फेदीखोलामा असिनाले कृषिबाली नष्ट

स्याङ्जा :
स्याङ्जाको फेदीखोलामा असिनाले क्षति गरेको छ । शुक्रबार दिउँसो परेको असिनाका कारण फेँदिखोला गाउँपालिकाका केहि वडाहरुमा अन्नबाली, तरकारी बाली र फलफुलमा क्षति पुगेको हो । असिना तथा हावाहुरीका कारण बतिला लागिरहेका सुन्तला खेति, कागती खेतिमा क्षति पुगेको छ भने फलिरहेका बेमौसमी तरकारी र लहरेबालीमा क्षति भएको त्यहाँका कृषकहरुले बताएका छन् । त्यस्तै कफिखेति, मकैखेतिमा समेत क्षति पुगेको छ । फाल्गुनको अन्तिममा छरेको मकैले मुखैमा धानचमर लिएका बेला असिनाले चुटेपछि मकै उत्पादनमा क्षति पुगेको भन्दै कृषक चिन्तित बनेका छन् ।
फेदीखोला गाउँपालिका  वडा नं. ४ अधिकांस भाग, १ का केहि भाग र २ मा असिनाले क्षति गरेको हो । वडा नं. ४ का कृषक शिवप्रसाद सुवेदीले सुन्तला, कागती खेति, नर्सरी र मकैबालीमा क्षति पुगेको बताउनुभयो । वडामा प्रतिव्यक्ति न्युनतम १ लाख देखि ४ लाख सम्मको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गाउँपालिकाका कृषि प्राविधिक समेत रहनुभएका सुवेदीका अनुसार धानचमर निकालेका मकैले उत्पादन दिन नसक्ने हुँदा कृषक मर्कामा परेका छन् । साना मकै फेरि आउन सक्ने भएपनि धानचमर निकालेका मकैमा असिनाले चुट्दा उत्पादन लिन सक्ने संभावना न्युन रहेको प्राविधिक सु्वेदीको भनाई छ ।
वडा नं. ४ का वडा अध्यक्ष ख्यामनारायण पौडेलका अनुसार वडामा ३ देखि ५ करोडसम्मको क्षति भएको छ । असिनापानीसंगै हावाहुरीका कारण, अन्नबाली, नगदेबाली, फलफुल, तरकारीमा क्षति पुगेको वडा अध्यक्ष पौडेलले बताउनुभयो । वडामा करिव ५ सय घरधुरीको कृषिबालीमा असिनाका कारण क्षति हुँदा उक्त क्षति भएको हो । वडामा ७० प्रतिशत कृषिबाली असिनाले नष्ट गरेको छ ।
त्यस्तै हावाहुरीका कारण, घरगोठका छानाहरुलाई समेत क्षति गरेको छ । वडामा कृषिबालीमा भएको क्षतिबारेमा स्थगगत अनुगमन भईरहेको भन्दै वडाको तथ्यांक संकलन गरी पालिका, कृषि ज्ञान केन्द्र तथा सम्बन्धीत संस्थाहरुमा कृषकको राहतका लागी रिर्पोट गरीने उहाँले बताउनुभयो । आर्थिक वर्षको अन्तिम समयमा यस्तो विपत्ति परेका कारण वडामा धेरै संख्यालाई दिन सक्ने राहत नभएको भन्दै पालिका तथा अन्य सम्बन्धीत कार्यालयहरुबाट कृषकलाई राहत जुटाउने वडा अध्यक्ष पौडेलको भनाई छ ।
शुक्रबार स्याङ्जाका कोहि भागमा पानी परेपनि पश्चिम क्षेत्रमा भने पानी नपर्दा कृषकहरु मर्कामा परेका छन् । पानी नपर्दा तापक्रम समेत बढेको र तरकारी तथा मकैबाली सुक्न थालेका छन् भने गर्मीले जनजिवन प्रभावित बनेको छ ।  File-Pic
Facebook Comments Box
TOP