ट अप) ईकाईहरुको सघन विकास र बिस्तार गरि स्वरोजगार सिर्जना गर्ने, विश्व प्याराग्लाइडिङको जननी स्वरेक मैदानलाई अन्तर्राष्ट्रिय प्यारा-प्रशिक्षण केन्द्र बनाउने, महिला सशक्तीकरणका लागि आयआर्जनका कार्यक्रमहरु विकास गरि कार्यान्वयन गर्ने लगायत जेष्ठ नागरिकका सीप तथा अनुभव पुस्तान्तरण, सामाजिक सुरक्षा, धार्मिक भ्रमण, गरिब, निमुखा, विपन्न वर्गको आर्थिक तथा सामाजिक समस्या समाधान गर्न राहत कोष खडा गरि सहयोग गर्ने जस्ता थुप्रै कुराहरू संकल्प पत्रमा उल्लेख गरिएको छ ।

कार्यक्रममा प्रतिनिधि सभा स्याङ्जा क्षेत्र नं २ का उम्मेदवार भागवत प्रकाश मल्लले नागरिकहरु पछिल्लो समय सानातिना विकासका कार्यप्रती इच्छुक हुने गरेको भन्दै यतिबेला देश विषम परिस्थितिमा गुजि्ररहेको अवस्थामा देशको अस्तित्व र शाख जोगाउनका लागि लाग्नुपर्ने बेला आएको बताउनुभयो । नेपाली कांग्रेस सुशासन, भ्रष्टाचारमुक्त राष्ट्र र जेन्जीका मागहरूलाई सम्बोधन गर्न प्रतिवद्ध रहेको उहाँको भनाइ थियोे । यस्तै नेपाली कांग्रेस जिल्ला सभापति एवम् पुर्व सांसद राजु थापाले नेपाली कांग्रेस स्याङ्जाको एकताले देशैभरी एकखालको सन्देश दिएको भन्दै नेपाली कांग्रेस एक ढिक्का भएर अगाडि बढेको र जेन्जीको माग अनुसार युवा नेतालाई भावी प्रधानमन्त्रीको रुपमा गगन थापालाई अगाडि सारिएको उहाँले बताउनुभयो । नेपाली कांग्रेस रुपान्तरण भएको भन्दै जनता मुद्दा बोक्ने पार्टी भएकाले कांग्रेसले विकास निर्माणमा खेलेको भुमिका जनताले भुल्न नहुने उहाँको भनाइ थियो । कार्यक्रममा समानुपातिक उम्मेदवार माया रानाले नेपाली कांग्रेस को गर्भिलो इतिहासलाई हेर्न आग्रह गर्दै स्याङ्जाको विकासमा विगत देखि नै नेपाली कांग्रेस लागिपरेको र आगामी दिनमा समेत निरन्तर खटिरहने बताउनुभयो ।

Facebook Comments Box
TOP