१५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएकाे सीएनएनकाे दाबी ।
काठमाण्डाै:
अमेरिकी सञ्चारमाध्यम (सीएनएन) ले नेपालबाट १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएको दाबी गरेको छ । यो सङ्ख्या सरकारले अनुमान गरेभन्दा ७५ गुणा बढी हो ।
रुसी सरकारले गएको वर्ष विदेशी लडाकुलाई देशको सेनामा भर्ना हुनका लागि आकर्षक प्याकेज घोषणा गरेपछि १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएका विभिन्न स्रोतले बताएका सीएनएनले जनाएको छ । यो प्याकेजमा मासिक कम्तीमा दुई हजार अमेरिकी डलर तलब र चाँडोभन्दा चाँडो रुसी राहदानी (पासपोर्ट) प्राप्त गर्ने प्रक्रिया पनि समावेश भएको खबरमा उल्लेख छ ।
सूचकाङ्कअनुसार नेपाली राहदानी विश्वव्यापी गतिशीलताका लागि संसारमा सबैभन्दा खराबमध्ये एक उत्तर कोरियाको भन्दा तल १०३ औँ स्थानमा छ । नेपाल सरकारले भने झन्डै दुई सय नागरिक रुसी सेनामा भर्ना भएको र युद्ध क्षेत्रमा कम्तीमा १३ जनाको ज्यान गएको बताएको छ । सांसद र अधिकारकर्मीहरूलेसरकारले भनेको सङ्ख्या निकै कम भएको हुन सक्ने बताउँदै आएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार युक्रेनले अहिले चार जना नेपालीलाई युद्धबन्दी बनाएको छ । रुसी सेनामा कति नेपाली भर्ना भएका छन् र अहिलेसम्म कति जनाको ज्यान गएको भन्ने प्रश्नमा रुसी विदेश मन्त्रालयले कुनै जवाफ नदिएको सीएनएनले जनाएको छ ।
रुसी सेनामा भर्ना हुन चाहने नेपाली पहिले पर्यटक भिसामा रुस जाने गरेका खबरमा उल्लेख छ । धेरैजसो व्यक्तिहरूले आफूहरू यूएई वा भारत हुँदै गएको बताएका छन् । मस्को पुगेपछि एक वर्षको सम्झौतामा हस्ताक्षर हुने र भर्ना हुनेहरूको रुसी बैंक खातामा कम्तीमा दुई हजार डलर जम्मा गरिने र कतिपयले त महिनामा चार हजार डलरसम्म कमाएको बताउँछन् ।
रुसी सेनामा भर्ना भएका कतिपय नेपालीले लडाइँमा पठाइनुअघि सामान्य तालिम मात्र लिएको बताएका छन् । नेपालीलाई लड्न पठाउनुअघि यस्तो छोटो प्रशिक्षण अवधिले रुसी सरकारको उदासीनता र अग्रपङ्क्तिमा मानव संशाधनको आवश्यकता देखिने नेपाली सेनाका अवकाशप्राप्त उपरथी एवम् रणनीतिक विश्लेषकको रूपमा कार्यरत बिनोज बस्न्यात बताउनुहुन्छ ।
नेपाल प्रहरीले नेपालीलाई रुसी सेनामा भर्ना गराउन पठाएको आरोपमा गएको महिना १८ जनालाई पक्राउ गरेको थियो । सरकारले अहिले नागरिकलाई कामका लागि रुस जान प्रतिबन्ध लगाएको छ भने पर्यटक भिसामा यूएई जस्ता देशमा जानेहरूलाई नियममा कडाइ गरेको छ । परराष्ट्र मन्त्रालयले गएको डिसेम्बरमा नेपाली नागरिक भर्ना नगर्न र युद्धमा ज्यान गुमाएकाहरूको शव स्वदेश पठाउन रुसलाई आग्रह गरेको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


