पश्चिमी वायुले छेकिदिँदा मनसुनी प्रणाली नेपालको पूर्वी भेगमै खुम्चियो ।

rainfall

 

काठमाण्डौ:

पश्चिमबाट बहने हावाले छेकिदिँदा मनसुनी प्रणाली कोशी प्रदेशको पूर्वी भेगमै खुम्चिएको छ । जसकारण स्थानीय मौसमी गतिविधिका कारण वर्षा भएबाहेक क्षेत्रमा चर्को गर्मी छ ।

हिन्द महासागरमा विकास भई बंगालको खाडी हुँदै दक्षिण–पूर्वबाट बहने मनसुनी वायु तीन दिनअघि २८ जेठमा कोशी प्रदेशको पूर्वी भेगमा पुगेको थियो । तर, तीन दिनसम्म पनि झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ र संखुवासभामा मात्र केन्द्रित छ ।

यसमा पनि त्यहाँका पहाडी क्षेत्रमा सक्रिय भएर मनसुनी वर्षा सुरु भएको छ । ‘मनसुनको हावा दक्षिण–पूर्वबाट पश्चिम बहन्छ, तर अगाडि सर्न बाटो खुलेको छैन, पश्चिमी वायु (पश्चिमबाट बहिरहेको हावा) ले अवरोध गरिरहेको छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले भने, ‘त्यही भएर मनसुन देशभर फैलिन नसकेको हो ।’

मौसम पूर्वानुमान महाशाखाले मनसुन कहिलेसम्म देशभर फैलिसक्छ भनी जानकारी दिएको छैन । मनसुनी वायु काठमाडौं क्षेत्रमै पुग्न यो साताभर कुर्नुपर्ने पनि हुन सक्ने देखिएको छ । आइतबारसम्म मनसुन काठमाडौंलगायत क्षेत्रसम्म फैलिन सक्छ । पश्चिमी वायु निष्क्रिय नभई मनसुन अगाडि बढ्न सक्दैन, पश्चिम नेपालसम्म पुग्न अर्को साता लाग्न सक्छ ।

गत वर्ष भारतको सिक्किम क्षेत्रमा पुगेको तीन दिनमै मनसुन गण्डकी प्रदेशसम्म पुगेको थियो । त्यतिखेर नियमित प्रक्रियाभन्दा पनि साइक्रोन नामक आँधीले धकेलेर पुर्‍याएको थियो, त्यसैको असरस्वरूप पश्चिम नेपालसम्म फैलिन २२ दिन लागेको थियो । ‘यसपटक मनसुन सिक्किम पुगेको ११ दिनसम्म पनि बागमती, गण्डकी पुग्न सकेको छैन, तीन दिनदेखि कोशीको पूर्वी भेगमा मात्र सीमित छ,’ जलवायुविज्ञ धर्मराज उप्रेती भन्छन्, ‘तत्काल देशभर फैलिन सक्ने स्थिति पनि छैन ।’ भारतको जल तथा मौसम विज्ञान विभागले पनि दिल्ली क्षेत्रमा जुन २९ सम्म मनसुन पुग्ने आकलन गरेको छ ।

तराईको गर्मी यो साताभर लम्बिने:
तराई र उपत्यका क्षेत्रको गर्मी भने यो साताभर लम्बिने देखिएको छ । तराईमा मनसुनको असर तत्काल नपर्ने र अन्य मौसमी गतिविधि पनि त्यस क्षेत्रमा सक्रिय नभएकाले चर्को घाम लाग्दा गर्मीले जनजीवन प्रभावित भएको छ । आगामी चार–पाँच दिन सुदूरपश्चिम र लुम्बिनीका तराई तथा उपत्यका क्षेत्र, बागमतीको चितवनसहित पश्चिमी क्षेत्र र मधेशको धेरैजसो भागमा तापक्रम उच्च हुन सक्ने देखिएको छ ।

Facebook Comments Box
TOP