स्याङ्जा : बटुवा डराउने टुनिबोटमा अस्पताल
स्याङ्जा :
कुनै समय स्याङ्जाको मालुङ्गा टुनिबोटलाई कुष्ठरोगी बस्ने ठाउँ भनेर चिनिन्थ्यो । गल्याङ नगरपालिका–१ मा पर्ने मालुङ्गा गए कुष्ठरोग सर्छ भनेर बाटो हिँड्नसमेत बटुवा डराउँथे ।
टुनिबोट बाइसे चौबिसे राज्यका बेलामा नुवाकोटका राजाले पाल्पा आक्रमणका लागि १९५२ बाट हातहतियार राख्न प्रयोग गरिएको ठाउँसमेत हो ।
हातहतियार राख्न प्रयोग गरेको १२० मिटर लामो इँटा र माटोले बनाएको दरबारलाई श्री ३ महाराज खड्गशमशेरले १९९७ सालमा नेपालभरका ४२२ कुष्ठरोगीलाई उपचार गर्न यही ठाउँको प्रयोग गर्नुभएको थियो । लामो समय कुष्ठरोगी बस्ने स्थान मालुङ्गा टुनिबोट अहिले अस्पतालमा रूपान्तरण भएको छ । यहाँ बिरामीले प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा पाउने गर्छन् । अहिले सरकारले सर्वसाधारणका लागि सुविधा सम्पन्न १५ बेडको स्वास्थ्य केन्द्र (अस्पताल) तीव्र रूपमा निर्माण गरिरहेको पनि छ । कुष्ठरोगी पोखरा पुनस्र्थापना भएसँगै कुष्ठरोग निवारण सङ्घसँग १९ रोपनी नौ आना जग्गा भाडामा लिएर प्राथमिक स्वास्थ्य केन्द्र बनाएको र अहिले उक्त जग्गा अस्पतालको नाममा समेत आइसकेको छ ।
टुनिबोटमा बिरामीको सङ्ख्या घट्दै गएपछि बाँकी रहेका ८२ रोगीलाई कुष्ठरोग निवारण सङ्घले २०४६ सालमा पोखरा सारेको थियो । वडाध्यक्ष मणिप्रसाद बस्यालले कुष्ठरोगीलाई पोखरा सारेको चार वर्षमा पुरानो भवन फालेर प्राथमिक स्वास्थ्य केन्द्र बनाएर डाक्टरसहितको सेवा दिन थालिएको बताउनुभयो ।
२०४८ सालको निर्वाचनमा चुनाव प्रचारका क्रममा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासँग स्थानीयले स्वास्थ्य केन्द्र माग गरेसँगै २०५० सालमा सरकारले देशभर २० प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्दा यहाँ पनि बनेको हो । लामो समय कुष्ठरोगी बसेका कारण त्रासमा रहने टुनिबोटमा अस्पताल निर्माणसँगै अहिले स्थानीयसमेत हर्षित भएको बस्यालले बताउनुभयो ।
नयाँ अस्पताल भवन १० करोड २० लाख ५७ हजार १८ रुपियाँ १७ पैसामा निर्माण कम्पनी सिनर्जी शङ्खदेवी काठमाडौँले दुई वर्षमा सक्ने गरी २०७८ जेठ ३० गते सम्झौता गरेको थियो । म्याद सकिए पनि अस्पताल निर्माण भने ४० प्रतिशत मात्र भएको छ । स्वास्थ्य केन्द्रले मात्र स्थानीयलाई उपचार पर्याप्त नभएपछि यहाँ सरकारले अस्पताल निर्माण अगाडि बढाएको बस्यालले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्रबाट पाउने सेवाबाहेक अन्य उपचारमा पोखरा र पाल्पा जाने स्थानीय सर्वसाधारणले अस्पताल निर्माणसँगै गाउँमै एक एमडी, तीन एमडी (विशेषज्ञ) सहितको सबै सेवा पाउने छन् । स्थानीय तुलसी भण्डारीले कुष्ठरोगीसँगै आफूले चार वर्ष कुष्ठरोगीको उपचारमा काम गरेको बताउँदै यहाँ ल्याएका कुष्ठरोगीहरू उमेरका कारण धेरै मरेको र केही मात्र उपचारमा निको भएको बताउनुभयो ।
उपचारमा निको भएका घर नफर्केको बताउँदै भण्डारीले कुष्ठरोगीबाट स्थानीयमा त्रास रहे पनि काम गर्न सक्नेले गोरेटो बाटो बनाउने जस्ता सामाजिक क्षेत्रका काम गरेको बताउनुभयो । यो समाचार अर्जुन काफ्लेले गोरखापत्र दैनिकमा लेख्नु भएको हो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


