कोभिड–१९ ले शिक्षामा पारेको असरको न्यूनिकरण गर्दै वालिङ नगरपालिका ।

राधाकृष्ण डुम्रे/वालिङ :

कोभिड–१९ ले शिक्षामा पारेको असरको न्यूनिकरण गर्न वालिङ नगरपालिकाले विभिन्न काम शुरु गरेको छ । कोभिड–१९ को प्रतिकुल परिस्थितिमा बिद्यार्थीको शिक्षण सिकाई प्रक्रियामा नराम्रो असर पुगेको कार्यक्रममा सहभागी बिद्यालयका प्रधानाध्यापकहरुको भनाई छ । उनीहरु भन्छन्, “बिद्यार्थीहरुमा पढने बानीमा कमी आएको छ, उनीहरुलाई नियमित पढाईमा केन्द्रित गर्ने उपाय खोज्न जरुरी छ ।”
काठमाडौं महानगरका निबर्तमान शिक्षा सल्लाहकार तथा शिक्षा बिज्ञ रेशु अर्याल ढुंगानाले शैक्षिक अवस्था सुधारका लागि सवैले ध्यान दिनु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,“शैक्षिक क्षेत्रमा कोभिडले नराम्रो असर पुर्याएको छ बेलैमा सचेत बन्न जरुरी छ ।” बिद्यार्थीको पठन संस्कृतिको पुनरावलोकनका लागि शिक्षक तथा अभिभावकहरुको महत्वपूर्ण भूमिका रहने अर्यालको भनाई छ ।
टिचिङ अस्पताल काठमाण्डौंका मनोबिद डाक्टर सगुनबल्लभ पन्तले बालबालिकाहरुलाई तनाव रहित वातावरणमा पढाउनु पर्ने बताउनु भयो । कोभिडको कारण बिद्यार्थीको पढाई स्तर खस्केको छ उनीहरुलाई पूर्ववत् अवस्थामा ल्याउनका लागि बेलैमा ध्यान दिनुपर्दछ । बिधार्थीहरुमा हुने मनोसामजिक समस्याको बेलैमा समाधान गर्नु पर्नेमा उहाँको जोड छ ।
प्रविधिको प्रयोगले बालकालिकाहरुमा पढाईमा ध्यान जाने गर्दछ त्यसैले प्रविधिमैत्री पठनपाठनलाई बिद्यालयले ध्यान दिनु पर्नेमा डाक्टर पन्तको जोड छ ।


कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले आगामी ४ वर्षमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा नतिजा देखिनेगरी काम गर्ने बताउनुभयो ।
“शिक्षा र स्वास्थ्य विकासका मेरुदण्ड हुन् । यी दुई क्षेत्रमा वालिङका नागरिकले अनुभूत गर्नेगरी हामी काम गर्दैछौँ नगरप्रमुख खाँणले भन्नुभयो,“विद्यमान शैक्षिक गुणस्तरको अवस्था सुधारोन्मुख छ,यसमा अझ व्यापक परिवर्तन र परिमार्जनको आवश्यकता छ । शैक्षिक गुणस्तर वृद्धिको लागि नगरपालिकाले काम गरिरहेको छ ” प्रमुख खाँणले थप्नु भयो ।
वालिङको शैक्षिक अवस्था सन्तोषजनक भएपनि विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिको लागि पालिकाले योजनाबद्ध काम गरिरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले बताउनु भयो ।
शिक्षण सिकाईमा प्रभावकारीता वृद्धिको लागि बिद्यालयका प्रधानाध्यापक, सञ्चालक समिति तथा अभिभावकहरुलाई मोबाइल एप सम्बन्धि अभिमुखीकरण तालिम समेत प्रदान गरिएको छ । शिक्षणा सिकाई प्रक्रियालाई प्रविधिमैत्री र सहज बनाउन मोबाइल एप सार्थक बन्ने ‘द एसिया फाउण्डेशन’का गण्डकी प्रदेश संयोजक पूर्ण परियार बताउनुभयो ।
१० हजार भन्दा धेरै पाठ्वस्तु समावेश गरी तयार पारिएको ‘लेट्स रिड’ मोबाइल एपले बिद्यार्थीलाई प्रभावकारी शिक्षण गर्न सहयोग पुग्ने परियारको दावी छ ।
‘द एसिया फाउण्डेशन’को सहकार्यमा वालिङ नगरपालिकाले आयोजना गरेको ‘कोभिड–१९ले शिक्षामा पारेको प्रतिकुल प्रभाव र त्यसको न्यूनिकरण’ सम्बन्धि अन्तक्र्रिया कार्यक्रममा वालिङका ८ वटा विद्यालयका प्रधानाध्यापक,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ,शिक्षक अभिभावक संघका अध्यक्ष जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुलाई मनोसामाजिक परामर्श,वस्तुगत ज्ञान तथा प्रविधिको प्रयोग सम्बन्धमा अभिमुखीकरण तालिम प्रदान गरिएको हो ।
यस अघि वालिङ नगरपालिकाका २४ वटा विद्यालयहरुमा अध्यापनरत कम्प्युटर विषय शिक्षकहरुको लागि ‘लेट्स रिड’नामक मोबाइल एपको बारेमा अभिमुखिकरण तालिम दिइएको द एशिया फाउन्डेसन समिरा श्रेष्ठले जानकारी दिनुभयो ।
तस्बिर ः वालिङमा आयोजना गरिएको ‘कोभिड–१९ले शिक्षामा पारेको प्रतिकुल प्रभाव र त्यसको न्यूनिकरण’ कार्यक्रमका सहभागिहरु । राधाकृष्ण डुम्रे

 

 

Facebook Comments Box
TOP