स्याङ्जामा प्याजको मुल्य दोब्बर ।
वालिङ :
स्याङ्जामा प्याजको मूल्य दोब्बरले बढेको छ । गएको हप्ता प्रतिकेजी ६० देखि ६५ रुपैयाँसम्म रहेको प्याजको मूल्य पछिल्लो दिन प्रतिकेजी एक सयदेखि एक सय १० रुपैयाँसम्म बिक्री गरिएको छ ।
६० रुपैयाँदेखि ६५ रुपैयाँसम्म खरिद गरेको प्याजको मूल्य एक्कासी बृद्धि भएपछि स्थानीय उपभोक्ता मारमा परेका छन् । एक हप्तादेखि जिल्लामा प्याज नभित्रिएको मौका छोपी स्थानीय बिक्रेताले मनोमानी रुपमा प्याजको मूल्य बढाएर बिक्री गर्दै आएको उपभोक्ताहरुले गुनाशो गरेकाछन् ।
गत शनिबारदेखि भारतको सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एन्ड कस्टमले प्याज निकासीमा ४० प्रतिशत निर्यात महसुल लगाएपछि बिक्रेताले गोदामै रहेको प्याजको मूल्य एकाएक बढाएका हुन् । व्यवसायीले एकलौटी रुपमा मूल्य बढाएका उपभोक्ताको आरोप छ । जिल्लामा दैनिक कति प्याज खपत हुन्छ कुनैपनि निकायसँग त्यो एकिन तथ्याङ्क छैन् ।
केहि दिन अघि चामलको मूल्य बृद्धि गरेर उपभोक्तालाई मारमा पारेका व्यवसायीले फेरि प्याजको मूल्य बढाएर उपभोक्तालाई आक्रान्त बनाएको राष्ट्रिय उपभोक्ता मञ्च स्याङ्जाको अध्यक्ष राजेन्द्र मरासिनीले बताउनु भयो । पछिल्ला दिन खाद्यान्न बिक्रीवितरणमा बिचौलिया र कालोबजारी गर्नेहरु मौलाएको उहाँको आरोप छ ।
व्यवसायीले मनोमानी रुपमा खाद्य वस्तुमा एकपछि अर्को मूल्य बृद्धि गरेपनि बजार अनुगमनको अख्तियार प्राप्त स्थानीय निकाय चुपचाप छ । बजार अनुगमन गर्दै अस्वभाविक मूल्य बृद्धिलाई रोक्नुपर्ने निकाय नै चुपचाप भएपछि उपभोक्ता मूल्य बृद्धिको चपेटामा पर्दै आएको मञ्चका अध्यक्ष मरासिनीले गुनाशो गर्नुभयो ।
स्थानीय पालिकाले पाएको अनुगमन तथा दण्ड जरिवानाको अधिकारलाई कडाईका साथ कार्यान्वयनमा नल्याएसम्म उपभोक्ता मुल्य बृद्धिको चपेटामा निरन्तर पर्ने मरासिनीको भनाई छ । बजारबाट आएको मूल्य बृद्धिको गुनासोलाई मध्यनजर राख्दै आवश्यकताको आधारमा बजार अनुगमन गर्ने पालिकाहरुले जनाएका छन् ।
करिब एक हप्ताअघि प्रतिकेजी ६४ रुपैयाँमा खरिद गरेको प्याज पछिल्लो दिन एक सय १० रुपैयाँसम्म बिक्री गर्दै आएको स्थानीय व्यवसायीले बताए । केहि दिनदेखि बजारमा प्याज नआएपनि गोदामै रहेको प्याज बिक्री गर्दै आएको उनले सुनाए ।
अस्वभाविक रुपमा प्याजको मूल्य बृद्धि गरिएको जानकारी आएकाले तत्काल बजार अनुगमन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाका पुतलीबजार, बयरघारी, वालिङ र गल्याङ् बजारका व्यवसायीले मनोमानी रुपमा प्याजको मूल्य बढाएको स्थानीय उपभोक्ताले आरोप लगाए । ग्रामीण बजारको तुलनामा शहरी क्षेत्रका व्यवसायीले अचाक्ली मूल्य बढाएको उनीहरुले बताए ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


