निमार्ण सुरु भएको १४ वर्षसम्म पनि पुरा भएन पुल

स्याङ्जा :  गण्डकी प्रदेशको स्याङ्जा जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा जिल्ला जोड्न काली गण्डकी नदीमा १४ वर्षअघि निर्माण सुरु भएको रामपुर–चापाकोट दामाचौर मोटरे बल पुल अझै पूरा भएको छैन ।

स्याङ्जाको चापाकोट दामाचौर तथा पाल्पाको रामपुर प्याक्लुक जोड्ने पक्की पुल निर्माण गर्न तीन वर्षे अवधि राखेर आर्थिक वर्ष २०६७÷६८ सालमै ठेक्का सम्झौता भएको हो ।  पुलको निमार्ण सम्पन्न २०७१ असार मसान्त सम्म सम्पन्न हुनुपर्ने थियो । तर अहिलेसम्म पूरा हुन सकेको छैन । जसले गर्दा घन्टौँ घुमेर जानुपर्ने बाध्यता रहेको चापाकोटका स्थानीय जीवन डोटेलले जानकारी दिनुभयो ।

मोटरे बल पुलको इलाइट एसबीई जेभीले १७ करोड ७१ लाख ४६ हजारमा ठेक्का लिएको हो । अहिले पुलको लागत बढेर २१ करोड ३८ लाख ५४ हजार पुगेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । ‘सुरुमै भएको डिजाइन नमिलेका कारण पुनः डिजाइन गर्नुपर्दा निमार्णमा ढिलाइ भएको सडक डिभिजन पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिनुभयो ।

पछिल्लो वर्षमा धमाधम काम भइरहेको भएता पनी गत वर्षदेखिकै बिल भुक्तानी गर्न बाँकी रहेको उहाँको भनाई छ । चालु आर्थिक वर्षमा ८० लाख मात्र बजेट रहेको सडक डिभिजनले जनाएको छ । निर्माण व्यवसायीलाई भुक्तानी दिनुपर्ने रकम २ करोड ५० लाख बढी हुन्छ । काली गण्डकी नदीमाथि निर्माणाधीन पक्की पुलको बीडीए नेपाल प्रा.ली. कन्सल्टेन्टले डिजाइन गरेको हो । सडक डिभिजन स्रोतका अनुसार बिचका दुई पिलरमा नजिकमै रक (चट्टान) भेटिएपछि काम अघि बढाउन समस्या भएको थियो । अहिलेसम्म पुलको भौतिक प्रगति ८५ प्रतिशत र वित्तीय प्रगति भने ६७ प्रतिशत रहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

Facebook Comments Box
TOP