उत्पादनमा आधारित नगद अनुदानले बढ्यो कृषिजन्य उत्पादन ।

Phedikhola Syangja aandhikholakhabar

स्याङ्जा :
कृषिजन्य उत्पादन गरि बेच्ने किसानलाइ गाउँपालिकाले उत्पादनमा आधारित नगद अनुदान दिन थाले पछि स्थानीय उत्पादन बढ्न थालेको छ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले कृषकहरुलाई उत्पादन गरी बिक्रि गरेको आधारमा नगद अनुदान दिदै आएको हो । पालिकाले विक्रिका आधारमा १५ प्रतिशत नगद अनुदान दिदै आएको पालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो ।
उत्पादनसँगै बजारीकरणको काममा सहजीकरण गर्दै आएको पालिकाले साप्ताहिक योजना बनाएर कृषि एम्वुलेन्स गाउँगाउँमा उत्पादन लिन पठाउने गरेको छ ।
कृषिमा आकर्षण बढाउन न्युनतम समर्थन मूल्य २६ वटा कृषिजन्य बालिमा ब्यवस्थागरेको अध्यक्ष सुवेदीले बताउनु भयो । उहाँले भन्नुभयो,“अनुदानको कारणले नै पालिकाका नागरिकहरु यस तर्फ आकर्षित भईरहेकाछन् ।” नगद अनुदानका कारण कृषक उत्साहित छन् हामी यसलाई नियमित गराउन दीर्घकालीन योजना बनाएर काम गरिरहेकाछौं अध्यक्ष सुवेदीले बताउनु भयो ।
बार्षिक रुपमा ३० करोडको कृषि जन्य उत्पादन बिक्रिवितरण हुने गरेको उहाँले बताउनु भयो । पालिकाका एक हजार सात सय रोपनी भन्दा धेरै क्षेत्रफलमा कृषि खेती भईरहेको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
कृषि पेशालाई पालिकाले सहयोग गरेकै कारण आफूहरु व्यवसायिक बन्दै गएको कृषक सावित्रा विकले बताउनु भयो । उहाँ भन्नुहुन्छ, “पालिकाले हामीलाई अनुदान दिन्छ राम्रो गरे थप पुरस्कार पनि दिन्छ,बालीमा क्षती पुगे क्षतीपूर्ती पनि दिन्छ, बिक्रि नभए बजारीकरण गरिदिन्छ, हामीले राम्रो उत्पादन गरे मात्रै पुग्दछ ।”
पलिकाले कृषि क्षेत्रको आकर्षण बढाएसँगै एक हजार दुई सय कृषक र एक सय ४४ कृषि फार्म सूचिकृत भएका पालिकाले जनाएको छ ।
कृषि क्षेत्रको विकास गर्न आकर्षण गर्न बार्षिक रुपमा कृषि मेला गरेर उनीहरुलाई पुरस्कृत गर्ने व्यवस्था समेत मिलाएको छ । भर्खरै पालिकाले गरेको मेलामा ३४३ जना प्रतिस्पर्धा भएको ८० जना उत्कृष्ट कृषकले पुरस्कार समेत पाएकाछन् ।
विदेशबाट फर्किएर स्वदेशमा नै उद्यमी बन्न चाहनेलाई पालिकाले बिना धितो ५ लाख सम्म ऋणका लागि सहजीकरण गर्दै आएको अध्यक्ष सुवेदीले बताउनु भयो ।
कृषि उत्पादनको सहज बजारीकरणका लागि फेदीखोलामा साप्ताहिक कृषि हाटबजार सञ्चालन गर्दै आएको छ । आँधीखोला गाउँपालिकाको सर्केटारीमा हुने हाटबजारमा स्थानीय उत्पादनकोे विक्रिवितरण हुँदै आएको छ । यसलाई दिगो बनाउन फेदीखोला साना किसान कृषि सहकारी संस्थालाई पालिकाले सहयोग गर्दै आईरहेको छ ।
तस्बिर ः १.आफूहरुले उत्पादन गरेको कृषि उपज देखाउदै कृषकहरु ।
२. फेदीखोला गाउँपालिकाका कृषकहरुले उत्पादन गरेका सामाग्रीहरु ।

Facebook Comments Box
TOP