स्याङ्जामा ९९ प्रतिशत रोपाइँ सकियो ।

वालिङ :
स्याङ्जामा यो वर्षको धान रोपाइँ सकिएको छ । पर्याप्त वर्षाका कारण यो वर्ष जिल्लामा ९९ प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख बिनोद हमालले जानकारी दिनुभयो । समयमै वर्षा शुरु भएको र पर्याप्त वर्षा भएका कारण यो वर्ष ९९ प्रतिशत धान रोपाइँ भएको प्रमुख हमालको भनाई छ । विगतका वर्ष भन्दा यो वर्ष धेरै प्रतिशत रोपाइँ भएको हो ।
गल्याङ र चापाकोटमा सिँचाई गर्ने नहरमा पहिरोले क्षती पुर्याउँदा रोपाई केही ढिलो भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, “चापाकोट र गल्याङको सिचाइँमा पहिरोका कारण रोपाइँ केहि समय रोकिएर सुचारु भएको थियो तर जिल्लामा राम्रो रोपाइँ भएको छ ।” गल्याङमा २० हेक्टर र चापाकोटमा ३० हेक्टर जतीमा रोपाइँ हुन नसकेको प्रमुख हमालले बताउनु भयो ।
स्याङ्जामा १० प्रतिशतमा हाईब्रिड धानका जात लगाएपनि अधिकांश उन्नत जातका धान नै किसानहरुले लगाउने गरेका छन् । उन्नत जातका धानको चामल मिठो हुनु, रोग किराले छिटो आक्रमण नगर्ने, अर्को पटक बिउ राख्न सकिने भएपछि कृषकहरुको आर्कषण उन्नत धानमा बढ्दो छ । जिल्लामा १२ प्रतिशत क्षेत्रमा हल गोरुको प्रयोग गरिएपनि धेरै स्थानहरुमा हाते ट्याक्टर तथा ठुलो ट्याक्टरको प्रयोग हुने गरेको छ । यहाँका कृषकहरुले सुनौलो सुगन्ध, रामधाम, सावित्रिलगायतका उन्नत धान लगाउने गरेका छन् ।
जिल्लामा १४ हजार हेक्टरमा वर्षे र २ हजार हेक्टर क्षेत्रफलमा हिउँदे गरी १६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको छ ।
file-pic

Facebook Comments Box
TOP