हट्यो कर्फ्यू, सामान्य बन्दै स्याङ्जा

राधाकृष्ण डुम्रे

वालिङ (स्याङ्जा), भदौ २६ गते । नव युवापुस्ता ‘जेनजी’ ले सुरु गरेको शान्तिपूर्ण प्रदर्शनले हिंसात्मक रूप लिन थालेपछि अशान्त बनेको स्याङ्जा सामान्य बन्दैगएको छ । पसलहरु पूर्णरुपमा खुलेका छन् भने नीजि सवारी साधनहरु चल्न थालेका छन् ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले हिजो मध्यान्हबाट लगाएको कफ्र्यु आज बिहान ६ बजेबाट हटाएको छ । अव कर्फ्यू लाग्ने वा नलाग्ने अवस्था हेरेर निर्णय गर्ने पमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जिल्लाको अवस्था सामान्य हुँदै गएको छ, आज दिनभर उच्च सतकर्ता अपनाइने छ, त्यसपछि आवश्यक्ता अनुसारको निर्णय लिइनेछ” नेपाल आर्मीले जिल्लामा हुने संकास्पद क्रियाकलापहरु नियन्त्रण गर्न प्रयास गर्ने उहाँको भनाइ छ ।

देशभर निशेधाज्ञा जारी रहेकाले भेला हुन वा सभा जुलुस गर्न भने प्रतिबन्ध रहेको प्रजिअ अर्यालको भनाइ छ ।

पार्टी कार्यालय र पालिकामा तोडफोड 

युवाहरुले नेपाली कांग्रेस, नेकपा (एमाले) को जिल्ला सदरमुकाममा रहेको पार्टी कार्यालयमा मङ्गलबार तोडफोड गरेका थिए । यस्तै, रास्वपाले आफ्नो व्यानर तथा बोर्ड आफै हटाएको थियो । युुवाहरुले आफ्नै भवन रहेका दुई पार्टीको कार्यालयमा क्षति गरेका हुन् ।

यस्तै, पुतलीबजार नगरपालिकाको कार्यालयमा युवाहरुले तोडफोड गरेका छन्, ढुङ्गा प्रहारबाट कार्यालयका सिसाहरु फुटेका प्रहरीको भनाइ छ । यस्तै, कालीगण्डकी गाउँपालिकाको कार्यालयमा केपी शर्मा ओलीले उद्घाटन गरेको शिलालेख तोडफोड गरेका छन् । कार्यालयमा भने कुनै क्षति नपुगेको पालिकाले जनाएको छ ।

आफूहरुले संयमता अपनाएका कारण ठूलो क्षति हुन नपाएको युवाहरुले बताउँदै आएका छन् । युवाहरुले मङ्गलबार र बुधबार जिल्लाभर प्रदर्शन गरेका थिए ।

पालिका कार्यालय अनिश्चितकाल बन्द 

जिल्लामा रहेका सबै पालिकाहरु बन्द छन् । ११ पालिका रहेको स्याङ्जाका धेरै पालिकाहरुले सूचना नै निकालेर अनिश्चितकालको लागि बन्दको घोषणा गरेका छन् । कतिपय आफै बन्द भएका छन् । तोडफोड हुने डर र कर्मचारीहरु अन्यौलमा परेका कारण कार्यालय खुल्न नसकेको पालिकाहरुको भनाइ छ ।

स्थानीय तह स्थायी सरकार भएकाले सेवा निरन्तर गर्नको लागि सहजीकरण गर्ने काम भइरहेको प्रजिअ अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकलाई सेवाबाट रोक्न नमिल्ने भएकाले स्थायी सरकारको सेवा निरन्तर रहन्छ, हामीले सहजीकरण गर्दैछौं ।”

अत्यावस्यक सेवा नियमित 

स्वास्थ्य, खानेपानी लगायतका अत्यावश्यक सेवामा कुनै अवरोध नरेहेको जिल्ला प्रशासनले जनाएको छ । प्रशासनले कुनै समस्या आए तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ ।  gorkhapatra online

Facebook Comments Box
TOP