वालिङ बहुमुखी क्याम्पसमा साप्ताहिक खेलकुद

वालिङ :
नेपाल विद्यार्थी संघ वालिङ बहुमुखी क्याम्पस इकाई समितिको आयोजनामा साप्ताहिक खेलकुद शुरु भएको छ । विद्यार्थीहरुको प्रतिभाको खोजी र अतिरिक्त कार्यक्रम अनुसार नेविसंघ वालिङ क्याम्पसले साप्ताहिक खेलकुद अगाडी सारेको हो । बिहिवारबाट शुरु भएको साप्ताहिक खेलकुद कार्यक्रम नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष गौरव प्रधानले उद्घाटन गरेका थिए । खेलकुदको उद्घाटन गर्दै नेविसंघ जिल्ला अध्यक्ष प्रधानले नेविसंघ पढाई सगै विद्यार्थीको अतिरिक्त क्रियाकलापलाई अगाडी बढाउने संगठन भएको बताए । विद्यार्थीको हकअधिकारको रक्षा गर्ने एकमात्रै संगठन नेविसंघ भएको धारणा व्यक्त गर्दै विद्यार्थीको क्षमता अभिबृद्धि र प्रतिभा खोजीका लागि आयोजना गरिएको साप्ताहिक खेल प्रतियोगिता महत्वपुर्ण रहेको बताए ।

शुभारम्भका दिन ३ खेलकुद प्रतियोगिता सम्पन्न भएका छन् । फागुन ८ गतेदेखी शुरु भएको खेलकुद प्रतियोगिता ११ गते सम्पन्न हुने नेविसंघ वालिङ बहुमुखी क्याम्पस इकाई सभापति निरज श्रेष्ठले जानकारी दिए । प्रत्येक दिन फरक—फरक खेलकुद प्रतियोगिताको आयोजना गरिएको उनले बताए । बिहिवार सम्पन्न भएका तीन खेलकुद प्रतियोगिता अन्तर्गत चियर घुमाई प्रतियोगितामा संयोग पंगेनी प्रथम, राधिका कुँवर दोस्रो र नम्रता पौडेल तेस्रो भएका छन् । त्यसैगरी तातो आलु खेलकुद प्रतियोगितामा प्रथम रोशनी अर्याल, क्रिस कुँवर दोस्रो भएका थिए ।

त्यसैगरी घैटो फुटाई प्रतियोगितामा १५ जना सहभागी भएका मध्ये ३ जनाले घैटो फुटाउन सफल भएका थिए । घैटो फुटाउन रोशनी अर्याल, मनिका केसी र सन्दिप पंगेनी सफल भएको नेविसंघ वालिङ इकाई सचिव बविन पाठकले जानकारी दिए । शुक्रवार कवडी खेल प्रतियोगिता, डोरी तान्ने खेल प्रतियोगिता र हाजिरी जवाफ प्रतियोगिता हुने छ । शनिवार क्याम्पसका विद्यार्थीहरु बिच मैत्रीपुर्ण भलिवल प्रतियोगिता र आईतवार भलिवल प्रतियोगिताको फाइनल खेल र समापन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सफल हुने खेलाडीहरुले मेडल र प्रमाणपत्र प्राप्त गर्ने नेविसंघ वालिङ क्याम्पस सभापति श्रेष्ठले बताए । हरेक ३÷३ महिनामा नेविसंघले विभिन्न विद्याका साप्ताहिक खेलकुद प्रतियोगिता आयोजना गरिरहने श्रेष्ठले बताए । नेविसंघले आयोजना गरेको खेलकुद प्रतियोगितामा विद्यार्थीहरुको उत्साहाजनक सहभागिता भएको आयोजकले जनाएको छ ।

Facebook Comments Box
TOP