शिक्षा दैनिक जीवनसंग जोडिनुपर्छ : पुर्व मन्त्री श्रेष्ठ

स्याङ्जा :
स्याङ्जाको काजिमान हरिटीका माध्यभिक विद्यालयमा विभिन्न अक्षय कोष स्थापनाको अवसरमा छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा स्थापित कीर्तिनन्द, लिला, चन्द्र, मान, सिद्वि लक्ष्मण अक्षयकोष स्थापना दिवसका अवसरमा गत वर्षको पुरस्कार वितरण र छात्रवृत्ति  वितरण गरिएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मन्त्री मेखलाल श्रेष्ठले शिक्षा हाम्रो दैनिक जिवनसंग जोडिनुपर्ने भन्दै शिक्षा कामसंग नजोडिए बेरोजगारीको अन्त्य गर्न नसकिने बताउनुभयो । उहाँले शिक्षालाई व्यावहारिक, सिपमूलक र प्रविधिमैत्री बनाउन आफूले पढ्दै कमाउँदै जस्ता कार्यक्रमहरू ल्याएको बताउनुभयो । उहाँले काजिमान हरिटीकामा ई.अनुप श्रेष्ठको नेतृत्वले छोटो समयमा उल्लेख्य काम गरेकोमा व्यवस्थान समिति र शिक्षकहरूलाई धन्यवाद व्यक्त गर्दै प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रममा नगर शिक्षा प्रमुख बाबुराम बरालले पुतलीबजारले शिक्षक र विद्यालयको उचित व्यवस्थापन गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रयत्न गरिरहेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ई.अनुप श्रेष्ठ श्रेष्ठले अनेक चुनौतीका बाबजुत पनि विद्यालयमा यो वर्ष १२० भन्दा बढी विद्यार्थी सङ्ख्या थप्न सफल भएकोमा सहयोग गर्नेहरू सबैप्रति कृतज्ञ रहेको बताउनुभएको थियो ।
कार्यक्रममा व्यवस्थापन समितिका पूर्व अध्यक्ष अमृत श्रेष्ठ, शिक्षक अभिभावक सङ्घका अध्यक्ष रामचन्द्र गिरी, अक्षयकोष संरक्षक शुसीलकुमार श्रेष्ठ, मीना श्रेष्ठ, अभिभावक विष्णु ढकाल, समाजसेवी सीता गोदार लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ठ  भएका विद्यार्थीहरूलाई छात्रवृत्ति तथा पुरस्कार वितरण गरिएको थियो । महिनाको उत्कृष्ट शिक्षकका रूपमा वैशाख महिनाको (बेस्ट टिचर अफ द मन्थ) होमनाथ ढुङ्गानालाई र उत्कृष्ट विद्यार्थीका रूपमा कक्षा ८ कि छात्रा खुशी पौडेललाई सम्मान गरिएको थियो । विद्यालयले प्रत्येक महिना शिक्षण र शैक्षिक क्रियाकलापमा उत्कृष्ट काम गर्ने शिक्षक र पढाइमा राम्रो गर्ने विद्यार्थीलाई उत्कृष्ट महिना पुरस्कारका रूपमा  सम्मान गर्दै आएको छ ।
कार्यक्रममा ’कीर्तिनन्द लिला चन्द्र मानसिद्वि लक्ष्मण अक्षयकोषद्वारा नयाँ विद्यालय व्यवस्थापन समिति र शिक्षक कर्मचारीलाई सम्मान गरिएको थियो । यो अक्षयकोषले विद्यालयमा विद्यार्थीहरूका लागि निशुल्क ट्रयाक, पोसाक तथा अन्य सहयोग गर्दै आएको छ ।
त्यस्तै कार्यक्रममा विद्यालयका २०६४ सालमा प्रवेशिका परीक्षा दिएका भू पू विद्यार्थीहरुद्वारा विद्यालयको बस खरिदका लागि सङ्कलन गरिएको ७३ हजार ६ सय ५० रुपैँया सहयोग रकम ई. सागर श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनुप श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो ।
कक्षा ९ का अबिनाश ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन कक्षा १० का मनिस कुमालले गर्नुभएको थियो भने स्वागत कक्षा ९ का प्रोमिस ढकाल, कक्षा ८ कि छात्रा जयन्ती भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले आ–आफ्ना प्रतिभाहरु समेत प्रस्तुत गरेका थिए ।
Facebook Comments Box
TOP