स्याङ्जा जिल्ला पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

भवानी अधिकारी/स्याङ्जा :

स्याङ्जालाई पूर्णखोप सुनिश्चितताको घोषणासंगै दिगोपनाको प्रतिवद्धता गरिएको छ । बालबालिकालाई १३ वटा रोग बिरुद्धका ७ वटा खोपका मात्रा पूरा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चिता घोषणा गरिएको हो ।
गण्डकी प्रदेश सामाजिक तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. बिनोद बिन्दु शर्माले स्याङ्जाका १४ हजार ८८ बालबालिकाले पूर्णखोप पाएसंगै जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन् ।
साथै, आउँदा बर्षका बालबालिकालाई पनि यसरी नै आवश्यक सबै खोप लगाउने कार्यलाई निरन्तरता दिईने भन्दै स्याङ्जा स्थित ११ वटै पालिका प्रमुख तथा अध्यक्ष लगायत सरोकारवालाले प्रतिवद्धता जनाएका छन ्।
घोषणासंगै म्याग्दी पछि प्रदेशकै दोस्रो स्याङ्जा पूर्णखोप सुनिश्चितता भएको बताए। विगतका तुलनामा स्वास्थ्यका क्षेत्रमा धेरै सुधार भएको जनाउदै आउँदा दिनहरुमा पनि थप सेवा सुबिधा क्रमशः बढाईदै लगिने बताए ।
जन्मेदेखि १५ महिनाका ३ हजार ४५७ जना र १६ देखि ५९ महिनाका १० हजार ६३१ जना बालबालिकाले पूर्ण खोप लगाईएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिए। उनका अनुसार जन्मे—१५ महिनाका ५ जना र १६ देखि ५९ महिनाका १६ जनाको खोप छुटेको छ । ‘छुटेका बालबालिकालाई पनि खोप दिईने छ ।’ उनले भने ।
दिगो विकास लक्ष्य अनुरुप सन २०३० सम्ममा ५ बर्ष मुनिको मृत्युदर सुन्यमा झार्ने लक्ष्य बमोजिम जन्मेदेखि १५ महिनाभित्रका बालबालिकाले १३ प्रकारका खोप लगाउने गरिएको हो ।
शिशु जन्मनबित्तिकै बीसीजी र त्यसपछि क्षयरोग, भ्यागुतेरोग, लहरेखोकी, धनुष्टंकार, हेपटाइटिस बी, हेमोफिलस इन्फ्लुएन्जा बी, पोलियो, दादुरा, रुबेला, न्युमोकोकस र जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाइन्छ। निश्चित उमेरमा खोप लगाएमा संभावित रोगको जोखिमबाट बचाउन सकिन्छ ।
जिल्लाका एघार पालिका मध्ये सोही कार्यक्रममा उत्कृष्ट पालिका, उत्कृष्ट कर्मचारी, उत्कृष्ट स्वास्थ्य संस्थागरी झण्डै ३ दर्जनलाई सम्मान गरिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख एवं पूर्ण खोप समन्वय समितिका अध्यक्ष श्रीप्रसाद घर्ति, उपप्रमुख खडगराज सुवेदी, गल्याङ् नगरप्रमुख गुरुप्रसाद भट्टराई, कालीगण्डकी अध्यक्ष खिम थापा, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, स्वास्थ्यकर्मी डिल्लीराम अधिकारी, स्वास्थ्य कार्यकर्ता बबिता गौतम, जनस्वास्थ्य अधिकृत मित्रप्रसाद अर्याल लगायतले खोप पाउनु नैसर्गिक अधिकार भएको जनाउदै स्वास्थ्यका क्षेत्रमा राज्य उदार बन्नुपर्नेमा जोड दिए । स्वास्थ्य निशुल्क हुनुपर्नेमा उनीहरुको भनाई छ ।

 

 

 

 

Facebook Comments Box
TOP