कमल पंगेनी स्मृति प्रतिष्ठान गठन

स्याङ्जा :

संविधानसभा सदस्य एवम् नेपाली कांग्रेस स्याङ्जाका तत्कालीन नेता कमलप्रसाद पंगेनीको स्मृतिमा ‘कमल पंगेनी स्मृति प्रतिष्ठान’ गठन गरिएको छ ।

२०७५ साउन २० गते स्वर्गारोहण हुनुभएका नेपाली कांग्रेस स्याङ्जाका तत्कालीन जिल्ला सभापति पंगेनीको निधनको पाँच वर्षपछि प्रतिष्ठान गठन गरिएको हो ।

पंगेनीको प्रथम स्मृति दिवस २०७६ साउन २० गते नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले नै ‘कमल पंगेनी स्मृति प्रतिष्ठान’ गठन गर्न निर्देशन दिए अनुसार प्रतिष्ठान गठन गरिएको जानकारी कांग्रेस नेता रबिन केसीले बताउनुभयो ।

लीला पंगेनीको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गर्दै प्रतिष्ठानलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जामा विधिवत् रूपमा आइतबार संस्था दर्ता गरिएको छ । अध्यक्ष स्वर्गीय पंगेनीका दाजु हुनुहुन्छ ।

संस्थामार्फत उहाँको सालिक स्थापना गर्नेलगायतका अपूरा सपना सामाजिक गतिविधिको माध्यमबाट पूरा गर्ने केसीले बताउनुभयो ।

स्वर्गारोहण भएको छोटो समयमै प्रतिष्ठान बनाउने तयारी गरे पनि विधान बनाउनेलगायतका काम गर्न ढिलाइ हुँदा संस्था गठनमा पनि ढिलाइ भएको हो ।

संस्था ऐन गठन २०३४ को दफा ४ बमोजिम गठन भएको प्रतिष्ठानको दर्ता नम्बर २७३५  छ भने यसको कार्यालय भिरकोट नगरपालिका ६ मा रहनेछ ।

Facebook Comments Box
TOP