मौलिक सम्पदा र संस्कृति संरक्षणमा सरोकारवालाहरुको जोड

स्याङ्जा :
मौलिक सम्पदाको संरक्षण र सम्बद्र्धनको लागि स्थानीय तहहरु लागिपरेका छन् । पुतलीबजार नगरपालिकाको आयोजनामा स्याङ्जाको लोक संस्कृति संरक्षणमा कलाकारको भुमिका विषयमा अन्तरक्रिया र प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मीले परापूर्वकालदेखि चल्दै आएको संस्कृति, रीतिरिवाज, बाजागाजा, भेषभुषालाई अन्तर्राष्ट्रियकरण गर्न सके नेपालको पर्यटनको क्षेत्रमा थप समृद्धिकरण हुने प्रतिक्रिया दिए । नयाँ पुस्तालाई पुराना कला संस्कृति थाहा नभएकाले सबैले सिकाउनुपर्ने उनले बताए ।

स्याङ्जा स्रष्टा सदनका अध्यक्ष पशुपती शर्माले यस्ता खाले कार्यक्रमबाट युवालाई स्याङ्जाको लोक संस्कृति सिकाउन पाउँदा आनन्द लागेको बताए । उनले पछिल्लो समय पुराना लोकभाका र संस्कृति लोप हुन थालेको भन्दै यसलाई विकास साझेदारका साथै स्थानीय तहले पनि संरक्षण गर्न पहल गर्नुपर्ने बताए । केही युवाले पुराना कला संस्कृति सिक्न खोजेको र केहीले नयाँ आधुनिक संस्कृति खोजेको भन्दै स्थानीय सरकारले लोप हुने अवस्थामा रहेका कला संस्कृतिलाई जोगाउन प्राथमिकता दिनुपर्ने बताए ।

आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले कला संस्कृतिको जगेर्नामा आफ्नो पालिकाले ध्यान दिएको जिकिर गरे । उनले युवापुस्तालाई कला संस्कृतिबारे जानकारी दिई संरक्षणमा टेवा दिनु उत्तम भएको बताए । उनले आगामी वर्षदेखि पालिकामा लोपोन्मुख कला संस्कृति जोगाउन बजेट छुट्याई काम गर्ने प्रतिबद्धता व्यक्त गरे । पुतलीबजार नगरपालिकाकी उपप्रमुख देवी अर्यालले युवा अवस्थाबाटै स्याङ्जा स्रष्टा सदनमार्फत संस्कृति जोगाउन लाग्नु अरुका लागि प्रेरणा भएको बताईन । उनले कुलतमा फस्न सक्ने युवालाई कला संस्कृतिमा लगाएर योग्य बनाउन खोजिएको प्रति सराहना व्यक्त गर्दै यस्ता काममा सबैले सहयोग गर्नुपर्नेमा जोड दिईन् ।

पुतलीबजार नगरपालिकाको सहयोगमा स्याङ्जा स्रष्टा सदनसँगको सहकार्यमा युवालाई लोप हुन थालेका संस्कृति संरक्षण गर्न अग्रसर गराइएको हो । स्याङ्जा स्रष्टा सदनका महासचिव घनश्याम रिजालले यस्ता खाले कार्यक्रमबाट युवालाई कला संस्कृति जोगाउन प्रेरित गरिएको बताए । हराउन र बिर्सन थालेका स्याङ्जाली लोक संस्कृतिलाई जगेर्ना गर्दै युवालाई सिकाउनु स्याङ्जा स्रष्टा सदनको उद्देश्य रहेको उनको भनाइ छ । नयाँ पुस्ताले पनि पुरानो कला संस्कृतिको संरक्षण गर्नुपर्ने भावना विकास गराउने प्रयास भइरहेको सदनका वरिष्ठ उपाध्यक्ष शिव हमाल बताउँछन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रप्रसाद अर्याल, पुतलीबजार नगरपालिका विज्ञ परिषदका संयोजक भरत लम्साल, निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम बराल, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नवराज सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा चर्चित स्याङ्जाली कलाकारहरु रतन कार्की, माया गुरुङ लगायत १ दर्जन भन्दा बढी राष्ट्रिय कलाकारहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box
TOP