धार्मिक पर्यटनको हब बन्दै स्याङ्जाकाे अर्जुनचाैपारी, बनाइयो नवग्रह मन्दिर

स्याङ्जा :
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-१ मा नवग्रह मन्दिरको निर्माण भएको छ । नवग्रह मन्दिर निर्माण गरेसँगै अर्जुनचौपारी गाउँपालिका धार्मिक पर्यटनको हब बनेको हो । प्रायः जसो घरमा नवग्रह पूजा हुने गर्दछ । तर, नवग्रहको विधिवत पूजा हुने शक्तिपीठ नेपालमा अहिलेसम्म नभएको र अर्जुनचौपारीमा उक्त मन्दिर निर्माण अन्तिम चरणमा पुगेको पालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए ।
विभिन्न शक्तिपीठमा एक छेउमा नवग्रहको प्रतिमा राखेर पूजा गर्ने गरिएता पनि देश विदेशमा सिद्घीप्राप्त योगीहरूले यो ठाउँमा नवग्रह मन्दिर निर्माण गर्नु अत्यन्तै उपयुक्त हुने सल्लाह बमोजिम उनीहरूकै सुझाव अनुसार यस क्षेत्रमा नवग्रहको मन्दिर निर्माण गरिएको उनले बताए । छिमेकी राष्ट्र भारतमा छुट्टै नवग्रह मन्दिर भएता पनि नेपालमा ग्रहकै मात्र पूजा हुने मन्दिर छैनन् । नवग्रह (नौ आकाशीय पिण्ड) को मन्दिर भारतको असमको चित्रसालको पहाडमा मात्र छ । मन्दिर भारतको आसामको भन्दा फरक रहेको र यहाँ बन्ने नवग्रह मन्दिर विश्वकै पहिलो भएको पालिका अध्यक्ष तिवारीको दाबी छ । यसरी बन्न लागेको नवग्रह मन्दिरको छेउछाउमा पिपल रोपिएको छ ।
नवग्रह मन्दिरको मुख्य स्तभ नवभुज आकारको हुनेछ । २७ फिट माथितिर फर्केको अग्लो ब्रह्माणीय मूर्तिको अवलोकन प्रत्येक वर्षको गणेश चतुदर्शीमा मात्र दर्शन गर्न पाइनेछ । नवग्रह मन्दिरसँगै बनाइएको षट्कोणको बीचमा पशुपतिनाथको जस्तै पञ्चमुखी शिवलिङ्ग राखिने र अन्य कोणमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरब, हनुमान र दुर्गा भवानीको मूर्ति राखिएको छ । मन्दिरको एक ठाउँबाट छिरेपछि ९ चक्रमा रहेका नवग्रह मन्दिरलाई ९ परिक्रमासहितको पूजा गरेपछि मात्र बाहिर निस्कन मिल्ने गरी निर्माण गरिएको छ ।
नौवटा भुजा रहने पिल्लरमा १३ फिटमा नौवटा ग्रहका प्रतिक रहेका छन् भने त्यसमाथि नवभुज आकारको १४ फुटका पिल्लर छन् । नवग्रह मन्दिर शनिबार मात्र खुल्नेछ र ९ चक्रमध्ये एक चक्र भने भक्तजनलाई मध्यनजर गरेर अन्य दिनमा पनि पूजाआजा गर्न पाइनेछ । मूल नवग्रह मन्दिर पालिकामा रहेता पनि यसका ९ निशान प्रतिमाहरू पालिकाअन्तर्गतका ५ वटा वडामा र यसबाहेक अर्जुनचौपारी गाउँपालिकालगायत अन्य पालिकाका ४ वडा मिलेर भौगोलिक स्वरुप ब्रम्हाणीय स्वरुपमा घुमेर रहेकाले पालिकाले छोएका भिरकोट वडा नम्बर ७, पुतलीबजार नगरपालिका-१३ र १४ तथा आधिखोला गाउँपालिका-१ मा निशान प्रतिमालाई आलोपालो पूजा गर्ने प्रबन्ध मिलाइने नवग्रह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरत पोखरेलले बताए ।
नवग्रह मन्दिरको प्राण प्रतिष्ठा तथा अनुष्ठान महाशिवरात्रिको अवसरमा ६ देखि १४ फागुनसम्म १ करोड २५ लाख दियो प्रज्वलन गरी भव्य रूपमा गर्ने गाउँपालिकाको तयारी गरेको पालिकाले जनाएको छ ।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…