हलेसी तुवाचुङ नगरपालिकाद्वारा कक्षा १२ सम्म निःशुल्क शिक्षा लागू ।
काठमाण्डौ:
जिल्लामा पढ्नका लागि चर्को शुल्क खेप्नुपरेको अवस्थामा हलेसी तुवाचुङ नगरपालिकाले भने कक्षा १२ सम्म निशुल्क शिक्षा लागू गरेको छ । यसै शैक्षिक सत्रबाट नगरपालिकाले निःशुल्क शिक्षा लागू गरेको हो ।
उक्त नगरपालिकाले कार्यविधि नै पारित गरी कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरिएको नगरप्रमुख विमला राईले बताइन् । ‘परीक्षा व्यवस्थापन तथा शून्य शुल्क कार्यान्वयन कार्यविधि २०७९’ पारित गरेर नगरक्षेत्रभित्रका सबै मावि तहका विद्यालयमा निःशुल्क शिक्षा सुरु गरिएको राईले सुनाइन् ।
‘हामीले नगरक्षेत्रभित्रका सबै बालबालिकालाई शिक्षामा सहज पहुँच विस्तार गर्न कार्यविधि नै पारित गरेर निःशुल्क शिक्षा सुरु गरिएको छ ।’ राईले भनिन्–‘नगर क्षेत्रभित्रका १२ माविमध्ये कक्षा १२ सञ्चालन भएका १० वटा विद्यालयमा निःशुल्क शिक्षा सुरु गरिएको हो ।’
हलेसी तुवाचुङ नगर शिक्षा शाखाका प्रमुख पदमबहादुर कार्कीका अनुसार हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडाँको मालिकादेवी मावि, वडा नं–३ च्यास्मिटारको च्यास्मिटार मावि, वडा नं–४ बडहरेको लक्ष्मी मावि, वडा नं–५ दुर्छिमको दुर्छिम मावि, वडा नं–६ मङ्गलटारको पिपलडाडाँ देविस्थान मावि, वडा नं–७ हलेसी महादेवस्थानको महेन्द्रोदय मावि, वडा नं–८ धितुङको बुलापन्थे मावि, वडा नं–९ सल्लेको जनता मावि, वडा नं–१० अर्खौलेको सरस्वती मावि र वडा नं–११ राजापानीको ज्योति माविमा कक्षा १२ सम्म निःशुल्क शिक्षा सुरु गरिएको हो ।
यो भन्दाअघि कक्षा–११ र १२ पढ्नका लागि ३५ सयदेखि छ हजार रुपैयाँसम्म वार्षिक रुपमा शुल्क बुझाउँनु पर्ने वाध्यताको अन्त्य गर्दै यो वर्षदेखि निःशुल्क शिक्षा सुरु गरिएको कार्कीको भनाई छ । गत शैक्षिक सत्रमा उक्त नगरपालिकामा कक्षा–११ र १२ मा तीन सय १७ विद्यार्थी थिए । यो शैक्षिक सत्रमा कक्षा–११ मा गत वर्षको भन्दा विद्यार्थीको संख्या बढ्ने अनुमान गरिएको कार्कीले बताए । उनका अनुसार यो वर्ष एसईई गर्नेको संख्या तीन सय ८३ जना छन् । यी सबै विद्यार्थी नगरक्षेत्रभित्रैका विद्यालयमा अध्ययन गर्ने देखिएको कार्कीले बताए ।
समाचार
थप सामाग्री
पद्मा अर्याल सहित को – को परे एमाले बाट समानुपातिकमा
४ दिन अगाडि
काठमाडाै : नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले…


