ज्ञानेन्द्र शाहको भैरहवामा सम्बोधन : मलाई आऊ देश बचाऊ भनेको सुन्छु, म नेपालभित्रै छु
रुपन्देही :
तत्कालिन राजा ज्ञानेन्द्र शाहले आफू मुलुकभित्रै रहेर देशको अवस्था नियालिरहेको बताएका छन्।
भैरहवामा बिहीबार नागरिक अभिनन्दन ग्रहण गर्दै शाहले नागरिकले आऊ, देश बचाऊ भन्ने आवाज सुन्न थालेको पनि बताए। ‘म जता जाऊँ, जता पुगूँ, जनआवाज उठेको सुन्छु– मलाई आऊ, हाम्रो देश बनाऊ र देश बचाऊ। देशको सभ्यता र समृद्धि बढाऊँ। यहाँ उभिएर म भन्दछु– म बोलिरहेछु, देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना, इच्छा, आकांक्षा पोखिरहेछु। म अन्त गएको छैन, सदासदा नेपालीका साथमा छु, नेपालभित्रै छु। नेपालीहरूको सुख–दुःख, सुविधा, असुविधा, बाधा, पीडा तथा हिजो आजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु,’ पूर्वराजा शाहले बताएका छन् ।
‘हाम्रो विचारमा यसप्रकार हामी खिइँदै जानु किमार्थ पनि राम्रो होइन । सदाचारी राजनीतिको युग बितिसकेको छ । हामी चिसो बहानामा बाँचिरहेका छौं’, शाहले आफ्नो सम्बोधनमा भनेका छन् । साथै उनले अनेक श्रोत साधन सम्पदाले भरिपूर्ण भएको समृद्धशाली देश सुन्दर र मनोरम भए पनि यतिका सम्पदा, मूल्य मान्यता तथा सभ्यता भएर पनि आज कता कता आफैँ हराइरहेको बताएका छन् ।
यस्तो छ तत्कालिन राजा ज्ञानेन्द्र शाहको सम्बोधनको पूर्णपाठः
श्री ५ महाराजाधिराज ज्ञानेन्द्रवीर विक्रम शाहदेवबाट
भैरहवामा बक्सेको सम्बोधन
उपस्थित महिला तथा सज्जनवृन्द,
पवित्र लुम्बिनी क्षेत्रको यो समथर सुन्दर नगरीमा आएर, केही शब्द बोल्ने मौका मिलेकोमा खुशी लागेको छ। आयोजक–प्रबन्धकर्ता सबैमा धन्यवाद।
नेपाल, बुद्ध जन्मेको देश, सगरमाथाको देश – सनातनी वैदिक संस्कृति विविध धर्म र सभ्यताको देश। अनि अनेक श्रोत साधन सम्पदाले भरिपूर्ण भएको समृद्धशाली देश। यस्तो सुन्दर, यति मनोरम यतिका सम्पदा र कतिकति – मूल्यमान्यता तथा सभ्यता भएर पनि आज
हामी कताकता हराइरहेका छौँ – कताकता आफै हारिरहेकाछौँ।
म जता जाउँ जहाँ पुगौं – जनआवाज उठेको सुन्छु – मलाई आउ हाम्रो देश बनाउ र देश बचाउ – देशको सभ्यता र समृद्धि बढाउ। यहाँ खडा भएर म भन्दछु – म बोलिरहेछु, देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना इच्छा आकांक्षा पोखिरहेछु। म कतै अन्त गएको छैन – सदा सदा नेपालीका साथमा छु – नेपालभित्रै छु – नेपालीहरुको सुख दुःख, सुविधा असुविधा, बाधा पीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु।
समाज, कानून र व्यवस्था विना अस्तित्वमा रहनु हुँदैन। देश सुहाउँदो र बलियो आविष्कारहरुमार्फत अगाडि बढ्नुपर्छ। तर, आज देश जर्जर भएको छ। बेराजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौं युवाजनशक्ति विदेशिएको छ। देशको माया नभएर
होइन, अवस्था बिग्रिएर असन्तोष, आक्रोश तथा विवश भएर हाम्रो युवा जमात बाहिरिएको हो। यस्तो अवस्थाको अन्त हुनु पर्दछ। देशमै उत्पादन, उद्यम, इलम, सीप , शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्नुपरेको छ। देशलाई खोक्रो पार्ने गरि चलिरहेको आजको चलन चल्तीमा
व्यापक हेरफेर र सुधार गर्नै पर्दछ।
राष्टिय उत्साह प्रतिभाको महान निवास हो। वीरता, पराक्रम, पुरुषार्थ र उच्च मूल्य मान्यतामा रहेको हाम्रो गौरवशाली देश अहिले सबैले हेप्ने, सबैले छड्के आँखाले हेर्ने – अपमानितजस्तो बन्दै गएको स्वाभिमानी जनताको अनुभूति छ। हाम्रा बुढापाका,
अनुभवीहरुको विचार भन्नु पर्दा हाम्रो राष्ट्रकोअस्तित्वमाथि आज खिया लाग्दै गइरहेको छ – हामी झन् परावलम्बी, परनिर्भर बन्दै आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिदै गइरहेका छौँ। हाम्रो विचारमा यसप्रकार हामी खिइँदै जानु किमार्थ पनि राम्रो होइन।
सदाचारी राजनीतिको युग बितिसकेको छ। हामी चिसो बहानामा बाँचिरहेका छौँ। नेपालभित्र हुने र गरिने राजनीतिक तथा शासकीय परिवर्तनमा कुनै न कुनै प्रकारले दायाँ बायाँ, भित्र तथा बाह्य शक्तिको टेको चाहिन्छ, भन्ने एउटा भाष्य पनि हामी कहाँ छ तर हामीलाई लाग्दछ – नेपाल राष्ट्रको एकीकरणदेखि आधुनिकीकरणसम्मका यावत प्रकृयामा हामी नेपालीहरुकै बलबुता र आफ्नै राष्ट्रिय भावधाराबाटै सम्पादन भई आएका हुन्। त्यसैले के गर्दा र के कस्तो विधि व्यवस्था बदल्दा हाम्रो राष्ट्रिय मान्यता बन्छ, अनि कसप्रकार अघि बढ्दा नेपाल र
नेपालीको सर्वोत्तम हित हुन्छ – त्यो हामी आफैले तय गर्ने विषय हो। हामी सबैकोदृढ प्रयत्न यसै अनुरुप हुनु पर्दछ भन्ने हामीलाई लाग्दछ।
त्यसैले म भन्दछु, आउँ अब हामी सबै एकै ठाउँमा उभियौँ अनि सोचौं र सबै कुराको समीक्षा गरेर एउटा राम्रो मार्गचित्र तयार गरौँ। देश हामीले नै बनाउने हो – हाम्रै श्रोतसाधनको परिचालन गरेर देशको समृद्धि हामीले नै अघि बढाउने हो।
हामी मात्र ठीक अरु बेठीक हाम्रो बाटो मात्रै सुबाटो अरुको कुबाटो भन्ने द्वन्द्व, विग्रह, विवादबाट उठेर हामी नेपालको माटो र नेपाली बाटो समातेर हिडौँ। हामी सबैको भविष्य, सुख शान्ति यसैमा छ।
विगतको सबै दुःख बिर्सिदेउँ,
मायाले मायालाई भरिदेउँ,
घृणाको आगोलाई कर्त जलाइ देउँ,
पहिले यो आगोलाई मिलेर निभाइ देउँ,
भाग्यको सिमा हँदैन, हुनु पनि हुँदैन,
अब भाचिएको टुक्राहरु जोडी देउँ,
उत्पीडनको गुनासो कहिलेसम्म सुन्ने,
पहिले अन्याय अत्याचार मुक्त गरिदेउँ,
अनुहार फेरि फेरि षडयन्त्र नगर,
त्यस्ताको चालबाट आफूलाई बचाइदेऊँ
सबैमा फेरि एकपटक हाम्रो धन्यवाद,
जय नेपाल
भैरहवा
२०८० पुष १९ गते
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


