सात वर्षमा पक्की पुल निर्माण

वालिङ :
स्याङ्जाको भिरकोट नगरपालिका–४, छाङछाङ्दी र वालिङ नगरपालिका–११, छत्तीवन जोड्ने आँधीखोलाको पक्की पुल सात वर्षमा निर्माण सकिएको छ । तीन वर्षमा सक्ने गरेर थालिएको पुल, सम्झौता गरेको सात वर्षमा सकिन लागेको हो । पुलको बार र छेउको बाटो गरी केही काम बाँकी रहे पनि मुख्य काम भने सबै सकिएको छ ।
रायमाझी दी क्याराभान काठमाडौँले सडक डिभिजन कार्यालय पोखरासँग २०७५ असार २६ गते सम्झौता गरेर काम अगाडि बढाएको थियो । अनुमान लागतमा ३३.२६ प्रतिशत छाडेर निर्माण कम्पनीले १४ करोड २६ लाख ३७ हजार ४२० रुपियाँमा सम्झौता गरेको थियो । यो स्याङ्जाको भिरकोटबाट पर्वतको पैयुँ, महाशिला पुग्ने छोटो र मुख्य पुल हो ।
सार्वजनिक खरिद नियमावली अनुसार चौथो पटक म्याद थप गरेर चैतसम्म म्याद रहेकोमा निर्माण कम्पनीले दुई महिना ढिला काम सकेको हो । निर्माण कम्पनीको ढिलाइ भएको बताउँदै सडक डिभिजन कार्यालय पोखराका प्रमुख नवराज बाँस्तोलाले चैतपश्चात् विभागको निर्णय अनुसार जरिवाना गर्ने÷नगर्ने भन्ने टुङ्गो लाग्ने बताउनुभयो । जरिवाना भएमा सम्झौता रकमको ०.०५ प्रतिशतका दरले दैनिक सात लाख १३ हजार १८७ रुपियाँ हर्जना निर्माण कम्पनीले तिर्नुपर्ने छ । यो पक्की पुल तीन स्पानमा १२७ मिटर लम्बाइ र ११ मिटर चौडाइको रहेको छ ।
पुल निर्माण समयमै नसकिँदा साबिकको स्वरेक र पर्वतबाट ओहोरदोहोर गर्ने नागरिकले वालिङ र बयरघारीबजारमा रहेको पुल प्रयोग गर्नु परेको थियो । पुल समयमै नबन्दा हजारौँ स्थानीय तथा विद्यार्थीले जोखिम र समय खर्चेर यात्रा गर्नु परेको थियो ।
पुल निर्माण सकिएसँगै स्थानीय, विद्यार्थीलाई ओहोरदोहोरमा सहज भएको छ भने केही दिनमा सवारी साधन चल्न थालेसँगै यात्रु र यस क्षेत्रका कृषि उत्पादन ओसारपसारमा सहज हुने छ । यो पुल सकिएसँगै सडक डिभिजन स्याङ्जाका सबै निर्माण कार्य सकिएका छन् ।
Facebook Comments Box
TOP