बानेथोक भञ्ज्याङका घरघरमा धारा
प्रकाश डोटेल/स्याङ्जा :
स्याङ्जाको भीरकोट नगरपालिका–३ बानेथोक भञ्ज्याङ्की पूर्णकला एसके उमेरले ५५ पुगिन् । ५५ वर्षको उमेर कटाएकी एसकेलाई पानीको चिन्ताले कहिल्यै छाडेन् । छोराछोरी हुर्केबढे, दुःख सुख कमाई खाने भएपनि उनलाई पानीको पिरलो थियो नै । बिहान सबेरै पानी बोक्न खोल्साखोल्सी र कुवा खोज्दै हिड्नुपर्ने बाध्यता पछिल्लो समय हटेर गएको उनले सुनाईन् ।
एसकेको त्यो चिन्ता र पिरलो सानो खोल्सा लिफ्टिङ् खानेपानी योजनाले अन्त्य गरिदिएको छ । अहिले घरघरमा मिटरसहित धारा जडान भएपछि उनी खुशी छन् । स्थानीय ४७ वर्षीय सिता दमै पानी बोक्ने दुःखका दिन सम्झदै भन्छिन, ‘पहिले अतिनै गाह्रो थियो, डोकोमा पानी बोकेर एक घण्टासम्म पैदल हिड्नुपथ्र्यो अहिले त आँगनमै पानी थाप्न पाइएको छ ।’
योजनाबाट बानेथोक भञ्ज्याङ्का १ सय ५० घरपरिवारका झण्डै ५ सय सदस्यमा खुशी छाएको छ । गण्डकी प्रदेश सरकार, भीरकोट नगरपालिका र जनश्रमदानबाट सानो खोल्सा लिफ्टिङ् खानेपानी योजना सम्पन्न भएपछि गाउँका करिब १ सय ५० घरधुरीमा शुद्ध खानेपानीको सुविधा पुगेको छ ।
गाउँमा पानी वितरण गर्न ५ वटा टंकी निर्माण गरिएको छ । १५ हजारका ३ वटा, २५ हजार र अर्काे ३० हजार लिटर क्षमताका पानी टंकी निर्माण भएका छन् । भीरकोट नगरपालिका नगर प्रमुख गोविन्द कुमार कर्मार्चायले खानेपानी योजना सम्पन्न गर्न ७ वर्ष लागेको सुनाए । उनले भने, ‘भञ्जाङ्मा अधिकांश दलित र जातजातिको बाक्लो बस्ति छ, योजनाबाट उनीहरु नै लाभान्वित भएका छन् ।’
नगर प्रमुख कर्माचार्यले सानो खोल्सा लिफ्टिङ् आयोजना पालिकाको गौरवको आयोजना भएकाले प्राथमिकताका साथ बजेट विनियोजन गरेको बताए । आर्थिक र प्राविधिक कारणले ढिला भएपनि स्थानीयको खानेपानी समस्या समाधान गर्न आफुहरु सफल भएमा कर्माचार्य पनि उत्तिकै खुसि छन् । २ सय मिटर भर्टीकल र ७ सय ५० मिटर होरिजेन्टल उचाइमा सानो खोल्सा मुहानबाट पानी लिफ्टिङ् गरेर गाउँमा वितरण गरिएको छ ।
भीरकोट नगरपालिकाले २०७५ सालमा शुरु गरेको योजनामा नगरपालिकाको करिब १ करोड लगानी भएको नगरपालिकाका योजना शाखा प्रमुख यामप्रसाद रेग्मीले बताए । गौरवको आयोजना भएकाले ७ वर्षसम्म निरन्तर बजेट विनियोजन गरेको योजनामा प्रदेश सरकार र स्थानीयको जनश्रमदान गरी झण्डै २ करोड लगानी भएको रेग्मीले जानकारी दिए ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालयद्धारा ६ करोड ७० लाख बजेट लाग्ने अनुमान गरिएको योजना स्थानीय सरकारले करिब २ करोडमै सम्पन्न गरेको छ । निवर्तमान नगर प्रमुख छायाँराम खनालले बजेट लागत अनुमान धेरै भएपछि समयमा सम्पन्न नहुने ठानेर स्थानीय सरकारकै पहल र लगानीमा खानेपानी योजना सुरू गरेको सुनाए ।
खानेपानी कार्यालय र नगरपालिकाको पहलमा बानेथोककै सानीचौर दलित बस्तीका करिब ६० घरपरिवारमा खानेपानीको सुविधा पु¥याएको वडा अध्यक्ष केशर बहादुर खड्काले बताए । एक आधारभूत विद्यालय र ६० घरपरिवार दलित बस्तीले भोग्दै आएको सास्तीलाई सानीचौर खानेपानी योजनाले अन्त्य गरेको खड्काले बताए ।
समाचार
थप सामाग्री
जनताको समस्या समाधान गर्न सरकारसँग हातेमालो गर्छु : उमेदवार ढकाल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं.–१ मा उम्मेदवार…


