आर्मीबाट सेवा निवृत्त स्याङ्जाका कार्की रुसमा अस्ताए ।

राधाकृष्ण डुम्रे,
स्याङ्जा,१४ मंसिर ।
नेपाल आर्मीमा १७ बर्ष सेवा गरेका स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं.५ ठूलोस्वाँराका पितम कार्की रोजगारीका लागि अफगानिस्तान पुग्नु भयो । एक बर्ष अफगानिस्तान बसे पछि उहाँ गएको साउनमा नेपाल फर्कनु भयो । नेपाल आए लगत्तै पासपोर्ट नविकरण गर्नु भएका कार्की रुस तर्फ लाग्नु भयो । रुसमा जाने तयारी गरेर नै नेपाल फर्केको हुन् सक्ने पुतलीबजार नगरपालिका वडा नं.५ का कार्यबाहक वडाअध्यक्ष सन्तोस रेग्मीले बताउनु भयो । अफगानिस्तानबाट फर्किए पछि २० दिन जति घरमा बस्नु भएको पितमका अंकलका छोरा राजेश कार्कीले बताउनु भयो । उहाँ भन्नुहुन्छ,“खै रुस जाने गरी आउनु भएको रहेछ यहाँ त्यस्तो धेरै केही भन्नुभएन, एकैपटक गए पछि चर्चा भयो ।”
पितमका अन्तिममा अनुहार समेत हेर्न नपाएकोमा परिवार निक्कै पिडामा रहेको छ । श्रीमती अर्धचेत अवस्थामा हुनुहुन्छ भने बुढा बुवा आमा समेत मुर्छामा हुनुहुन्छ, राजेशले भन्नुभयो ।
परराष्ट्र मन्त्रालयको काउन्सिलर विभागबाट वडा कार्यालयलाई खवर गरेपछि वडा कार्यालयले परिवारलाई पितमको मृत्यु भएको सूचना दिएको कार्यबाहक वडा अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।
घटना भएको दिन नोभेम्वर १५ को राती सम्म नै परिवारसँग सम्पर्कमा रहनु भएका कार्की तालिम केन्द्रमा नै रहेको र अवस्था सामान्य रहेको बताउदै आउनु भएको थियो । बाहिर भने जस्तो डराउनु पर्ने अवस्था छैन भनेको केही समयमा नै घटना हुन पुगेछ छिमेकी भाई राजेशले थप्नुभयो ।
नेपाल आर्मीबाट अवकास लिए पछि स्वदेशमा नै केही गर्नु पर्छ भन्ने पितमका वुवा हरि बहादुरको जोड थियो तर आफू जसै रोजगारीका लागि जाने बताए पछि परिवारको केही चलेन ।
मङ्सिर १० अर्थात नोभेम्वर २४ मा मात्रै यस्तो घटना भएको जानकारी पाएको परिवारले जनाएको छ ।
घरमा बुवा आमा तथा श्रीमती दुई छोरालाई छोडेर रसिया तर्फ लाग्नु भएका कार्की अव नर्फकर्ने गरी अस्ताउनु भएको हो । पितम परिवारको एक्लो छोरा हो ।
पितमको ठूलो छोरा रोशनी माविमा कक्षा ५ मा र सानो छोरा नर्सरीमा अध्ययनरत रहेकाछन् । बुवा हरि बहादुर कार्की पनि नेपाल प्रहरीबाट अवकास लिनु भएको हो ।
स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिकाबाट ७ किलोमिटरको दुरीमा कार्कीको घर छ ।
तस्बिर : पितम कार्कीको पुतलीबजार ५ ठूलास्वारामा रहेको घर

Facebook Comments Box
TOP