हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग
स्याङ्जा :स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान दिएको छ । परम्परागत कृषि प्रणालीको संरक्षण र कृषकलाई आर्थिक प्रोत्साहन दिने उद्देश्यले हल गोरु पाल्ने किसानलाई अनुदान दिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो ।
पछिल्लो समय गाउँगाउँमा गोरु पाल्न छाड्ने क्रम बढ्दै गएपछि हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप प्रतिहल रु. १० हजार अनुदान दिइएको हो ।
फेदीखोला गाउँपालिकाका पाँचवटै वडाबाट हल गोरुको तथ्याङ्क सङ्कलन गरी प्रोत्साहन अनुदान प्रदान गरेको हो । हल गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत २२४ जना किसान समेटिएका छन् । कुल २९० हल गोरुका लागि रु. १४ लाख ४५ हजार अनुदान वितरण गरिएको उहाँले बताउनुभयो । यो कार्यक्रममार्फत आर्थिक, सामाजिक, पर्यावरणीय र सांस्कृतिक महत्वलाई जोगाइ राख्नका लागि टेवा पुग्ने गाउँपालिकाको अपेक्षा छ ।
“हल गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदानले विशेषगरी आर्थिक, सामाजिक, पर्यावरणीय, सांस्कृतिक रुपमा समेत प्रभाव पार्ने देखिन्छ,” उहाँले भन्नुभयो, “किसानको मनोबल बढाउँदै दिगो, आत्मनिर्भर र सांस्कृतिक रुपमा समृद्ध कृषि प्रणालीतर्फ सकारात्मक सङ्केत दिएको छ ।”
किसानको उत्पादन लागत घटेर आम्दानी बढ्ने, सामूहिक श्रम र पराम्परागत कृषि अभ्यासको पुनर्जीवनमा टेवा पुग्ने विश्वास उहाँको छ ।
यान्त्रिक प्रविधिहरुको प्रयोगबाट हुने जोताइको सट्टामा वातावरणमैत्री विधिको प्रोत्साहनमा जोड दिएको हो । “पछिल्लो समय गोरु पाल्ने चलन हराउँदै गएको छ, हाम्रो परम्परा मेटिँदै गएको छ,” उहाँले भन्नुभयो, “एकातिर हाम्रो परम्पराको संरक्षण हुने र अर्कोतर्फ जैविक मल घरमै उत्पादन गर्न सकिने भएकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदान उपलब्ध गराएका हौँ ।” यो कार्यक्रममा गाउँपालिकाको ७५ प्रतिशत अनुदान र किसानको २५ प्रतिशत लागत साझेदारी रहेको फेदीखोला गाउँपालिका पशुपक्षी विकास उपशाखाका प्रमुख भगवानदेव यादवले बताउनुभयो ।
गाउँपालिकाले हल गोरु पालेका किसानहरुलाई प्रोत्साहन अनुदान दिनेसम्बन्धी सूचना सार्वजनिक गरेपछि वडावडाबाट निवेदन सङ्कलन भएको थियो । सङ्कलन भएका निवेदनउपर जनप्रतिनिधि तथा कर्मचारीहरु घरघरमै पुगेर अनुगमनपश्चात् प्रमाणित भएपछि सम्बन्धित किसानको बैङ्क खातामा रकम जम्मा गरिदिने भएको उहाँले बताउनुभयो ।
“एउटै किसानले पालेको एक हल गोरु अथवा दुईजना किसानको मिलाएर एक हल गोरु बनाइएको रहेछ भने पनि पालिकाले प्रोत्साहनस्वरुप ७५ प्रतिशत अनुदान दिन्छ,” उहाँले भन्नुभयो, “गोरु पाल्ने किसानहरुको सबै तथ्याङ्क सङ्कलन गरी प्रक्रिया पूरा भइसकेको छ ।”
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


