वालिङको आदर्श माविले पायो गण्डकी प्रदेशको उत्कृष्ट शैक्षिक संस्था सम्मान ।

स्याङ्जा :
स्याङ्जाको वालिङमा नीजि क्षेत्रबाट संचालित नेपाल आदर्श माध्यमिक विद्यालय सम्मानित भएको छ । विद्यालय ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१’ बाट सम्मानित भएको हो । एसईई नतिजामा उत्कृष्ट नतिजा दिन सफल भएको विद्यालयलाई राष्ट्रिय परीक्षा बोर्डको सिफारिसका आधारमा सम्मानित गरिएको हो ।
चन्द्रलोक प्रतिष्ठानले गण्डकी प्रदेशबाट उत्कृष्ट विद्यालयको रुपमा नेपाल आदर्श माविलाई सम्मानित गरेको हो ।
विद्यालयका प्रिन्सिपल होमकान्त गौतमलाई पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य अर्जुन नरसिंह केसीले संयुक्त रुपमा सम्मान गर्नु भएको हो ।
२०५४ सालमा स्थापना भएको विद्यालय गण्डकी प्रदेशमै उत्कृष्ट बन्न सफल भएको छ । प्रविधिमैत्री, प्रतिस्पर्धी र क्षमतावान शैक्षिक जनशक्ति उत्पादन गर्दै आएको आदर्श माविले २०८० मा दिइएको एसईई परीक्षामा जिल्लामा मात्रै नभएर गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल भएको चन्द्रलोक प्रतिष्ठानको भनाई छ ।

एसईई परीक्षामा उत्कृष्ट नतिजा दिन सफल भएको भन्दै चन्द्रलोक प्रतिष्ठान काठमाण्डौले मंगलबार एक कार्यक्रममा विद्यालय र प्रिन्सिपललाई सम्मान गरेको थियो । भौतिक पूर्वाधार, प्रविधि व्यवस्थापन र गुणात्मक शिक्षाको संयोजनमा गण्डकी प्रदेशमै स्थापित बनेको आदर्श मावि जिल्लामै धेरै विद्यार्थी अध्यापन गर्ने र गराउने मध्येमा पर्दछ ।
प्रतिष्ठनले देशभक्त, अदर्शवान र नैतिकवान शैक्षिक जनशक्ति उत्पादनमा निरन्तर अग्रणी भूमिका खेल्न सफलता मिलोस भन्दै ‘उत्कृष्ट शैक्षिक संस्था २०८१’ बाट सम्मान गरेको प्रतिष्ठानका अध्यक्ष सीताराम कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार सातै प्रदेशका १९ विद्यालय उत्कृष्ट शैक्षिक संस्थाको छनोटमा परेका थिए । सबै विद्यालय र प्रिन्सिपलहरुलाई सम्मान गरिएको कार्कीले बताउनु भयो । सामाजिक उत्तरदायीत्वमा काम गर्दै आएको प्रतिष्ठनले शैक्षिक उन्नयनमा योगदान दिन सफल भएका विद्यालयहरुलाई मापदण्डका आधारमा सम्मान गर्दा थप हौसला प्रदान हुने विश्वास व्यक्त गर्नुभयो ।
सम्मानले विद्यालयलाई अझै थप जिम्मेवारी र गुणस्तरीय शिक्षाको बोझ थपिएको विद्यालयका प्रिन्सिपल होमकान्त गौतमले बताउनु भयो । शिक्षामा देखिएको चुनौतीलाई सामाना गर्दै गुणस्तरमा अझै निखार ल्याउने प्रतिवद्धता प्रिन्सिपल गौतमको थियो । झण्डै २१ सय विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा झण्डै १ सय ५० जनाले रोजगारी समेत पाएका छन् । विद्यालयले आगामी दिन प्राविधिक उत्पादन हुने शिक्षा लागु गर्नेगरी अगाडि बढेको जनाएको छ ।

Facebook Comments Box
TOP