प्लास्टिक प्रदुषण नियन्त्रण गर्न पालिकाले ल्यायो ‘विद्यार्थी पुरस्कार योजना’

phedikhola Gaupalika

वालिङ :
स्याङ्जाको फेदीखोला गाउँपालिकाले प्लास्टिक प्रदुषण नियन्त्रण गर्न विद्यार्थी पुरस्कार योजना ल्याएको छ । प्लास्टिकजन्य फोहरले वातावरण नराम्रोसँग प्रदुषण गरेको निस्कर्ष निकाल्दै पालिकाले यस्तो योजना ल्याएको जनाएको छ । विद्यार्थीहरूलाई आफ्नो घर र घर वरपरको प्लास्टिकजन्य फोहर संकलन गरेर विद्यालयमा बुझाउन भनिएको पालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो ।
वर्षभरी संकलित फोहरको तौलको आधारमा प्रत्येक वर्ष जुन ५ अर्थात विश्व वातावरण दिवसको अवसर पारेर पुरस्कृत गरिने अध्यक्ष सुवेदीले बताउनु भयो ।
विद्यार्थी मार्फत गाउँघर सफा राख्न र अभिभावकमा पनि सचेतना जगाउने उद्देश्यले विद्यार्थी पुरस्कार योजना लागू गरिएको उहाँको भनाई छ । पालिकाको वडा नं ५ मा विगतमा यस्तै प्रकृतिको अभियान संचालन गर्दा सफलता मिलेकाले पालिकाभरी प्लास्टिकजन्य फोहर संकलन र व्यवस्थापन गर्न लागिएको पालिकाले जनाएको छ ।
विद्यार्थीले यो अभियानमा सहभागी हुन सबैखाले प्लास्टिकजन्य फोहर संकलन गर्न सक्ने पालिकाले जनाएको छ । संकलित फोहरलाई तौल गरि सहभागी सबैले प्रती के.जी. निश्चित मूल्य पाउने छ्न् । फोहर संकलन कार्यको सहजीकरण विद्यालयले गरेपनि फोहर व्यवस्थापन कार्य भने पालिकाले नै गर्ने र यसका लागि ल्यान्डफिल साइटको तयारी समेत भैरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । क्रमश पालिकालाई प्लास्टिकजन्य फोहरमुक्त बनाउने लक्ष्यका साथ यस्तो योजना ल्याइएको उहाँको भनाई छ ।
प्लाष्टिकजन्य प्रदुषणले सवै क्षेत्रमा समस्या ल्याइरहेको भन्दै पालिकाले विश्व वातावरण दिवस २०२३ को अवसर पारेर विद्यार्थी पुरस्कार योजना ल्याएको हो ।
यो बर्षको विश्व वातावरण दिवसको यो वर्षको नारा “प्लास्टिक प्रदुषण विरूद्ध लडौं” भन्ने रहेको छ । यही नारालाई व्यवहारिक कार्यान्वयन गर्न पालिकाले योजना ल्याएको अध्यक्ष सुवेदीले बताउनु भयो ।
तस्बिर ः फेदीखोला गाउँपालिकाको कार्यालय । राधाकृष्ण डुम्रे

Facebook Comments Box
TOP