शिक्षकको क्षमता अभिवृद्धि सम्बन्धि तालिम

वालिङ :

माध्यमिक तह कक्षा ८, ९ र १० मा अंग्रेजी, नेपाली र विज्ञान विषय पढाउने शिक्षकको क्षमता अभिवृद्धि सम्बन्धि तालिम वालिङमा सम्पन्न भएको छ । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) स्याङ्जाको आयोजना तथा निमा पुस्तक प्रकाशनको सहकार्यमा उक्त तालिम सम्पन्न भएको प्याब्सन स्याङ्जाले जनाएको छ । तालिमको उद्घाटन गर्दै वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी गैह्रेले शिक्षामा विषयवस्तु सुहाउदो र विद्यार्थी केन्द्रित शिक्षण विधी अपनाउन जरुरी रहेको बताईन् । उनले बिद्यार्थीहरुमा नयाँ सिकाईको आवश्यकता रहेको बताउँदै अब सीप प्रबिधिसँग जोडेर शिक्षण गर्नुपर्नेमा जोड दिईन ।

माध्यमिक तहका शिक्षकहरुको सिपलाई प्रभावकारी बनाउने तथा विषयगत सिकाइ उपलब्धि सतप्रतिशत पुर्‍याउने उदेश्यका साथ तालिम संचालन गरिएको प्याब्सन स्याङ्जाका अध्यक्ष राजेन्द्र बहादुर गोदारले बताए । प्याब्सन पूर्व केन्द्रिय सदस्य बुद्धिसागर त्रिपाठी र अमृत अर्यालले तालिममा सिकेका ज्ञान कक्षाकोठमा पनि कार्यान्वयन गर्नुपर्ने बताए । तालिमको सहजिकरण अंग्रेजी विषयको डा. हिरालाल सुवेदी, विज्ञान विषयको जयानन्द कपाडी र नेपाली विषयको प्रा. डा. लेखप्रसाद निरौलाले गरेका थिए । तालिममा प्याब्सन स्याङ्जा अन्तर्गतका बिद्यालयबाट अंग्रेजी, नेपाली र विज्ञान विषय शिक्षण गर्ने २ सय भन्दा बढी शिक्षकहरुको सहभागिता रहेको थियोे । प्याब्सन स्याङ्जाका अध्यक्ष राजेन्द्र बहादुर गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव हरीप्रसाद अर्यालले गरेका थिए भने स्वागत वरिष्ठ उपाध्यक्ष यामप्रसाद डुम्रे र धन्यवाद ज्ञापन उपाध्यक्ष तेजन रानाले गरेका थिए ।

Facebook Comments Box
TOP