स्याङ्जा : पिउने पानीमा ‘कोलिफर्म’

स्याङ्जा, साउन १८ गते ।

स्याङ्जामा पिउने पानीमा मानव स्वास्थ्यका लागि हानिकारक दिसामा देखिने जीवाणु ’कोलिफर्म’ अत्यधिक मात्रामा भेटिएको छ । जिल्लामा रहेका ११ वटा पालिकाबाट लिएको ९४ वटा नमुना परीक्षणमा ४१ वटामा ‘कोलिफर्म’को कीटाणु देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख वसुन्धरा शर्माले जिल्लाका सबै पालिकाका मूल मुहान, ट्याङ्की, धारा र घरबाट पानीको नमुना सङ्कलन गरी परीक्षण गर्दा पानीमा दिसामा हुने कोलीफर्मको कीटाणु अध्याधिक मात्रा पाइएको बताउनुभयो । उहाँले सार्वजनिक, व्यक्तिगत र संस्थागत धाराहरूबाट समेत पानीका नमुना परीक्षण गरिएको बताउनुभयो ।

पालिकाकाका सबैभन्दा बढी बिरुवा गाउँपालिकामा ६६.६ प्रतिशत र सबैभन्दा कम पुतलीबजार नगरपालिकामा ३१.२५ प्रतिशत कोलिफर्मको मात्रा देखिएको हो । चापाकोट नगरपालिकामा ६२.६ प्रतिशत, फेदिखोला र हरिनास गाउँपालिकामा ५०.५० प्रतिशत, भीरकोट नगरपालिकामा ४६.१ प्रतिशत, अर्जुनचौपारी गाउँपालिकामा ४० प्रतिशत कोलिफर्म देखिएको हो ।

गल्याङ् नगरपालिकामा ३८ प्रतिशत र वालिङ् नगरपालिका, आँधीखोला र कालीगण्डकी गाउँपालिकामा पनि सबैमा ३७.५/३७.५ प्रतिशत कोलीफर्मका कीटाणु भेटिएको शर्माले बताउनुभयो । कार्यालयले पुतलीबजार र कालीगण्डकीमा १६/१६, भीरकोटमा १३, चापाकोट, वालिङ, आधीखोलामा आठ/आठ, विरुवा र गल्याङ्मा छ/छ, अर्जुनचौपारीमा पाचँ, फेदिखोला र हरिनासमा चार ÷चार वटा खानेपानीका नमूना सङ्कलन गरी ल्याब परीक्षण गरेको थियो ।

गत वर्षको तुलनामा पानीको शुद्धता प्रतिशत केही बढे पनि यो सुखद नतिजा भने नभएको बताउदै प्रमुख शर्माले पानीलाई छान्ने, उमाल्ने, औषधिकफ प्रयोग वा अन्य विधिबाट शुद्धीकरण गरेर मात्र पिउनुपर्ने बताउनुभयो ।

गत आर्थिक वर्षमा जिल्लाका सबै पालिकाबाट खानेपानीको ५२ वटा नमसना परिक्षण गरिएकोमा ५२ प्रतिशत कोलिफर्म भेटिएको थियो । कोलीफर्मयुक्त पानी सेवनले झाडापखाला, टाइफाइड जस्ता सरुवा रोग लाग्नुका साथै मिर्गौलालाई पनि नकरात्मक प्रभाव पार्ने गर्दछ ।

पुतलीबजारका उपभोक्ता रोशन लामिछानेले वर्षासँगै पानीजन्य सङ्क्रामक रोगहरु बढ्न थालेकाले पिउने पानी कति शुद्धता रहेको छ पहिचानसहित उपभोग गर्न पाउनुपर्ने बताउनुभयो । -गोरखापत्र अनलाईन

Facebook Comments Box
TOP