वालिङमा स्थानीय उत्पादनको प्रर्दशनी,अर्गानिक शहरको रुपमा विकास गछौँ : उपप्रमुख गैह्रे

kabita Tiwari Gaihre Deputy Mayor Waling

मणी प्रसाद अर्याल/वालिङ :
वालिङमा स्थानीय उत्पादनहरुको प्रर्दशनी गरिएको छ । वालिङ नगरपालिकाको आयोजना र आँधीखोला टेक्निकल एण्ड एजुकेशन कलेज वालिङको समन्वयमा इबिक परियोजना अन्र्तगत वस्तु तथा सेवाको प्रर्दशनी एवं प्रतिस्पर्धात्मक कार्यक्रम शुरु गरिएको हो । इबिक परियोजना लागू भएका पालिकाहरु मध्ये वालिङ नगरपालिका उत्कृष्ठ भएकाले यहाँ प्रर्दशनी तथा उद्यमीहरुको प्रोत्साहनको लागी प्रतिस्पर्धात्मक कार्यक्रम राखिएको हो ।
दुईदिन सम्म चल्ने प्रर्दशनीको उद्दघाटन गर्दै नगरउपप्रमुख कविता तिवारी गैह्रेले वालिङलाई दुध, तरकारी र मासुमा आत्मनिर्भर बनाउन नगरपालिकाले आगामी आर्थिक वर्षको लागी ८ करोड बजेट छुट्याएको बताउनुभयो । उद्यमीहरुलाई आर्थिक सहायता गर्न, आवश्यक तालिमहरु प्रदान गर्न, उत्पादित वस्तुको बजारीकरणको जिम्मा सबै नगरपालिकाले गर्ने उपप्रमुख तिवारी गैह्रेको भनाई छ । उहाँले भन्नुभयो,“नगरपालिकाभित्र १ हजार २२ जना सुचिकृत उद्यमीहरु हुुनुहुन्छ । उहाँहरुको उत्पादन सबैको विषयमा हामीले डिटेल्स राखेका छौँ । उद्यमीलाई आर्थिक समस्या पर्दा निश्चित मापदण्ड बनाई आर्थिक सहयोग गर्नेदेखि सबै काम नगरपालिकाले गर्नेछ ।”

वालिङमा स्थानीय उत्पादनको प्रर्दशनी
वालिङमा स्थानीय उत्पादनको प्रर्दशनी

माटो सुहाउँदो खेति गर्नका लागी गाउँगाउँमा प्राविधिकहरु खटाउने, माटो सुहाउँदो खेति गर्न कृषकहरुलाई प्रोत्साहन गर्ने,उत्पादनहरु विक्रिका लागी भैरहवा तथा कालीमाटीसंग समेत समन्वय गर्ने र बिक्रि हुन नसकेका वस्तुहरुलाई दाना बनाउने, मल बनाउने गरी वालिङलाई अर्गानिक शहरको रुपमा विकास गरिने उपप्रमुख गैह्रेको भनाई छ । यहाँबाट हुने बसाईसराईलाई रोक्न तथा बैदेशिक रोजगारीको न्युनिकरण गर्न एक टोल एक उत्पादनको कार्यक्रम लागू गर्ने उहाँको भनाई छ । वालिङको मौलिकतालाई प्रर्वद्धन गरी सिद्धार्थ राजमार्ग हुँदै जाने पर्यटकहरुलाई वालिङमा बस्ने वातावरण मिलाउनका लागी पर्यटक डेक्सको स्थापना गरिने उपप्रमुख तिवारी गैह्रेले बताउनुभयो ।
कार्यक्रममा वडा नं.२ का वडा अध्यक्ष पोतप्रसाद लम्साल, सामाजिक विकास समिति संयोजक युगमाया पंगेनी, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ, नेपाल मौरीपालक किसान महासंघका अध्यक्ष श्यामप्रसाद अर्याल, अगुवा कृषक राजेन्द्र गैह्रेलगायतले बोल्नुभएको थियो । कार्यक्रममा वालिङका उद्यमीहरुले उत्पादन गरेका झोला, चुरापोते, यहीँ उत्पादन भएका चामल, नर्सरी, फलफुल, मोडा, यहँी उत्पादित गडेयौले मल, यहीँ बनाईएका पोसाकहरुको प्रर्दशनीलगायतको प्रर्दशनी गरिएको छ । कार्यक्रम नगरपालिका प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत आँधीखोला टेक्निकल एण्ड एजुकेशन कलेजका अध्यक्ष गुमानसिंह रानाले गर्नुभएको थियो भने धन्यवाद वडा नं. १३ का अध्यक्ष नमलाल डुम्रे र सञ्चालन दिपक लम्सालले गर्नुभएको थियो ।

वालिङमा स्थानीय उत्पादनको प्रर्दशनी -1
वालिङमा स्थानीय उत्पादनको प्रर्दशनी -1

 

Facebook Comments Box
TOP